धादिङको ज्यामरुङमा सुत्केरीको गोठमा बास

706 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1431626650_news picधादिङ । धादिङ जिल्लाको ज्यामरूङ गाविस–७ नयाँ गाउँकी मीना बाडाले वैशाख ११ गते छोरी जन्माइन् । सुत्केरी भएको भोलिपल्टै विनाशकारी महाभूकम्प आयो । भूकम्पले उनको घर भत्काइदियो । उनीसँगै उनका परिवारले भागेर ज्यान जोगाए । भूकम्पले घर भत्किएपछि सुत्केरी मीनाको बास अहिले गोठमा भएको छ ।  परिवारका अन्य सदस्यहरु खेतमा त्रिपालमुनि दिनरात बिताउन बाध्य छन् । ‘भूकम्पबाट आलो सुत्केरी र नवजात शिशुलाई बल्लबल्ल बचाइयो’ मीनाका ससुरा टंकमान बाडाले भने, ‘अहिले स्याहारसुसारमा समस्या छ । सुत्केरी बुहारीलाई गोठमा राख्नुपर्ने अवस्था आयो ।’ सुत्केरी र भर्खरै जन्मिएको बच्चालाई सुरक्षित ठाउँमा राख्ने र पोसिलो आहार खुवाउनुपर्ने हुन्छ । तर, भूकम्पले घर भत्काएपछि मीनालाई गोठमा राखिएको छ हिमालय खबर डटकमले समाचार लेखेको छ ।

‘कहिलेकाहीँ गाईले खुट्टाले हान्ला जस्तो गर्छ’ सुत्केरी मीनाले भनिन् ‘नानी र आफ्नो ज्यान जोगाउनै मुस्किल भएको छ ।’ गाईको गोबरले सुत्केरी र बच्चालाई संक्रमण हुने सम्भावना बढी हुन्छ । तर, मीना त्यसको ख्यालै नगरी गोठमा बस्न बाध्य छिन् ।

धादिङवेसीबाट २२ किलोमिटर पश्चिम उत्तरमा पर्ने सो क्षेत्रमा अहिलेसम्म स्वास्थ्यकर्मीहरु पुग्न सकेका छैनन् । ‘स्वास्थ्यकर्मी नआएर सुत्केरी र बच्चाका स्वास्थ्य जाँच गराउनसमेत पाएको छैन’ मीनाका ससुरा टंकमान बाडाले बताए ।

भूकम्पले नयाँ गाउँका पुरै बस्ती भत्काएको छ । २५ घरधुरी रहेको सो बस्तीको कुनै पनि घर छैन । बस्तीका सबै घरपरिवार त्रिपाल टाँगेर बारीको पाटामा बसेका छन् । सोही गाउँकी अर्की सुत्केरी महिलाको पनि अवस्था मीनाको जस्तै रहेको छ ।

बस्तीका सुत्केरी महिला, बालबालिका, वृद्ध सबै त्रिपालमूनि बस्दै आएको स्थानीय गणेशकुमारी बाडाले बताइन् । ‘गाउँका सबैको विचल्ली भएको छ’ उनले भनिन् ‘पटक पटक आउने भूकम्पले सबैलाई सताएको छ । त्यतिमात्र होइन नयाँ गाउँका १० जनाको परिवारसमेत एउटै त्रिपालमुनि बस्दै आएका छन् । बुवा, आमा, छोरा बुहारी, नातिनातिना सबै एउटै त्रिपालमुनि सुत्नुपर्ने बाध्यकारी अवस्था गाउँका अधिकांशले भोग्दै आएका छन् ।

1431626284_sutkeriएउटा त्रिपालभन्दा छैन स्थानीय मिनमान बाडाले भने, ‘लाज पचाएर सुत्नु परेको छ ।’ स्थानीय ज्ञानु बाडाले नौजनाको परिवार एउटै त्रिपालमुनि सुत्दै आएको बताइन् । ‘एउटा त्रिपालभन्दा छैन’ उनले भनिन्, ‘घर भूकम्पले लग्यो त्रिपालमा नसुते के मा सुत्ने ? सबै घर भत्केको ज्याम्रूङको नयाँ गाउँमा गाविसले प्रत्येक घरधुरीलाई सात हजारका दरले राहत रकम वितरण गरेको थियो । त्यसपछि अतिप्रभावित सो क्षेत्रमा राज्यले अन्य सहयोग नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । भूकम्पले देशभरमा ५० हजार बढी सुत्केरी र गर्भवती महिला प्रभावित भएको आंकलन गरिएको छ ।