महिलाको सक्रियतापछि दिनभर जुवातासमा रम्ने पुरुषमा परिवर्तन

616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumbसङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ग्रामीण क्षेत्रमा जनचेतना जगाउन सफल बनेको छ ।
अधिकांश जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमार्फत सञ्चालित उक्त कार्यक्रमले विकास निर्माण प्रक्रियामा जनताको सहभागिता बढाउनसमेत ठूलो योगदान पुर्‍याएको सरोकारवालाले बताएका छन् ।
स्थानीयस्तरमा सरकारका सेवा प्रभावकारी बनाउन र समावेशी विकासमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि सरकारले यो कार्यक्रम दातृ निकायको सहयोगमा सञ्चालन गरेको हो । यसमा स्थानीय नागरिक तथा सामुदायिक संस्थासमेत प्रत्यक्ष रुपमा संलग्न छन् ।
स्थानीय निकायको सहयोगमा सञ्चालित सरसफाइ, खानेपानी, सामुदायिक भवन र शौचालय निर्माणका योजनाले स्थानीयस्तरमा आधारभूत सेवा उपलब्ध भएका छन् । साथै जनसहभागिताले ग्रामीण क्षेत्रको शिक्षाबाट वञ्चित जनतामा चेतना जगाउनसमेत सहयोग पुगेको ज्यामरुङ गाविस–१ की कृष्णकुमारी थापामगरले बताइन ।
शौचालय निर्माणसँगै आएको चेतनाले जिल्लालाई खुला दिसामुक्त बनाउने अभियान अघि बढेको बताउँदै थापामगरले भनिन, “स्थानीय विकासका आयोजनाको छनोट, प्राथमिकता निर्धारण, गाउँ साक्षरता अभियानलगायतका काममा स्थानीयको सक्रिय सहभागिता बढेको छ ।” मानिसहरु शौचालय जान थालेपछि विभिन्न रोगको सङ्क्रमण रोकिनुका साथै सडक–गल्लीमा हिँड्नसमेत सहज भएको उनको भनाइ थियो ।
धादिङको ढोला गाविसमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत सुरु भएको घैंटो निर्माण कार्यक्रमले खानेपानी लिन टाढा जान बाध्य महिलाको दिनचर्यामा परिवर्तन ल्याएको स्थानीयले बताएका छन् । विकास निर्माणका कार्यक्रमसँगै समुदायमा नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्च गठन भई आफ्ना समस्याका बारेमा छलफल गर्ने संस्कृतिको विकास भएको देखिन्छ ।
स्थानीय निकायबाट सञ्चालित योजनाले ग्रामीण क्षेत्रमा आधारभूत सेवा प्राप्त गर्न सहज भएको स्थानीय बासिन्दा दण्डपाणि कडरियाको भनाइ छ । कार्यक्रमबाट गाविसमा खानेपानी, सरसफाइ, सामुदायिक भवनको सुविधा प्राप्त भएको उनले बताए । “स्थानीय निकायको सहयोगमा गाउँमा शौचालय र विद्यालय पनि निर्माण भएका छन्”, उनले भने ।
जिल्लाकै बुढाथुम गाविसमा गठन भएको पारिजात नागरिक सचेतना केन्द्रको अगुवाइमा जाँडरक्सी खाएर होहल्ला गर्ने र दिनभर जुवातासमा रम्ने कतिपय पुरुषमा महिलाको सक्रियतापछि परिवर्तन आएको स्थानीयवासीको भनाइ छ ।
ग्रामीण क्षेत्रमा विकास निर्माणमा नागरिक वडा समिति र गाउँ नागरिक मञ्चको बैठकमा स्थानीयले सक्रिय सहभागी भई चासो राख्ने गरेको धादिङ जिविस कार्यालयले बताएको छ । कार्यालयले ग्रामीणस्तरमा साना कार्यक्रमदेखि हालै गएको विनाशकारी भूकम्पमा पनि विभिन्न राहतका काम गरेको जानकारी गराएको छ ।
स्थानीयस्तरमा ग्रामीण सडक तथा पूर्वाधारको निर्माण एवम् मर्मत गर्नुका साथै प्रत्येक गाविसमा राहतस्वरुप सरकारले प्रदान गर्ने रु १५ हजारसमेत वितरण गरेको स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले बताए । थापाका अनुसार स्थानीयस्तरका कार्यक्रमले पिछडिएका वर्ग, जाति तथा महिलालाई सामाजिक तथा आर्थिकरुपमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तित्व विकासमा समेत प्रभाव पारेको छ ।
सो कार्यक्रमअन्तर्गत जिल्लाका ढोला, बूढाथुम, तसर्पु, ज्यामरुङ, धुवाँकोट, कटुन्जे, सेमजोङ, फूलखर्क, किरान्चौक, आगिन्चौक, बसेरी, झार्लाङ, कुम्पुर गाविसमा पानी सङ्कलनका लागि घैंटो निर्माण, विद्युतीकरण, सामुदायिक भवन, खानेपानीलगायतका योजना सञ्चालन गरेको जिल्ला शासन विज्ञ फणीन्द्र खड्काले जानकारी दिए ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममार्फत महिलाले आयआर्जनका काममा सहभागी भएर आफ्नो आर्थिक उन्नतिसमेत गर्दै गएका छन् । उनीहरु सामूहिक रुपमा माछापालन, तरकारी खेती र सीपमूलक तालिम लिएर आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको देखिन्छ । रासस