नेपाल आईसीसीको मुख्य वरीयताभित्र

1563 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 can अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आफ्नो मुख्य वरीयताभित्र समेटेको छ। वरीयता क्रममा नेपाल १५औं स्थानमा परेको छ।
नेपालले करिब एक वर्षअघि नै टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाए पनि मुख्य वरीयताभित्र प्रवेश पाएको थिएन। नेदरल्यान्ड्ससँग चार खेलको टीट्वेन्टी शृंखला खेलेपछि नेपाल मुख्य वरीयतामा पर्ने निश्चित भएको थियो।
गत टीट्वेन्टी विश्वकपपछि मात्र नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाए पनि आईसीसीले विश्वकपमा खेलेका तीन खेललाई पनि टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।
नेपालले केही महिनाअघि हङकङसँग पनि एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो । हाल हङकङ र यूएईसँग टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता भए पनि उनीहरू मुख्य वरीयतामा छैनन्।
मुख्य वरीयतामा १० स्थायी सदस्य (टेस्ट मान्यता प्राप्त) बाहेक नेपाल, स्कटल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स र आयरल्यान्ड छन्।
मुख्य वरीयतामा परेपछि अब नेपालले टीट्वेन्टी क्रिकेटमा राम्रो प्रदर्शन गर्न सकेमा वरीयताक्रममा टेस्ट राष्ट्रलाई समेत पछाडि पार्न सक्नेछ।
अहिले टेस्ट राष्ट्र जिम्बावे वरीयताको १४औं स्थानमा छ भने एसोसिएट राष्ट्र नेदरल्यान्ड्स १०औं स्थानमा छ।
टीट्वेन्टी अन्तर्राष्ट्रियको मुख्य वरीयतामा छिर्न कुनै पनि टोलीले खेलेको खेल संख्यालाई आधार मानिन्छ।
यसैगरी १६ टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता भए पनि एकदिवसीय अन्तर्राष्ट्रियको मुख्य वरीयतामा १२ टोलीमात्र रहेका छन्।
१० टेस्ट टोलीबाहेक आयरल्यान्ड र अफगानिस्तानमात्र मुख्य वरीयतामा छन्।
स्कटल्यान्ड, हङकङ, यूएईलगायतका टोलीसँग समेत एकदिवसीय अन्तर्राष्ट्रिय स्तरको मान्यता रहे पनि उनीहरू मुख्य वरीयतामा छैनन् । नेपाल एकदिवसीय क्रिकेटको विश्व वरीयताक्रममा भने २०औं स्थानमा छ।
मुख्य वरीयतामा प्रवेश पाउन कम्तीमा सम्बन्धित स्वरूपको क्रिकेटमा अन्तर्राष्ट्रिय मान्यता पाएको हुनुपर्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको हकमा राम्रो नतिजा पनि निकाल्नु आवश्यक छ।
राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालले नेपाल आईसीसीको मुख्य वरीयताभित्र पर्नु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा आफ्नो स्तरमा अझ सुधार ल्याउन चुनौती पनि थपिएको विचार व्यक्त गरे।
‘हामीले एक वर्षअघि टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाए पनि त्यो अनुपातमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर भने पाएनौं।
आगामी दिनमा भारतजस्ता बलिया टोलीले १० वटा प्रतियोगिता खेले भने हामीले पनि कम्तिमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने वातावरण बनाउन सक्नु पर्छ’, उनले भने।