राजनीतिक स्वार्थभन्दा माथि उठेर जनसेवा गर्न राष्ट्रपतिको निर्देशन

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dr yaadabमकवानपुर–राष्ट्रपति डा.रामवरण यादवले विपदको समयमा दलहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर जनसेवाको काममा लाग्नुपर्ने बताउनुभएको छ । मुलुकका जनता भुकम्पको पीडामा रहेकाले उनीहरुको पीडा सेवाबाट कम हुने उहाँले बताउनुभयो ।

भुकम्पको क्षतिको अवस्था बुझ्न  मकवानपुरको थाहा नगरपालिकामा आउनुभएका राष्ट्रपति डा. यादवले मकवानपुरका राजनितीक दल, सुरक्षा संयन्त्र लगायत सहयोगी निकायले विपदका बेला प्रशंसनीय काम गरेको आफूले पाएको उल्लेख गर्नुभयो । भुकम्पछि डेढ महिनासम्म पूरा हुन बाँकी रहेका स्वयमसेवी कामलाई अझै निरन्तरता दिनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ । भूकम्प प्रभावित विभिन्न जिल्लाको अवस्था बुझ्ने अभियान अन्र्तगत राष्ट्रपति सहितको टोली मकवानपुर आएको हो ।

राष्ट्रपति यादवले भूकम्प पिडित नागरिकहरुका लागि विभिन्न क्षेत्रबाट भएको प्रयासको प्रशंसा पनि गर्नुभयो । विहान सवा १० बजे थाहा नगर आइपुग्नु भएका राष्ट्रपति यादव समक्ष जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले मकवानपुरमा भूकम्पबाट भएको क्षति र राहतको विषयमा दफावार जानकारी गराउनु भएको थियो । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा परराष्टमन्त्री महेन्द्रबहालदुर पाण्डे, रक्षा सचिव इश्वरी पौडेल, पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री कमल थापा, पूर्व उद्योग मन्त्री अनिल झा, नेकपा एमाले मकवानपुरका संयोजक रामचन्द्र राई, काङ्गे्रसका नारायण लम्साल, एमाओवादीका प्रेमबहादुर पुलामी, राप्रपाका सिताराम बर्तौला, नेपाल कम्युनिष्ट पार्टीका विनोद रिजाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया लगायतको आतिथ्यता रहेको थियो ।