टिएम फाउण्डेशन राहत सागम्री लिएर धादिङको पिपल छापमा

528 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, – डा. टुवराज/मुँगादेवी बास्तोला प्रतिष्ठान (टिएम फाउण्डेशन) नेपालको टोली भूकम्प पीडितको लागि राहत सामग्री लिएर शनिबार धादिङको पिपलछाप पुग्यो।

प्रतिष्ठानद्वारा साविकको सुनौला बजार गाविस-८ हाल निलकण्ठ नगरपालिका-७, पिपलछाप डाँडागाउँका ४९ घर परिवारलाई राहत वितरण गरिएको थियो।

राहत सामग्रीमा त्रिपाल, खाद्यवस्तु, साबुन मञ्जनलगायत दैनिक उपभोगका सामग्री र औषधि रहेका थिए।प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोला, सचिव जनकल्याण पराजुली, कोषाध्यक्ष मोहनशरण पौडेल, सहसचिव कमला पराजुली, अजय कोइरालाले राहत वितरण गरेका थिए।

यसैगरी उक्त राहत कार्यक्रममा स्थानीय संयोजन शोभा आलेमगर र प्रवासी मगर समाज कतारका सल्लाहकार दीलिप रानाले सहयोग पुर्‍याएका थिए। त्यस अवसरमा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले फाउण्डेशन शैक्षिक क्षेत्रमा क्रियाशील संस्था भए पनि भूकम्पबाट सिर्जित विपत्तिमा परेकाहरूका लागि सेवा पुर्‍याउनु पनि आफ्नो दायित्व सम्झेर सहयोगका लागि अग्रसर भएको बताए। सचिव जनकल्याण पराजुलीले देशमा परेको विपत्तिमा सक्दो सहयोग पुर्‍याउनु सबैको कर्तव्य भएको बताए।

सदस्य अजय कोइरालाले बेलायतमा रहेर राहतको लागि पहल गर्ने संस्थाका संरक्षक रमेश बास्तोला र सहयोगीहरूप्रति आभार व्यक्त गरेका थिए।

स्थानीय संयोजक शोभा आलेमगरले नगरपालिकाभित्र रहेर पनि ओझेलमा परेको र राहत पुग्न नसकेको डाँडागाउँमा आएर सहयोग पुर्‍याएको भन्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रमको सञ्चालन सहसचिव कमला पराजुलीले गरेकी थिइन्। निलकण्ठ-७, डाँडागाउँमा मगर र दलितहरूको वस्ती रहेको छ।