काबुलमा धादिङका सहित १२ नेपाली अलपत्र

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

असार १९ – लमजुङ घर भएका २७ वर्षीय रविन खड्का र काठमाडौंका ३० वर्षीय वीरबहादुर गुरुङले दिल्लीका अनेक मुकाम, होटेलमा चक्कर मारिरहेको ७ महिना नाघेको छ ।

विभिन्न सूत्रबाट सम्पर्कमा आएका दलालले लाखौं रुपैयाँ कमाइ हुने गरी अफगानी सुरक्षा दस्तामा काम लगाइदिने भनेपछि उनीहरूले नेपाली सेनाको हुँदाखाँदाको जागिर छाडे । सेनामा उपदान लिएर दलाललाई जनही ७ लाख रुपैयाँ र पासपोर्ट बुझाउँदै काबुल उड्ने सपना देखेको महिनौं भएको छ । तर, अहिलेसम्म न आफ्नो पासपोर्ट फिर्ता भएको छ, न बुझाएको रकम ।

‘दिल्लीका पहाडगन्ज होटेल हुँदै रोहिणी, दिलसाद गार्डेनमा महिनौंसम्म दलालले घुमाइरहे । अहिले फरिदाबादमा आफन्तको डेरामा आश्रय लिइरहेको छु,’ काबुल उड्ने सपनामा दिल्लीमा थन्किरहेका खड्काले कान्तिपुरसँग भने, ‘अहिले आएर पासपोर्ट लिनै पनि डेढ लाख रुपैयाँ

बुझाएमा मात्रै फिर्ता पाइने भनिरहेका छन् ।’

विचल्ली बनेर हिँडिरहेकै बेलामा खड्का अखिल भारत नेपाली एकता मञ्चका दिल्ली प्रतिनिधि आरबी खड्का र प्रवासी नेपाली संघका गोपाल थापाको सहयोगमा दलालका एक सहयोगी समात्न सफल भए । म्याग्दी घर भएका रमेश पुनलाई नेपाली दूतावास लगेर ‘आफूलाई अलपत्र पार्ने मुख्य दलाललाई दूतावासमा उपस्थित गराउने सर्तमा कागज गराए पनि’ फेरि कोही समातिएका छैनन् ।

‘सिन्धुपाल्चोक घर भएका सुविन (दिलबहादुर) गुरुङ र लमजुङका भरत अधिकारीले हामीलाई विचल्ली बनाएको भनेर उद्धारका लागि निवेदन दिएको छन्,’ खड्काले भने, ‘तर केही उपाय लाग्न सकेको छैन ।’ उनका अनुसार अफगानिस्तानमा निजी सुरक्षा दस्तामा मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने गरी काम दिलाउने भनेर नेपाली गाउँघरबाट थुप्रै सैन्य जवानलाई झुक्याएर दिल्ली ल्याउने काम अहिले जारी छ । ‘न काबुल जान सकिएको छ, न नेपाल घर फिर्नै सकिने स्थिति छ,’ उनले भने, ‘मर्नु न बाँच्नुको स्थिति भएको छ, कसलाई के भन्ने र ?’

लाहाचोक–४ हेम्जा, पोखराका ४५ वर्षीय कृष्ण (नरबहादुर) सुनार पनि हिजोआज दिल्लीका विभिन्न मुकाम र होटेलमा शरणार्थीझैं यताउता गरिरहेका भेटिन्छन् । एक अवकाशप्राप्त भारतीय गोर्खा सैनिकका हैसियतमा गाउँमा बसिरहेका बेला ललाइफकाई अफगानिस्तान लगिएका कृष्ण सुनारको कथाव्यथा जति हृदयस्पर्शी छ, उति नै शिक्षा लिनुपर्ने खालको छ ।

सुनारका अनुसार लमजुङ घर भएका भरत अधिकारीले अफगानिस्तानको भिसा लगाइदिएपछि सिन्धुपाल्चोकका दिलबहादुर गुरुङ र म्याग्दीका रमेश पुनमार्फत उनी काबुल पुगेका थिए । गत मे ५ मा दिल्लीबाट काबुल उडेका उनी सुरुमा काबुल विमानस्थलमै ४ घण्टाभन्दा बढी अलपत्र परे । बल्ल–बल्ल आइपुगेका एउटा अफगानी ड्राइभरले कुसलखान भन्ने ठाउँको एउटा अन्धकार क्याम्पमा पुर्‍यायो, जहाँ एक दर्जनभन्दा बढी नेपाली विचल्ली परेर बसिरहेका रहेछन् । नेपाली र अफगानी दलालबीचको एजेन्ट भएर चाबहिलकी निशा कार्कीले काम गरिरहेको सुनारले पत्तो पाएका थिए । ‘काबुलमै अफगानी मालिकको घरमा बसिरहेकी निशा पनि कष्टपूर्ण जीवन बिताइरहेकी छिन्,’ उनले भने ।

‘त्यो क्याम्पमा महिनौंदेखि बसिरहेका सुकबहादुर सुनार (धादिङ), इन्द्र गिरी (मोरङ), होमबहादुर कार्की (पर्वत), सुमेश थापा (देहरादुन) लगायत थुप्रै नेपाली दाजुभाइको बिजोग देखें,’ सुनारले सुनाए, ‘धन्य, मेरा आफ्नै दाजु काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षागार्ड रहेकाले उहााँबाट उद्धार सहयोग भयो, अनि म यता फिर्न सकेको हुँ । अरूहरूको मर्नु न बाँच्नुको स्थिति छ ।’ उनका अनुसार पर्वतका होमबहादुर कार्कीलाई यो साता अफगानी एजेन्टले जेल लैजाने चेतावनी दिएका थिए ।

दूतावासका काउन्सिलर राजेन्द्रमान श्रेष्ठका अनुसार सरकारले प्रतिबन्धित गरेको र असुरक्षित मानिएको गन्तव्यमा जानाजानी जान चाहने नेपाली कामदारले आफैं सचेत बन्नु जरुरी रहेको बताए ।