बन्दुक बोकेका माओवादीहरु नयाँ हतियारसहित गाउँ पसेपछि

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – जेठको धुप चर्किएको छ । एक हूल रातो टिसर्टधारी मानिसहरु धमाधम भूकम्पले बनाएको भग्नावशेष सफा गर्दैछन् । कोही जिर्ण घर भत्काइरहेछन्, कोही अस्थायी टहरा बनाइरहेछन् । असिनपसिन हुँदै काममा जुटिरहेका यो टिमको नेतृत्व गरेका छन्, एमाओवादी रोल्पाका अध्यक्ष तथा पूर्वविद्यार्थी नेता गोपाल शर्मा ‘अनल’ले ।
जनयुद्धको बेला बन्दुक बोकेका माओवादीहरु अहिले नयाँ हतियारसहित काममा जोतिइरहेका छन् । नयाँ हतियार अर्थात् सावेल, कोदालो, हम्बर र अन्य ज्वावलहरु ।
working kalpnanaएक नेपालीको दुःख अर्को नेपालीलाई दुख्नुपर्छ । यस्ता भनाईले आजभोलि सामाजिक सञ्जालका भित्ताहरु रंगिरहेका छन् । धादिङको आदमटारमा भेटिएका एमाओवादी युवा नेता शर्मा भन्छन्, ‘सामाजिक सञ्जालका भित्ताहरु मात्र होइन, अब भूकम्पले भत्किएर भग्नावशेष बनेको गाउँ पनि रंगिनुपर्छ ।’ कामले धूलोमैलो भएको अनुहारबाट पसिना काट्दै शर्मा थप्छन्– ‘त्रिपाल र चामलको लागि लाइन बस्नुभन्दा बर्षाअगाडि स्थानीयले नै एकअर्कासँग हातेमालो गरेर स्थानीय स्रोतसाधन जुटाउँदै घर बनाउनुपर्छ ।’
Rukumeli maoist in Dhading (1)कल्लेरी–६ को बेलिनीटारमा देवकी खतिवडाको भत्किएको घरबाट अन्न निकाल्न सकिएन । उद्धारको लागि आएको नेपाली सेना र प्रहरीले जोखिमपूर्ण भन्दै अन्नपात निकाल्न अस्वीकार गरिदिए । अब कसरी निकाल्ने ? केही समयअगाडि दुर्घटनामा श्रीमान गुमाएकी देवकी समस्यामा थिइन् । राता टिसर्टधारी एमाओवादी कार्यकर्ताहरुले बहादुरीपूर्वक भत्किएको घरबाट अन्नपात निकाले ।
मास्क पनि नलगाई काम गरिरहेका एमाओवादी रुकुमका एक सचिवालय सदस्य भन्छन्, ‘हामीलाई अचम्म लागिरहेको छ, हामी रुकुमबाट आएर काम गरिरहेका छौं, तर यहाँका स्थानीय जनता छेउछाउ जम्मा भएर रमिता मात्रै हेरिरहे,’ उनले अगाडि भने, ‘जनता मात्र होइन, धादिङका एमाओवादी नेता कार्यकर्तासमेत जोडिएनन् ।’
असिनपसिन भएर काममा खटिरहेको तस्वीर लिइरहेका क्यानडेली नागरिक आलिसनले स्थानीय सञ्चारकर्मीलाई आश्चर्य व्यक्त गर्दै भन्छन्, ‘सैयौं माइल यात्रा गरेर आएका पाहुनाहरु काम गरिरहेका छन् । हुलका हुल स्थानीय युवाहरु काम गरेको हेरेर मात्र फर्किएका छन् ? यस्तो किन भइरहेछ ?’
क्यानडेली नागरिक आलिसनको प्रश्न भत्किएको घरबाट ढुंगा निकालिरहेकी पूर्वमन्त्री तथा एमाओवादी नेतृ कल्पना धमलालाई राख्दा उनले भनिन्, ‘हामीसँग पूर्वतयारी भएन, स्थानीय कमिटीका साथीहरु पनि भूकम्पपीडित नै हुनुहुन्छ, यद्यपि हामी भोलिबाटै स्थानीय साथीहरुलाई पनि काममा जोड्छौं ।’
‘हरेक दिन त्रिपाल र राहतको लागि लाइनमा लाग्ने, अरुले गरिदेला कि भनेर हात बाँधेर बस्ने परनिर्भर प्रवृत्ति हामीमा हुर्किएको छ,’ रुकुमेली टिमसँग जोडिएर काम गरिरहेका स्थानीय शिक्षक रामशरण श्रेष्ठ भन्छन्, ‘स्थानीय साधन स्रोत प्रयोग गरेर हातेमालो गर्दै अस्थायी आवास बनाउने हो भने वर्षा झेल्न त्यति मुस्किल देखिँदैन ।’
३५ जनाको रुकुमेली एमाओवादी नेता कार्यकर्ताको यो समूह कुम्पूर र कल्लेरीको सिमाना आसपास १५ दिनसम्म रहने टोलीको नेतृत्व गरिरहेका गोपाल शर्माले जानकारी दिए । बितेको ३ दिनमा दर्जनभन्दा बढी भत्किएका घर सफा गर्ने, अस्थायी आवास बनाउने र पूरिएको अन्नपात झिक्ने काम गरिसकेको उनले बताए ।
रुकुमदेखि धादिङ आएर काम गरिरहँदाको अनुभूति बाँड्दै शर्मा भन्छन्, ‘हामीले १५ दिनमा ठूलै उलटपुलट गर्न सक्दैनौं । तर एउटा अभियानको सुरुवात भने गर्न चाहन्छौं ।’ उनले मिलेर गरे जेपनि गर्न सकिन्छ भन्ने सन्देश दिने र सहाराविहिनहरुको घाउमा मल्हम लगाउने जिकिर गरे ।
एनजिओले हुर्काएको परनिर्भर संस्कृतिलाई बदल्दै स्थानीय नै मिलेर काम गर्दा अरुको मुख ताक्नुनपर्ने उनको बुझाई छ ।
सोमबार रुकुमेली माओवादीको टोली कुम्पूरको आदमटार र बडहरे क्षेत्रमा स्थानीय माओवादी कार्यकर्तासँग जोडिएर काम गरिरहेको छ । ‘हरेक दिन हामीसँग काममा जोडिने स्थानीयको संख्या बढिरहेको छ,’ नेता शर्माले भने, ‘हामी फर्किने बेलासम्म सैयौं स्थानीयहरु आ–आफ्नो क्षेत्रमा अभियानात्मकरुपमा निर्माणमा जुटिरहेको हेर्न चाहन्छौं ।’