सहयोगी मनबाट थाक्रे–३ का सय परिवारले पाए जस्ता पाता

2180 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ जेठ – झण्डै एक महिना खुल्ला आकाशमुनी नाम मात्रको पालमा बस्दै आएका धादिङ थाक्रे–३ का बाबुराम सुनार आईतबार निकै खुसी देखिनु हुन्थ्यो । सुनारको अनुहारमा मात्रै होइन जस्ता पाता पाउने सबैको मुहारमा केही चमक देखिएको थियो । महाभुकम्पले छिया छिया पारेको मुटुलाई टाल्दै गाउंलेहरु खुसी व्यक्त गरिरहेका थिए । विनाशकारी महाभूकम्पले घरबास विहिन रानीबारीका  एक सय बढी परिवारले आईतबार एक एक बण्डल जस्तापाता सहयोग पाएका छन ।
खाना र छानाको अभावमा कयौं रात कष्टका साथ काटेका रानीवारीका स्थानीयले सरकारको मुख ताक्दा ताक्दै महिना वित्न लाग्दासम्म सामान्य पालको भरमा रात विताउन बाध्य हुनुपरेपछि विदेशमा बस्ने युवाहरुको आर्थिक सहयोगमा यहांका भुकम्प पिडितले प्रति घर एक बण्डल जस्ता पाता पाएका हुन ।
IMG_0001रानीबारीका भूकम्प पिडितको पिडादायी अवस्था सामाजिक सञ्जाल फेसबुक मार्फत थाहा पाएका विदेशमा बस्ने युवा र व्यवसायीले गरेका आर्थिक सहयोगले एक सय तीन घरले छानो पाएका हुन् । अमेरिकाको क्यालिफोर्निया र पृथ्वी राजमार्गमा नमस्ते नेपाल होटेल सञ्चालन गर्दै आएका रसुवाका गोविन्द ढकाल, गाउँमै हुर्किएर लण्डन बस्ने रामकृष्ण थापा, जर्मनी बस्ने सन्तोष ओझा र दुवईकी सितलले पिडितलाई छानो हाल्ने जस्ता पठाएर सहयोग गरेका हुन । नमस्तेका सञ्चालक ढकालले २ लाख, लण्डनमा सामान्य जागिरे थापा र किरण भण्डारीले ९६ हजार, ओझाको संयोजमा संकलित ५० हजार, दुवईकी सितलले ५० र कुम्पुर घर भई काठमाडौं बस्दै आएका श्यामचन्द्र खतिवडाले ९ हजार गरी ४ लाख ५ हजारमा ९० बण्डल जस्ता खरिद गरेर पिडित गाउँमा पु¥याइएको स्थानीय सामाजिक कार्यकर्ता रामेश्वर कार्कीले वताउनु भयो ।
सहयोगीका आफन्तहरु गाउंमै पुगेर पिडित परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए । गाउँमा आफ्नो र आफन्तको घर लडिरहेको भए पनि एक पिडितले अर्को पिडितलाई सहयोग गर्न पाएकामा होटल व्यवसायी ढकालले फेसबुक मार्फत खुसी व्यक्त गर्नुभएको छ ।
IMG_0007‘गाउँको पिडा थाहा पाएदेखि युरोपको रमझमले पनि खुसी वनाउन सकेन’ लण्डन बस्दै आउनु भएका थापाले भन्नु भयो आफु हुर्किएको गाउँ छिनभरमै सखाप हुँदा मन सारै दुख्यो, आफ्नै कमाइको केही अंश कटाएर गाउँलेलाई छाना दिन सकेकोमा केही खुसी छु , आगामी दिनमा पनि सकेको सहयोग गर्नेछु थापाले वताउनु भयो ।
रिबुइल्ड बुद्धज् ल्याण्ड (बुद्धको जन्मभूमी पुनर्निर्माण) फेसबुक पेज निर्माण गरेर अभियान चलाएका जर्मनी बस्ने सन्तोष ओझाले गाउँको विकास र शिक्षा क्षेत्रमा योगदान दिन यस अभियानले सहयोग पुगेको वताउनु भयो । भूकम्पले क्षति पु¥याएको एक साता पछि गाउंलेले १२ फिट लम्बाई र ८ फिट चौंडाईका त्रिपाल पाएका थिए । त्रिपालमुनी सानो ओत लाग्ने कटेरो बनाएका उनीहरुको त्रिपालले दर्किएको पानी र हुरी वतास धान्न सक्दैन्थ्यो, अव भत्किएको घरको काठपात वनाएर वसोवासको व्यवस्था गर्ने भए गाउंवासीको सहयोगका लागि शुरु गरिएको अभियानका सदस्य कार्की बताउनुहुन्छ ।
कर्यौ रात हावाहुरीले पाल उडाउला भनेर रातभरी पाल समाएर अनिदै बसियो अब जस्ताको छानो हालेर घर वनाईने छ, हाम्रो दुःखलाई देखेर सहयोग गर्नेहरु हाम्रा लागि भगवाननै हुन स्थानीय नारायण सुनारले खुसी हुंदै वताउनु भयो ।
शुरुमा ९० घरलाई वितरण गर्ने तयारी गरिएकामा उस्तै समस्याका एक सय तीन परिवार भएपछि जस्ता पाउने सूचिमा परेकाले बाँकी १३ जनालाई आफ्नो भागमा आएको एक एक पाता निकालेर सबैलाई भाग पु¥याएका हुन । सबैले एक एक पाता निकाल्दा थप १३ जनाले बराबर सहयोग पाएका छन । हामी मानो खान्छौं भने एक मुठ्ठी दान गर्न पनि सक्छौं जस्ता पाउने मध्येका कृष्णबहादुर तामाङले भन्नुभयो । हामीले एक पाता झिक्दा गाउँ भरीका सबैको मुहार उज्यालो भयो , अब गाउंका सबैले सहयोेग पाएका छौं यसबाट सबैमा खुसीयाली छाएको तामाङको बुझाई छ । जस्ता पाए पछि रानीवारीका धेरैको मुहारमा खुसीयाली देखिएको थियो ।
हावाहुरी र वर्षाले सामान्य पाल मुनी बस्दै आएका भुकम्प पिडितलाई झन तनाव थपेको छ । राहतका नाममा पाल र खाद्यान्न भन्दा पनि चार पाता जस्ता दिए यही ठुलो कुरा हुने भूकम्प पिडितहरु बताउँछन् ।