धर्मकांटाको नाममा करोडौंको राजस्व ठगि

881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धार्के ( धादिङ), – ट्रक यातायात व्यवसायी संघ नेपाल केन्द्रिय कार्यालय बल्खु काठमाण्डौंको नामबाट धार्केमा संचालन गरिएको धर्मकांटाबाट दैनिक लाखौं रुपैया राजस्व ठगि हुने गरेको पाईएको छ ।

DSC_0795मालवाहक सवारी साधनहरुको भार परिक्षणका निम्ति संचालन गरिएको धर्मकांटाले धेरै सामान वोक्ने सवारी साधनवाट रकम लिएर परिक्षणनै नगर्ने गरेको पाईएपछि प्रहरीले धर्मकांटाको अनुसन्धान शुरु गरेको छ । धादिङको नौविसे गाविसको धार्के स्थित पृथ्वीराजमार्गमा धर्मकांटा संचालनको नाममा राजस्व ठगि गरि सवारी साधनबाट जवरजस्ति रकम असुल गर्ने गरेको पाईएपछि अनुसन्धान शुरु गरिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।
ट्रक यातायात व्यवसायी संघ नेपाल केन्द्रिय कार्यालय बल्खु काठमाण्डौंको नामबाट धार्केमा संचालन गरिएको धर्मकाँटामा मालवाहक सवारी साधनहरुको भार परिक्षण नगरि उल्टै ओभरलोड भनेर रसिद काटी संघले गैरकानूनी ढंगबाट असुलि गरेको पाईएपछि प्रहरीले मध्यरातमा धर्मकांटामा छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ ।
धादिङका प्रहरी नायव उपरिक्षक मल्लको नेत्तृत्वमा गएको प्रहरी टोलीले शनिवार राती १२ वजे धर्मकांटामा छापामार्दा विभिन्न मालवाहक नेपाली तथा भारतीय ट्रकबाट रकम असुल गरेको रसिद फेला परेको थियो । संस्थाको नाममा धर्मकांटा संचालन गरि राजस्व ठगि गरेको पाईएकोले संस्थाको सम्पूर्ण गतिविधि छानविन शुरु गरिएको पनि मल्लले वताउनु भयो ।
DSC_0802धर्मकांटामा भारतीय नम्बर प्लेटका मालवाहक सवारी साधनहरुवाट जवरजस्ति पांच हजार सम्म रकम लिनुका साथै नेपाली नम्बरका ट्रकहरुबाट पनि संस्थाको रसिदमा ओभरलोड भन्दै जरिवानाको नाममा गैर कानूनी ढंगले रकम उठाउने गरेको पाईएकाले संस्था बिरुद्ध जबरजस्ति चन्दा,गैर कानूनी कार्य गरेको आरोपमा मुद्धा दायर गरिने प्रहरी प्रमुख मल्लले वताउनु भएको छ ।
भारवाहन क्षमता भन्दा धेरै सामान वोकेर आउने सवारी साधनहरुलाई धर्मकाँटाले कुनै परिक्षण नगरि एकमुष्ट रसिद काटेर रकम लिने गरेको पाईएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो । भारतको राजस्थानबाट मार्वल वोकेर काठमाण्डौं आउंदै गरेको ११ वटा ट्रक शनिवार राती १२ वजे धर्मकांटामा पुगेपनि त्यहांका कर्मचारीले कुनैपनि ट्रकको भारवहन परिक्षण गरेका थिएनन । धर्मकाँटा पार गरेर खानीखोला पुगेका ति ट्रकलाई नियन्त्रणमा लिएर धर्मकांटा रहेको स्थानमा फर्काएर प्रहरीले ति सबै ट्रकको भार जांच गर्दा ३५ देखि ४७ टन सम्म सामान वोकेको पाईएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो ।
DSC_0815यातायात व्यवस्था विभागले ट्रक यातायात व्यवसायी संघ नेपालसंग समन्वय गरी २०६६ सालमा पृथ्वीराजमार्गको धार्केमा धर्मकाँटा संचालनमा ल्याएपनि यातायातका कर्मचारी धर्मकाँटामा नआउने गरेकाले संस्थाले तौल परिक्षण र गैरकानूनी जरिवानाको मौका पाएको प्रहरी अनुसन्धानले देखाएको छ । विभागले दुई जना कर्मचारीलाई साताको पालो खटाउने गरेपनि अहिले सम्म विभागका कर्मचारी धार्केमा नआएको संस्थाका एक कर्मचारीले वताए । सरकारी निकायनै गैर जिम्मेवार भएका कारण एउटा संस्थाको नाममा अनियमितता बढ्न गएको प्रहरीको ठहर छ । धर्मकाँटाका नाममा ट्रक यातायात व्यवसायी , विभिन्न राजनैतिक दल निकटका यातायात मजदुर ट्रेड युनियन र चुल्ठे मुन्द्रले मोजमस्ति गरि अरवौं राजस्व ठगि गरिरहेको प्रहरीको दावी छ ।
राजमार्गमा ढांट राखि कुनै किसिमको चन्दा,सहयोग भन्दै रकम उठाउनु गैर कानूनी कार्यभएकाले ट्रक यातायात व्यवसायी संघ नेपालले धर्मकांटाको नाममा राज्यलाई ठगिगरिरहेकाले संस्थाविरुद्ध भ्रष्टाचार, जालसाली, जवरजस्ति चन्दा असुली बिरुद्ध मुद्धा लगाई कानूनी कारवाही अघि बढाईने प्रहरी प्रमुख मल्लले वताउनु भयो ।
पृथ्वीराजमार्गको धार्के हुंदै दैनिक ३ हजार भन्दा बढी मालवाहक सवारी साधन राजधानी भित्रने गरेकोमा सिमित सवारी साधनको मात्र भार परिक्षण गरेर बढी भार वोक्ने सवारी साधन संग रकम असुल हुने गरेको गुनासो आएपछि यस बिषयमा अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिनु भयो । दण्ड सजायं दिने, जरिवाना असुल गर्ने अधिकार कानून वमोजिम तोकिएका निकायलाई मात्र हुने भएकाले कुनै पनि संस्थाले कोही कसैसंग गलत वाटोबाट रकम असुल गरे त्यस्तो कार्यमा संलग्न हुनेलाई कारवाही गरिने प्रहरीले वताएको छ ।
धेरै भारवहन क्षमता भएका सवारी साधनका कारण राजमार्गमा सवारी जाम बढ्नुका साथै, सडकको पिच भत्कने कार्य बढ्दै गएकाले नेपालको सडकको क्षमता भन्दा बढीभार वोक्ने सवारी साधन रोकिनुपर्ने प्रहरीको भनाई छ । धर्मकांटाको नामबाट भईरहेको गैरकानूनी कार्यमा संलग्न भएकाहरु जो जो भएपनि ति सबैलाई कानूनी दायरामा ल्याएर यस्ता कार्य रोकेर छाड्ने प्रहरी नायव उपरिक्षक मल्लले वताउनु भयो । संस्थाको नाममा ट्रकहरुसंग रकम लिन पाउने कानूनी मान्यताका बिषयमा अनुसन्धान गरि यस कार्यमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याएर छाडिने मल्लले वताउनु भएको छ ।
DSC_0827प्रहरीले कागजपत्र नियन्त्रणमा लिई छानविन शुरु गरेपछि धर्मकांटामा खटिएका संस्थाका कर्मचारीले राती देखिनै निःशुल्क परिक्षण शुरु गरेका थिए । काउण्टरवाट अुसल गरिएको रकम र रकम उठाउन प्रयोग हुने रसिदको अर्धकट्टी प्रत्येक दिन काठमाण्डौं लगिने भएकाले अहिले सम्म संकलन गरिएको रकमको जानकारी दिन नसकिने धर्मकांटाका कर्र्मचारीहरुले वताएका छन ।