के हामी निदाएका  हौं ?

666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डा. रबिन्द्र पाण्डे ‘समीर’

आठ जिल्लाका ५४ गाउँमा ठूला ५४ र साना १८ वटा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेपछि बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको क्षेत्रमा दीर्घकालीन रुपमा काम गर्ने योजना बनाउंदै छु ।
dr samir pandeyमलाइ लाग्यो हामी चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, बिद्यालय, सरकार तथा राष्ट्रिय एबम अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरु पूर्णत फेल भएका छौं । बिकट गाउँका बालबालिका ननुहाएर मयलका पत्रहरु जमेका, बाह्रैमहिना लुतोले ग्रस्त, अविरल सिंगान, लामखुट्टे तथा अन्य किराले टोकेका गाउ, पाकेका कान, कहिल्यै नधोएका फाटेका कपडा, फोहोर खाना र दुषित पानीको सेवन आदिको कारण कुपोषण र रोगका बाह्रमासे सिकार भइरहेका छन् ।
स्वास्थ्य संस्थाले सरसफाई सिकाउंदैनन्, विद्यालयले सरसफाई बारे चासो राख्दैनन् । दुर्गमका कुरा मात्र हैन यहि बागमती अंचलका गाउँमा गए हृदयविदारक बिम्ब पाइन्छ । आजको २१ औं शताब्दीमा पनि हाम्रो हालत प्राचिन युगको भन्दा दयनीय छ । नेताहरुलाई भोट भए पुग्ने, सरकारी र गैह्र सरकारी संस्थालाई नोट भए पुग्ने, बाउआमालाई रक्सि र चुरोट भए पुग्ने, कर्मचारीलाई भरिएको कोट भए पुग्ने, दाताहरुलाई पैसा असुल्ने बोट भए पुग्ने, मिडियालाई ध्वंश र चोट भए पुग्ने ….के कसैको जिम्मेवारी छैन नि:स्वार्थ सेवा गर्न ? यस्तो बिपत्तिमा सलमान खानको जोडी को संग मिल्छ ? जुलियाले कहाँ मोडलिंग गरिन ? कुन कविले कुन बिम्बमा लेखेको
कबिताले ताली पायो ? कुन खेलाडीले पौडी खेल्यो ?कुन फिल्म कस्तो छ ? रेस्लिंग्मा कसलाई चोट लाग्यो ? आदि समाचार पछि राखौं । अहिले विपत्तिका कुरा लेखौं, समाधानका उपाय प्रचार गरौँ, गाउँगाउँमा खटेका नायकलाई प्रेरित गरौँ, सरसफाई सम्बन्धी जनचेतना बिस्तार गरौँ । जे गरौँ, मनैदेखि गरौँ । हाम्रो धरातलीय यथार्थता के हो – त्यो अनुसार गरौँ । मिडियाले मनैदेखि चाहेमा जनचेतनाको बर्षात हुनेछ । स्वास्थ्यकर्मी र शिक्षकले चाहेमा प्रत्येक गाउँमा चेतनाको लहर चल्नेछ,
पार्टीहरुले चाहेमा एक महिने सरसफाई तथा पोषण अभियान चलाउन सक्छन ।आफु सुकिलोमुकिलो भएर मात्र हुँदैन,हरेक व्यक्तिले आफ्नो गाउँ वा समाजलाई सुकिलो बनाऔं ।
मेरो अभियान अब बालबालिकाको सरसफाई, भएका रोग नियन्त्रण, अब रोग लाग्न नदिने उपायबारे चेतना बिस्तार, स्वास्थ्य सम्बर्धन र रक्षा गर्न पोषणको कार्यक्रम अनि अशिक्षारुपी अन्धकारबाट शिक्षाको उज्यालो प्रदान गर्नु  हुनेछ । एक्लै यो अभियान सबै ठाउँमा पुग्न असम्भब छ । जति सम्भब छ, मनैदेखि गर्नेछु । बिकट गाउँमा जिरोबाट नै सुरु गर्नुपर्ने स्थिति छ । अब उप्रान्त कसैले कसैलाई पनि बिना ठोस कार्यक्रम र बिना उपलब्धि ( मिडियाको, सम्बन्धको, प्रचारको वा चिनजानको आधारमा ) आफ्नो पसिना बालुवामा नहालौं । जसले जे सकिन्छ, जहाँ सकिन्छ,
जसरी सकिन्छ – केहि गरौँ ।हामीले एउटा रेस्टुरेन्टमा एकपटक तिर्ने बिल प्रत्येक महिना बालबालिकाको सरसफाई, पोषण, स्वास्थ्य र शिक्षामा अर्पण गरौँ । हामीले नबिसौं, हामी त्यो स्थानमा भएको भए ? आफ्ना बालबालिका त्यो स्थानमा भएका भए ? सानो सहयोग, सानो अभियानले ति अबोध बालबालिकालाई राष्ट्र तथा विश्वले गौरब गर्न लायक बनाउन सकिन्छ । राजधानी, सदरमुकाम, बजार, बिकसित गाउँ मात्र हाम्रो देश हैन ।

(लेखक वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन् )