असुरक्षित भवनमै उपचार

1544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhadig-salyantaar_PHC_417269734सल्यानटार (धादिङ) : वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको भवनमै राखेर सल्यानटार स्वास्थ्यचौकीले बिरामीको उपचार गरिरहेको छ।
 महाभूकम्पले स्वास्थ्यचौकी भवन चर्किएर कामै नलाग्ने हुँदा पनि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक करिब दुई सयजना बिरामीलाई भत्किएको भवनबाटै उपचार गर्दै आएको छ।
२५ शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणाधीन रहेको र अहिले सञ्चालनमा रहेको पुरानो भवन असुरक्षित भए पनि यस्तै भवनमै राखेर बिरामीको उपचार हुँदै आएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारका निमित्त प्रमुख रमेश खकुरेलले भने, ‘नयाँ भवनको पनि निर्माणकार्य सम्पन्न भएको छैन। पुरानो भवनलाई पनि असुरक्षित भनिएको छ। बिरामी उपचार गर्नका लागि आउँछन् कहाँ लैजाने हो र त्यही असुरक्षित भवनकै कम चर्किएको ठाउँमा राखेर बिरामीको उपचार गर्ने गरेका
छौं।’
स्वास्थ्य केन्द्रका लागि २५ शय्याको सुविधासम्पन्न भवन बनाउन सुरु गरिएको भए पनि बनिनसक्दै भूकम्पले क्षति पु:याएको छ। स्वास्थ्य केन्द्रसँग भवनको अर्को विकल्प नहुँदा असुरक्षित भवनबाटै उपचार गराइएको हो।
‘बिरामी उपचारका लागि आउँछन् तर स्वास्थ्यचौकीको भवन देखेर झन् बिरामी पो हुन्छन्जस्तो छ। सामान्य चेकजाँच गरेर फर्किनेलाई त ठिकै होला तर भर्ना गरेर राख्नुपर्दा त डर भइहाल्छ’, स्वास्थ्य चेकजाँचका लागि आएकी सल्यानटारकी राममाया दराईले भनिन्। भूकम्पको त्रास कायमै रहँदा अझ भत्किएको भवनमा उपचार गराउनुपरेपछि बिरामीमा झन् मानसिक त्रास बढ्ने स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी बताउँछन्।
‘आकस्मिक बिरामी र ओपीडीलाई हामीले अहिले बरन्डामा राखेर चलाइरहेको छौं। दिनभर चर्किएकै भवनमा उपचार गर्ने गरेका छौं भने भर्ना गर्नुपर्ने बिरामीलाई राति युनिसेफले दिएको त्रिपालमा राख्ने गरेका छौं’, खकुरेलले भने, ‘हामीले यहाँ परेको समस्याबारे जिल्ला स्वास्थ्यलाई पनि जानकारी गराएका छौं।’
भूकम्पपछि बिरामीको पनि चाप बढेको र विकल्प पनि नभएकाले बाध्य भएर चर्को घाममा त्रिपाल र टेन्टमुनि बिरामी राख्नुपरेको उनले बताए।
‘एक्स-रे, ल्याब, प्रसूतिकक्ष बाहिर चलाउन समस्या हुन्छ अनि भित्रै नचलाए बिरामीको स्वास्थ्य चेकजाँच गर्न सकिँदैन’, खकुरेलले भने, ‘बिरामीको चाप बढेका बेला स्वाथ्यकर्मी अभाव छ। बाहिर काम गर्न गाह्रो हुने भएकाले जोखिम मोलेर असुरक्षित भवनमै काम गर्नुपर्दा स्वास्थ्यकर्मी पनि मानसिक रूपमा विचलित भएका छन्।’
प्राविधिक चेकजाँचपछि असुरक्षित स्टिकर टाँसिएको भवनबाट अहिले दैनिक एक सय ५० देखि दुई सयजनासम्मले औषधि उपचार गराइरहेका छन्। सल्यानटारमा रहेको उक्त स्वास्थ्य केन्द्रमा गोरखाको आरुघाटदेखि धादिङकै उत्तरी क्षेत्र मूलपानी, बसेरी, बूढाथुम, फूलखर्क आगिन्चोक लगायतका गाविसबाट बिरामी उपचारका लागि आउने गर्छन्।
-अन्नपूर्ण पोष्टबाट