छाप्रोमा बस्दा घमौरा र खटिराले हैरान

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ,  – धादिङको नीलकण्ठ नगरपालिका धन्सार पाखाको विस्थापित बस्दै आएको शिविरका बालबालिकामा गर्मीले विभिन्न रोग देखा पर्न थालेको छ । भूकम्पपछि लापा र झार्लाङ गाविसमा बस्नै नहुने भएपछि १ सय ४६ परिवार धन्सार पाखामा अस्थायी शिविरमा बस्दै आएका छन् उज्यालो अनलाइनमा खबर छ ।

शिविरमा १ सयभन्दा बढी बालबालिका छन् । उनीहरुमा गर्मीले ज्वरो, खटिरा, घमौरा आउने तथा झाडापखला जस्ता स्वास्थ्य समस्या देखिएको हो । टेण्ट तथा त्रिपालमा बस्दा दिउँसो निकै गर्मी हुने र पानी पर्दा हिलो हुने भएकाले धेरै बालबालिकामा घमौरा तथा खटिरा आएको छ । गर्मी भयो भनेर धेरै बालबालिकाले फोहोर पानीले नुहाउँदा पनि छालासम्बन्धी रोग देखा परेको शिविरमा बस्दै आउनुभएका लापाका   जीवन लामाले बताउनुभयो । शिविरमा खानका लागि रेडक्रसले दैनिक पानी किनेर दिने भएपनि नुहाउन र लुगा धुन खोलाको फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

शिविरमा पानी प्रशोधन गर्ने मेशिनको व्यवस्था भएपनि संचालन गर्न नजान्दा पानी प्रशोधन भए नभएकोबारे पनि थाहा नहुने उहाँको भनाई छ । फोहोर पानी खाँदा र शौचालयको राम्रो व्यवस्था नहुँदा केहि बालबालिकामा झाडापखला समेत देखिएको छ । यस्तै, शिविरमा बस्ने धेरै नवजात शिशुहरुमा ज्वरो तथा रुघाखोकीको पनि समस्या देखिएको छ । दिउँसो चर्को घाम हुने र राती चिसो भूइँमा सुत्नुपर्ने तथा पर्याप्त लत्ताकपडा नहुँदा बालबालिकाको स्वास्थ्यमा जोखिम बढेको हो । शिविरमा भिटामिन ए खुवाउने तथा केहि स्वास्थ्यकर्मी आएर औषधि वितरण गरेपनि बालबालिकाका लागि पर्याप्त नभएको साथै बालबालिकाका लागि पौष्टिक आहार र लत्ताकपडाको खाँचो रहेको स्थानीयले गुनासो गरेका छन् ।