कहिलेसम्म पालको बास?
746 पटक पढिएको
धादिङवेशी: भुकम्प गएको साढे तीन महिना भन्दा भइसक्दा पनि विस्थापित सामुहिक रुपमा त्रिपालमा नै बसिरहेका छन्।
अधिकाँश शिविरहरुमा बालबालिका तथा महिलाहरुमा विभिन्न रोगका संक्रमण देखा पर्न थालेको छ। भुकम्पबाट विमनिष दुवाडीस्थापित भएकाहरुको ब्यवस्थापन कार्य जटिल बन्दै गएको छ।
जिल्ला दैवि प्रकोप उद्धार समितिले विस्थापितहरुको दीर्घकालिन पुनस्थापनाका लागि अहिलेसम्म कुनै ठोस कार्ययोजना ल्याउन सकेको छैन। थौरै खुल्ला ठाउँमा धेरै परिवार बस्नुपर्दा अप्ठ्यारो त भएको छ नै सरसफाइ र शिविर ब्यवस्थापनमा ध्यान दिन नसक्दा भुकम्प पिडित विस्थापित शिविरहरुमा विरामीहरुको संख्या बढ्न थालेको छ।
विनाशकारी भुकम्प र त्यसपछि लगातार पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्व भन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ। भुकम्पमा परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका छन। विशेष गरेर धादिङको उत्तरी क्षेत्र भुकम्पका कारण सवैभन्दा बढी प्रभावित बनेको छ।
सडक सञ्जालले पनि नछोएको धादिङको उत्तरी क्षेत्रका पाँच गाउँ विकास समितिहरु लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ र री गाउँ विकास समितिमा मात्रै १६३ जनाले ज्यान गुमाए भने ५० भन्दा बढी गाउँ र बस्तीहरु नै स्थानान्तरण गरिएको छ। भुकम्पका कारण उत्तरी क्षेत्रका धेरैजसो बस्तीहरुमा पहिरोको जोखिम बढेको छ।
डाँडा तथा पहरा मुनी रहेका अधिँकाश बस्तीहरु त विस्थापित नै भएका छन्। पहिरोको जोखिमले गर्दा जिल्लाका २५ सय घर धुरी विस्थापित भएका छन्। विस्थापितहरु कोही सदरमुकाम छेउछाउमा बसोबास गरिरहेका छन् भने कोही सम्बन्धित गाउँका वनमा त्रिपाल टाँगेर बसिरहेका छन्।
भुकम्पबाट अति प्रभावित भएको उत्तरी क्षेत्रका ५ गाउँ विकास समिति सहित १६ वटा गाउँ विकास समितिको ६५ वटा बस्तीका भुकम्प पिडितहरुलाइ जिल्ला दैवि प्रकोप उद्धार समितिले सदरमुकाम आसापासका विभिन्न १२ वटा शिविरहरुमा अस्थायी बसोवास गर्ने ब्यवस्था मिलाएको छ।
जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘हामीले तीन महिने कार्ययोजना बनाएर विभिन्न गाउँ विकास समितिहरुवाट विस्थापित भएर आएका भुकम्प पिडितहरुको लागि बस्न ब्यक्ति जग्गा र पर्ती जग्गामा शिविरहरु खडा गरेका छौँ।’
दिनहुँ शिविरमा गाउँवाट झरेका विस्थापितहरुको सङ्ख्या बढ्दै जाने र शिविरहरुमा खानेपानी तथा शौचालयको सही ब्यवस्थापन हुन नसक्दा विस्थापितहरुको दैनिकि कष्टकर बन्दै जान थालेको छ।
‘चर्को घाम लागे गर्मी भएर त्रिपाल छोडेर रुखमुनी गएर बस्नु परेको छ, अलिअलि पानी परेर हुरी बतास आउन थालेपछि त्यही त्रिपाललाइ समातेर भएको लत्ताकपडा र राहतमा पाएको अन्नपात बचाउन परेको छ।’
भुकम्प पछि तिप्लिङवाट विस्थापित भएर अल्छीडाँडाको शिविरमा बसिरहेका विस्थापित विष्णु बहादुर तामाङले भने, ‘गाउँमा जाउँ पहिरोको जोखिमले बस्न सक्ने अवस्था छैन नजाउँ यस्तो तालले कतिदिन त्रिपालमा बस्ने? ‘
विशेषगरि सुत्केरी र गर्भवती महिला, बालबालिका र बृद्धबृदालाइ खान र बस्न र राम्रो व्यबस्था हुन नसक्दा उनीहरु बढी पिडित भएका छन। गर्भवती र सुत्केरी भएको बेलामा पौष्टिक खानेकुराहरुको आवश्यक पर्ने भएपनि ती आवश्यकता पुरा नुहुँदा आमा र बच्चाको स्वाथ्यमा असर पुग्ने देखिन्छ।
सांकोषको दामगाडेमा री गाउँ विकास समितिबाट विस्थापित भएर आएका बृद्ध आइतसिंह लामाले भने ‘यहाँ बस्न त साह्रै गाह्रो भइसक्यो। गाउँमा हुदाँ फुर्सदको समयमा डोकाडाला बुनिन्थ्यो यहाँ त त्यो काम पनि पाएको छैन। सधै अरुले दिएको खाएर कतिन्जेल बस्ने? ‘
शिविरहरुमा नक्कली पीडित
भुकम्प पछि विस्थापित भएर बसेका शिविरहरुमा नक्कली भुकम्प पिडितहरुपनि बढेका छन। सदरमुकाममा घर निर्माण गरेका, दशकौंदेखि व्यापार गरिबसेका, श्रीमान विदेश गएपछि केटाकेटी पढाउन सदरमकाम मै कोठाभाडामा बसेकाहरू पनि अस्थायी शिविरमा त्रिपाल हालेर राहत लिने गरेका छन।
जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘हामीले तीन महिने कार्ययोजना बनाएर विभिन्न गाउँ विकास समितिहरुवाट विस्थापित भएर आएका भुकम्प पिडितहरुको लागि बस्न ब्यक्ति जग्गा र पर्ती जग्गामा शिविरहरु खडा गरेका छौँ।’ दिनहुँ शिविरमा गाउँवाट झरेका विस्थापितहरुको सङ्ख्या बढ्दै जाने र शिविरहरुमा खानेपानी तथा शौचालयको सही ब्यवस्थापन हुन नसक्दा विस्थापितहरुको दैनिकि कष्टकर बन्दै जान थालेको छ।
शिविरमा उनीहरूको त्रिपाल मात्रै हुन्छन सुत्ने र भान्सा बजारकै कोठाहरुमा हुन्छ। सदरमुकाममा त्रिपालमा बसेका १ हजार ४५ घरधुरीको तथ्याङक जिल्ला दैवि प्रकोप उद्धार समितिसंग छ तर शिविरमाहरुमा भने त्यतीको सङख्यामा विस्थापितहरु भेटिदैनन।
काम खोज्दै छन विस्थापित
विस्थापित शिविरहरुमा रहेका बलिया र युवाहरुले काम खोज्न थालेका छन । विस्थापितहरुको उचित पुनस्थापना गर्ने योजना सरकारले बनाइरहेपनि त्यो प्रभावकारी हुन नसकिरहेको बेला विस्थापित शिविरहरुमा गास वास र कपासको समस्या जटिल बन्दै थालेपछि काम गर्न सक्नेहरु कसैले काम दिएको खण्डमा काम गर्ने बताएका छन।
सुरुका केहीदिनमा राहतको ओईरो लागेपनी विस्तारै विस्थापित बस्तीहरुमा खाद्यान्न तथा गैर खाद्यान्न सामाग्रीहरु कम हुदै गएपछि विस्थापितहरुलाइ कसरी गुजारा चलाउने चिन्ता थपिएको छ। री गाउँ विकास समितिवाट बिस्थापित भएका बिशाल तामाङ भन्छन, ‘संघ सस्थाले दिने राहत कतिन्जेलसम्म आउला र ?
विस्थापित शिविरका दुइ तिहाइ ब्यक्ति काम गरेर खान सक्ने अवस्थामा छन। तिनिहरुलाइ अस्थायी र केही समयका लागि भएपनि रोजगारीको अवसर हुने हो भने विस्थापितहरुको केही समस्या त हल हुन्छ।’
उत्तरी क्षेत्रका गाविसहरु रि, झार्लाङ, सेर्तुङ, तिप्लिङ र लापाका विभिन्न गाउहरुबाट विस्थापित भएर सदरमुकाम आसपासका विभिन्न ठाउँहरुमा बसिरहेका भुकम्प पिडितहरु यतीबेला क्षणिक राहतको सट्टामा उचित पुनर्वास र रोजगारीको माग गरिरहेका छन।
सरकारले पुर्नवास गराउने त भनेको छ, तर खेतीकिसानी गरेर गुजारा गरिरहेको ठाउँ छा्डन परेपछि सीप अनुसारको रोजगारीको व्यवस्था गर्न सके राज्य तथा अन्य संस्थाको राहतको भरमा बस्नु नपर्ने विस्थापितहरु बताउछन्।
गाउँमा बुढापाका मात्रै
धादिङका उत्तरी बस्तीमा यतिखेर युवायुवतीहरू नै भेटिदैनन। जोखिममा रहेका गाउँहरु त पुरै विस्थापित भएका छन भने सुरक्षित रहेका गाउँहरुवाट सरकारी राहतको आस गर्दे युवा सदरमुकाम झरेका छन।
तामाङ समुदायको मात्र बसोबास रकेको उत्तरीबस्तीहरुमा स्वास्थ्य शिविर होस या राहत वितरण, अधिकाँश बूढापाकाहरु मात्र भेटिन्छन । तिप्लिङ गाउँ विकास समितिका सहायक बुद्धि थापा भन्छन, ‘भुकम्प पछि युवाहरु गाउँमा बस्नै छाडेका छन। सुरक्षित रहेका बस्तीहरुमा पनि बुढापाका मात्रै भेटिन्छन।’
उत्तरी धादिङका दर्जनौं तामाङ बस्ती यतिखेर युवाविहीन भएको छ। भूकम्पपीडितलाई सरकारले सदरमुकाम वा तराईमा घडेरी दिने गलत प्रचारले वृद्ध आमाबावुलाई जोखिमयुक्त बस्तीमा छोडेर सदरमुकाम झर्नेहरु बढेका छन।
-अन्नपूर्णबाट