त्रिपालमुनि सुत्केरीको बिजोक

811 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ  – धादिङको महादेवस्थान गाविसको लाइपुर गाउँको पुच्छारको बारीको पाटो । एउटा त्रिपाल टाँगिएको छ । त्रिपालमुनी थोत्रिएको गुन्द्री बिच्छ्याइएको छ । त्यही गुन्द्रीमा बसेर सुस्ताइरहेकी छिन् २० दिनकी सुत्केरी पविता तामाङ ।

???????????????????????????????

थोत्रो स्वेटरमा २० दिनको छोरा च्यापेकी छिन् । घरी घरी दुध चुसाउन खोज्छिन् । दुध चुस्नुको सट्टा शिशु रोइरहन्छ । ‘दुध आए पो चुस्छ,’ दिग्दार भावमा पविताले भनिन्, ‘घरमा खानेकुरा छैन, खोले खाएर बाँच्नुपरेको छ ।’

बैशाख १२ गते आएको भूकम्पले माथिल्लो पाटोमा रहेको घरको छानो आँगनमा छापिएझैं छ । दुईतले माटोको घर खण्डहर भएको छ । भूकम्पको एकै धक्काले घर गल्र्याम गुर्लुम्म ढल्यो । धन्न ! आँगनको घाममा सुताएको छोरा च्यापेर बारीको पाटामा भाग्न भ्याइन् । ज्यान त बँच्यो । भन्छिन्, ‘तर बाँचेर झन् बेहाल भयो ।’

घरमा खानेकुरा छैन । अन्नपात पनि सबै माटोमा मिल्यो । पविताले भनिन्, ‘अबचाँही आफू बाँच्ने कि छोरा बचाउने हुन थालेको छ ।’ खुला आकाशमुनी ५ रात बिताएपछि महादेवस्थान गाविसबाट एक थान त्रिपाल पाएकी थिइन् । त्रिपालले बारीकै पाटोमा भएपनि ओत त दिएको छ । तर, खानेकुरा केही छैन ।

बारीको पाटामा लगातार नौ दिन बिताउँदा पविताको शरिर सुन्निएका छन् । मुख भुक्क फुलेको छ, आँखावरिपरिको भाग पनि भुक्क सुन्निएका छन् । खानेकुरा केही छैन । भनिन्, ‘सरकारले त हामीलाई क्यै दिँदैन । एउटा त्रिपालमा रात कटाएर कसरी बाँच्नु ।’

धादिङको महादेवस्थान गाउँ विकास समिति वडा नम्वर ३ मा पर्ने लाइपुर गाउँमा पविताको मात्रै घर भत्किएको होइन । उनको घरभन्दा माथिको हर्कबहादुर स्याङ्तानको घर ढलेको छ । गाइबाख्रा खोरैमा मरेका छन् । पल्लो तिरको कल्पना तामाङ लगायत गाउँको सबै घर भत्किएका छन् । गाउँका १६ वटा घर सबै जगसँग मिलेका छन् । घर नढलेकाको पनि चर्किएर भित्र पस्न सक्ने स्थिती छैन ।

घरमात्रै के ! गाउँलाई दुई चिरा बनाएर टुप्पोदेखि पुच्छारसम्म नै जमिन चिरिएको छ । एक झर ठूलो पानी परे गाउँ नै पहिरोले लैजाउला भन्ने त्रासमा छन्  उनीहरु ।

गाउँ नै सखाप भएपछि भूकम्पमा बाँचेका अधिकांश गाउँ छाडेर तलतिर झरेका छन् । तर, पविता सक्दिनन् । दश हप्तादेखि राम्रोसँग खानेकुरा पनि खान पाएकी छैनन् । ‘राम्रोसँग हिँड्न पनि सकेको छैन, घर छोडेर कहाँ जानु ।’ त्रिपाल टाँगेर बनाइएको अस्थायी टहरा माथि खण्डहर बनेको घरतिर निरश दृष्टि फ्याँकिन् पुनः २० दिनको शिशुलाई दुध चुसाउन थालिन् ।

-चक्रपथ डट कमवाट