पोखरी सुक्न थालेपछि किसान परे मर्कामा

719 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0120
केशव अधिकारी
च्यात्राक२१ जेठ ।  केही बर्ष यता बढ्दै गएको चर्को खडेरी,खण्डबर्षा जस्ता कारणले गर्दा हिउंदे बर्षामा कमि आउन थालेपछि धादिङ जिल्लाको दक्षिणीभेगमा पर्ने महादेवस्थान गाविसको च्यात्राकका  वासिन्दा मारमा परेका छन् । धादिङको अति विकट गाविसको रुपमा परिचित महादेवस्थानको उच्च क्षेत्रमा गाईबस्तुलाई पानी खुवाउन आकाशेपानी संकलन गर्न बनाईएका  पोखरीहरुमा  केही बर्ष यता पानी जम्मा हुन छाडेपछि पोखरीको भरपर्दै आईरहेका स्थानीयवासी मर्कामा परेका हुन ।
बाबु वाजेको पाला देखिनै हिउंदमा परेको पानी  पोखरीमा जम्मा हुन्थ्यो त्यहि पानीे बस्तुभाउलाई खुवाउने  गरेकोमा केही बर्ष देखि पोखरीमा पानी जम्मा हुन छाडेको महादेवस्थान च्यात्राकका भिमसेन तामाङले वताउनुभयो । गाउं नजिकै पानीको मुहान पनि छैन,भएको पोखरीमा पनि पानी जम्मा हुन छाडेपछि स्थानीय लाई गाईबस्तु पाल्न समस्या हुन थालेको तामाङ बताउनुहुन्छ ।
महाभारत पहाड श्रृङखलामा पर्ने अधिकांश बस्तिमा गाईबस्तुलाई खुवाउन आकाशेपानी जमाएर पोखरीको प्रयोग हुंदै आईरहेकोमा पानी नभएर पोखरीनै सुक्न थालेपछि पानी खुवाउन नसकेर गाई गोरु पाल्ननै छाड्नेक्रम बढ्दै गएको गाउंवासीको भनाई छ । मान्छेले पिउने पानी पाउन समेत निकै दुःख रहेको महाभारत क्षेत्रमा वस्तुलाई खुवाउने पानी भेटाउन झनै कठिनाई भएको महादेवस्थान ब्रुङदीका सुनवहादुर तामाङले वताउनुभयो ।
परम्परागत रुपमा प्रयोगमा रहेका पोखरीहरुको संरक्षण गरी विगतमा जस्तै पानी संकलन गर्न सके गाईबस्तु पाल्न सजिलो हुने  महाभारत क्षेत्रका वासिन्दाको भनाई छ । दक्षिणी धादिङको विकटमा पर्ने धादिङ,चितवन र मकावानपुर जिल्लाको सिमाना पर्ने महाभारत क्षेत्रका बस्तिहरु उच्च स्थानमा रहेका कारण यस भेगमा खानेपानीको निकै समस्या रहंदै आएको छ । बस्तिभन्दा निकै तल खानेपानीको श्रोत हुने गरेकाले गाउंमा खानेपानी ल्याउन यसक्षेत्रका वासिन्दाले घण्टौ हिड्नुपर्ने बाध्यता रहेको छ । धादिङ जिल्लामै सबैभन्दा बढी खानेपानीको दुःख महादेवस्थान गाविसको वडा नम्बर ३ ब्रुसबाङका चेपाङहरुले खेप्दै आईरहेका छन । ब्रुसबाङबाट पानी लिनका लागि तीन घण्टाको ओरालो हिड्नुपर्दछ ।