बेलायतको युनिभर्सिटीमा पहिलो एसोसिएट डिन बने नेपाली

732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

‘देश सेवा गर्नलाई देश भित्रै हुनुपर्छ भन्ने छैन’

 timthumbलन्डन,-लिभरपुल जोन मोर युनिभर्सिटीको गहन जिम्मेवारी युक्त पोजिसन एसोसिएट डिनको रूपमा भर्खरै नियुक्ति पाएका एकजना नेपाली प्राध्यापक डा.पदम शिम्खडा आफ्नो तन मन र धन सबै सधै नेपालमै रहेको बताउँछन्।

‘सायद मैले नेपालमै बसेर काम गरेको भए, नेपालको लागि यति योगदान गर्न सक्ने थिइन,’ उनले भने।

उक्त विश्व विद्यालयमा अध्यापनरत प्राध्यापक डा.पदम सिंखडा सम्भवत नेपाल बाहिरको युनिभर्सिटीमा यत्तिको उपल्लो नियुक्ती पाउने पहिलो नेपाली हुन्। सन् १८२३ मा मेकानिक्स स्कुल अफ आर्ट्सको रूपमा स्थापित जोन मोर युनिभर्सिटी युकेको नाम चलेको र ख्यातिप्राप्त विश्वबिद्यालय मध्येको एक हो।

नेपालको धादिङ घर भएका सिंखडाले आउँदो अगस्ट १ बाट लागू हुने गरी नियुक्ति पाएका छन् भने तत्पश्चात उनको अब काम र कर्तव्यको दायित्व पनि वृहत रूपमा फराकिने छ।

‘युनिभर्सिटीलाई कसरी अन्तर्राष्ट्रिय करण गर्ने भन्ने प्राथमिकता अन्तर्गत मेरो एक्स्पर्टिज नै छनोटको अधार हो,’ युनिभर्सिटीको तीन तहको छनोट प्रक्रियामा करिब दुई दर्जन प्रतिश्पर्धीबाट तीन जनाको सर्टलिस्ट हुँदै अन्त्यमा उक्त पद पाउने उनले सेतोपाटीसँगको कुराकानीमा भने।

‘युनिभर्सिटीलाई रिसर्च सेन्टरको रूपमा विकास गर्दै होम स्टुडेण्टलाई अन्तर्राष्ट्रिय रूपमा कम्पिटेण्ट बनाउने उद्देश्य अनुरूप मेरो नियुक्ति आएको हो,’ जिम्मेवारीलाई बिराट रूप दिँदै उनले भने।

विश्वविद्यालयका नर्सिंङ, सेन्टर फर पब्लिक हेल्थ, एजुकेशन र टुरिजम एण्ड हस्पिटालिटी लगायतका फ्याकल्टीहरू, ६ सय जना स्टाफ र ६ हजार स्वदेशी तथा विदेशी विद्यार्थी सिंखडाको जिम्मेवारीभित्र पर्नेछन्। हाल यो विश्वविद्यालयमा२५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

तपाईँको यो पदोन्नतिमा धेरै नेपालीले खुसी व्यक्त गरेका छन् तर यो उपलब्धि  तपाईँको लागि मात्रै होइनर भन्ने सवालमा उनी भन्छन,‘सायद मैले नेपालमै बसेर  काम गरेको भए, नेपालको लागि यति धेरै  योगदान गर्न सक्ने थिइन।’

‘म त युनिभर्सिटीको डाइरेक्ट कामबाट इन-डाइरेक्ट रूपमा नेपाललाई सघाउनेमा तल्लिन छु,’ उनी थप्छन्।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फताका बधाई र खुसी ब्यक्त गराईप्रती नतमस्तक हुँदै उनी भन्छन्, ‘नेपाली हुनुको बिशेषता नै यो रहेछ, म नेपाली भएर जन्मिनुमै कृतज्ञ छु, यति सारो नेपालीहरुको माया र सद्भाव जो पाएको छु।’

यसअघि सिनियर लेक्चररको रूपमा बेलायतको शेफ़िल्ड युनिभर्सिटीमा काम गर्दा उनले नेपाल अध्ययन सम्बन्धी मुड्यूल नै ईण्ट्रोड्युस गराए। उक्त बिषय अध्ययन गर्ने विद्यार्थी नेपाल जानैपर्ने हुन्छ,’ एक पटक नेपाल पुगेपछि त्यो मान्छे काम वा भ्रमण  जिन्दगीभर नेपालसँग कुनै न कुनै रूपमा जोडिन्छ जसको फाईदा देशलाई नै पुग्ने हो,’ उनी तर्क प्रस्तुत गर्छन्। यहि प्रोग्राम अन्तर्गत वर्षेनी दर्जनौ विद्यार्थी नेपाल पुग्ने गरेका छन्।

युनिभर्सिटीको साथ साथै तीन चार वटा एनजीओसँग इन्भल्भ भएर तिनीहरूलाई कसरी नेपालतिरै डोर्‍याउने भन्नेमा तल्लिन यी धादिंगे प्रोफेशर गतवर्ष मात्रै ६ चोटी नेपाल पुगेको बताउँछन्। युनिभर्सिटीमा पनि पब्लिक हेल्थ उनको दख्खलको कार्यक्षेत्र हो।

अहिले उनकै सुपरभिजनमा एक दर्जन नेपाली विद्यार्थीहरू पिएचडी गर्दैछन् ‘उनीहरूले पनि नेपालमै प्रोजेक्ट गर्ने हुन्,’ उनी बताउछन्।

 जनस्वास्थ्य विषयमा विशेष दख्खल राख्ने सिंखडाका सयौं लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले लेखेको द डाइनामिक अफ हेल्थ इन नेपाल नामक पुस्तक पनि हालसालै प्रकाशन भएको छ।

‘अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित मेरा लेखहरू ८० प्रतिशत नेपालसँगै रिलेटेड हुन्छन्’, उनी प्रकाशन बारे थप्छन्।

धादिङको गुम्दी गाविसका उनी स्थानीय तामाङखर्क विद्यालयबाट स्कुल पढेका हुन्।   हाल उनी उक्त स्कुलको संसारभर छरिएर रहेका भूतपूर्व विद्यार्थीहरूको संगठन तामाङखर्क आल्मुनाईका अध्यक्ष पनि हुन्। स्कुलको प्रसंग कोट्याउने बित्तिकै अलिकति नोस्टाल्जिक सुनिँदै उनी भन्छन्’, विद्यालयलाई सघाउने कार्य निरन्तर रूपमा भईरहेको छ, जसको आउट्कमले प्रशन्नता ल्याउछ।’

धादिङको दुवै पुर्ख्यौली घर भूकम्पमा गुमाएका उनले व्यक्तिगत रूपमै भूकम्प पछिको तेस्रो दिनमै स्थानीय टोलका १ सय २५ घरलाई त्रिपाल पुर्‍याएका थिए। अहिले ‘लिभरपुल युनाईट फर नेपाल,’ ग्रिनतारा ट्रस्टजस्ता संस्था मार्फत दोस्रो चरणको सहयोगमा लागिपरेका छन्।

धादिङको दुर्गम गाउँमा जन्मेर हुर्केका उनी आफू चौध वर्षको हुँदा पहिलो चोटी बस देखेको कुरा उल्लेख गर्दै आफ्नो जीवन क्यासेटको रिल जस्तै फिर्फिर्ती घुमिरहेको बताउँछन्।

प्रजनन र यौन स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, माईग्रेसन, मध्य र निम्न आय भएका देशहरूमा स्वास्थ्य सुधार जस्ता विषयहरुमा उनीसँग लामो खोज तथा अनुसन्धानको अनुभव छ। सन २०१३ मा सिंखडा प्रतिष्ठित ग्लोबल हेल्थ अवार्डबाट सम्मानित भएका थिए।

हेर्दै हसिला र बोल्दै मिजासिला लाग्ने परीवारका साईला छोराको रुपमा जन्मिएका प्राध्यापक डा. पदम श्रीमती डा. बिभा सिम्खडा, छोरा प्रनभ र छोरी पल्लभीको  साथमा बेलायत बस्छन्।

सन् १९९८ मा बेलायत आएका सिम्खडाले ब्रुनेल युनिभर्सिटीबाट डिग्री र साउथह्याम्पटन युनिभर्सिटीबाट पिएचडी गरेका हुन्।

असल मान्छे हुने क्यारेक्टर भावी पुस्तालाई दिन सक्यौ भने समाज र देशको  रुपान्तर सम्भव छ भन्ने उनको उक्तिसँगै हामीले पनि हाम्रो  कुराकानीको बिट मार्‍यौ।

-सेतो पाटीबाट