२० वर्षमा रोजगारीका लागि ३४ लाख बढी नेपाली विदेशिए  

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bideshकाठमाडौं–  सरकारले ०४२ साल पुस महिनादेखि वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरूलाई सरकारले लाइसेन्स प्रदान गरेसँगै व्यवस्थित र आधिकारिक रूपमा नेपालीहरू वैदेशिक रोजगारी खुलेको थियो ।

०४२ सालमा म्यानपावर सञ्चालनका लागि सरकारले लाइसेन्स दिएर कामदारलाई रोजगारीमा विदेश पठाउन थाले तापनि आव ०४२/४३ देखि ४९/५० सम्म रोजगारीमा कामदार पठाएको तथ्यांक सरकारले राखेको छैन । सरकारले हालसम्म १ सय ९ राष्ट्रमा रोजगारीका लागि अनुमति प्रदान (खुला) गरेको छ । छिमेकी मुलुक भारत पनि नेपालका लागि रोजगारीको महत्वपूर्ण गन्तव्य मानिन्छ । यद्यपि, अरु मुलुकमा जस्तो भारतमा रोजगारीका लागि जान विभिन्न प्रक्रिया पार गर्नुपर्ने अवस्था छैन । सरकारले १ सय ९ मुलुकमा रोजगारीका लागि अनुमति दिए तापनि भारतमा रोजगारीका लागि जाने कामदारको संख्यामा पनि कुनै कमी आएको देखिँदैन ।
आव ०५०/५१ देखि ०७०/७१ सम्मको सरकारी तथ्यांकलाई हेर्ने हो भने विदेशिने कामदारको संख्या ३४ लाख १३ हजार ८ सय ४२ रहेको छ । यो बाहेक सरकारले प्रतिबन्ध लगाएका मुलुकमा पनि रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य छ ।
सरकारी आँकडाअनुसार विदेशिने नेपालीको संख्या, आव ०५०/५१ मा ३ हजार ६ सय ५ जना, ०५१/५२ मा २ हजार १ सय ५९ जना, ०५२/५३ मा २ हजार १ सय ३४ जना, ०५३/५४ मा ३ हजार २ सय ५९ जना, ०५४/५५ मा ७ हजार २ सय ५५ जना, ०५५/५६ मा २७ हजार ७ सय ९६ जना, ०५६/५७ मा ३५ हजार ५ सय ४३ जना, ०५७/५८ मा ५५ हजार २५ जना, ०५८/५९ मा १ लाख ४ हजार ७ सय ३६ जना, ०५९/६० मा १ लाख ४ हजार ९ सय ७१ जना रहेको पाइएको छ ।
त्यस्तै आव ०६०/६१ मा १ लाख ६३ हजार ३३ जना, ०६१/६२ मा १ लाख ३९ हजार ७ सय १८ जना, ०६२/६३ मा १ लाख ६५ हजार २ सय ५२ जना, ०६३/६४ मा २ लाख ४ हजार ५ सय ३३ जना, ०६४/६५ मा २ लाख ४९ हजार ५१ जना, ०६५/६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, ०६६/६७ मा २ लाख ९४ हजार ९४जना, ०६७/६८ मा ३ लाख ६० हजार १ सय १७ जना, ०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना, ०६९/७० मा ४ लाख १५ हजार ८ सय १८ जना तथा ०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ जना रहेका छन् ।
२० वर्षको सरकारी आँकडालाई हेर्दा हरेकवर्ष विदेशिने नेपाली कामदारको संख्या बढेको पाइन्छ । यो तथ्यांक वैधानिक बाटोबाट मात्र बिदेशिने कामदारहरूको हो । अवैध रूपमा विदेशिनेहरू पनि उल्लेख्य रहेको विभिन्न स्रोतहरूले जनाएको पाइन्छ । यो २० वर्षमा सबैभन्दा थोरै ०५२/५३ मा २ हजार १ सय ३४ जना तथा सबैभन्दा धेरै आव ०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ जना विदेशिएको सरकारी आँकडा रहेको छ ।