अव ‘फ्रि भिसा’ बाहेकका बैदेशिक रोजगारी बन्द

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bideshसरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कान्तिपुरलाई बताए ।

मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ ।

अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएको थियो । यसबारेमा कतारी मन्त्रीले नै आपत्ति जनाए पनि सरकार सचेत भएको हो ।

मलेसिया लगायत केही मुलुकमा रहेको नेपाली दूतावासले यो समयमा छ महिनासम्म कुनै पनि बैदेशिक रोजगारीमा नपठाउन भन्दै सरकालाई पत्राचार गरेको छ । तर सरकारले फ्रि भिसामा भने निरन्तरता दिने भएपछि अन्य शुल्कमा जान नपर्ने भएको हो ।

मलेसिया स्थित नेपाली दूतावासले अहिले नेपाली कामदार नपठाउन उचित हुने र यसपछि खुला गर्दा फ्रिमा मात्र पठाउँदा व्यवस्थापन र क्रस चेक गर्न सहज हुने जनाएको थियो । समस्या विदेशमा होइन समस्या रोजगार विभागमा गरिने चेकिङ र हुने सेटिङमा नै भएको एक अधिकारीले बताए । त्यसले ब्यवस्थापन गर्न सहज हुने भन्दै त्यसमा जोड दिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्न्यातले कान्तिपुरलाई टेलिफोनमा भने, ‘अहिले कामदार नपठाउन हामीले सरकारलाई आग्रह गरेका छौं । तर सरकारले अहिले फ्रि भिसा’लाई भने पठाउने भनेको छ । केही समय कसैलाई पनि नपठाएको खण्डमा रोजगार आवश्यक पर्ने मुलुकसँग समन्वय र मोलमोलाई गर्न समेत सहज हुने थियो ।’ परराष्ट्र उच्चस्रोतका अनुसार साउदी र कतारले पनि त्यस्तै प्रकारको सन्देश सरकारलाई दिइसकेको छ ।

कतारले यसअघि नै सबैलाई फ्रि भिसा उपलब्ध गराएको भन्दै कसरी कामदारले पैसा तिरेको भनिरहेको अवस्थमा दुतावासले केही समय बन्द गराउदा राम्रो हुने सुझाव दिएको हो । राज्यमन्त्री गुरुङले भने अहिले ने सबै बन्द गर्दा असहज हुने हुनाले तत्कालको लागि फ्रि भिसामा भए पनि पठाउन पर्ने बताए । ‘बन्द गर्न सुझावहरु आएका छन तर बन्द नै गर्न हुदैन,’ उनले भने ।

दुईतर्फी हवाई टिकट सरकारले उपलब्ध गराउने  

महाभूकम्पमा परि नातेदार गुमाएका र घरबाहर विहिन बन्न पुगेका नेपाली कामदारलाई तत्काल नेपाल फर्कनका लागि दुई तर्फी टिकट दिने भएको छ ।

उनीहरुलाई कम्पनीले विदा नदिए दूतावासले पहल गरेर विदा दिलाउन पर्ने समेत सरकारको निर्णय रहेको छ । मलेसिया लगायत अन्य अरब मुलुकमा रहेका नेपालीहरुले विदा नपाएर समस्यामा परेका छन । मलेसियामा मात्र अहिलेसम्म करिव दुई हजार जनाले आफ्नो घरमा समस्या परेको र जानको लागि ब्यवस्था गरिदिन आग्रह गरेको राजदूत बस्न्यातले बताए ।

रोजगार दाता कम्पनीको स्विकृत नभएमा कामदारले एक्जिट परमिट नपाउने हुनाले यसमा समस्या पर्ने देखिएकोले दूतवासले सक्दो पहल गर्ने पनि उनले बताए । कामदारले विदा पाएको खण्डमा उनीहरु आफैपनि टिकट किनेर घर आउन हतारिएका छन् । कतिपय राम्रा कम्पनीले भने टिकट नै किनेर पनि नेपालीलाई पठाई सकेको छ ।

स्रोत: कान्तिपुर दैनिक