प्रेममा अनौठो बदला : श्रीमतीको बदला श्रीमती

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साउन ३२ – नाताले भाइ पर्ने (फुपुको छोरा) ले श्रीमती भगाएपछि रिसले आगो भएका एक व्यक्तिले उनको पत्नीलाई भगाएर अनौठो बदला लिएका छन् ।

घटना हो– अमरैया टोल, खडगपुर–७ सप्तरीको । सुरुमा गाउँमा पटकपटक पञ्चायत बसी मुद्दा मिलाउन खोजिएको थियो । तर, समस्या समाधान नहुने भएपछि दुवै पक्षले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । अनि, घटना सार्वजनिक भएको हो ।

उजुरीअनुसार खड्गपुर–७ का ३५ वर्षीय उमेशराम रोजगारीका लागि पाँच वर्षअघि मलेसिया गएका थिए । नाताले भाइ पर्ने (फुपुको छोरा) सप्तरीकै लालापट्टी–४ का ३० वर्षीय भोलाराम उमेशरामभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।

मलेसियाबाट बेलाबेला भोलाराम घर फर्कन्थे । उमेशरामले भोलासँग आफ्नी ३० वर्षीया पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षको अवधिमा पटकपटक गरी भोलामार्पmत पत्नी तारादेवीलाई १२ लाख रुपैयाँ पठाइएको थियो ।

रकम पु¥याउन जाँदा भोलाको भाउजु तारासँग प्रेम बस्यो । चार सन्तानकी आमा तारा र एक वर्षअघि मात्र भारतको वीरपुरकी सरितासँग विवाह गरेका भोलाबीच लसपस बढ्न थाल्यो ।

एक दिन भित्रबाट चुकुल लगाई भोला र तारा कोठाभित्र रहेको अवस्थामा छरछिमेक र गाउँले जम्मा भई दुवैलाई कुटपिट गर्दै गाउँकै पत्थरगाडा प्रहरी चौकीमा पु¥याए ।

त्यहाँ दुवैले अब उप्रान्त कुनै सम्बन्ध नराख्ने बताएपछि गाउँकै भद्र–भलादमीको रोहबरमा छाडिएको थियो । तर, दुवैको भेटघाट हुने क्रम भने रोकिएन । हुँदाहुँदै एक दिन मौका पाएर जेठी छोरी रविनालाई घरमै छाडी तीन सन्तानसहित तारा भोलासँग गइन् । दोस्री पत्नीको रुपमा चार सन्तानकी आमा तारालाई भोलाले घर भित्र्याएपछि सरिता पनि रिसले आगो भइन् । उनले धेरै विरोध र आपत्ति जनाए पनि कुनै सुनुवाई भएन ।

एक दिन गाउँलेले ‘भोलाले तिम्रो पत्नी तारालाई भगाई लगेको र १२ वर्षीया छोरी रवीनाको बिचल्ली भएको’ खबर मलेसियामा रहेका उमेशलाई फोनमार्पmत सुनाए । खबर पाएलगत्तै उमेश मलेसियाबाट घर फर्किए । उनले पत्नी तारालाई घर फर्काउन निकै प्रयत्न गरे । तर सफल भएनन् ।

अन्त्यमा गाउँलेको मद्दतले तीन सन्तानलाई भने उनी ताराबाट ल्याउन सफल भए । रहँदाबस्दा किनमेलका लागि हाटबजार निस्किँदा भोलाकी जेठी श्रीमती सरिता र उमेशबीच हिमचिम बढ्दै गयो । पत्नीबाट धोका पाएका उमेश र पतिबाट धोका पाएकी सरिताको दिनहुँ एकापसमा भेट र पीडा साटासाट सँगै प्रेम गहिरिँदै गयो । अन्ततः दुवैले भागेर बिहे गरे ।

दुवैले एक–अर्काकी श्रीमती भगाएपछि ‘बदला’ पूरा भएको र अब विवाद अन्त्य होला भन्ने ठानिएको थियो । तर, विवाद यतिले मात्र साम्य भएन । दुवैले एक–अर्काबाट असुरक्षित र रकम लेनदेन बाँकी रहेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको छ ।

उमेशले आफू विदेशमा रहँदा दिनरात मिहिनेत गरेर तारालाई पठाएको १२ लाख रुपैयाँ फिर्ता पाउनुपर्ने माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । ‘मैले दुःख गरेर कमाएको पैसाले अरुसँग मोजमस्ती गर्ने ?’ उमेशले भने, ‘मेरो पैसा फिर्ता पाउनुपर्छ ।’

पैसा माग्दा उल्टै धम्क्याउने गरेको उनको गुनासो छ । तारा भने उमेशले पठाएको सबै पैसा साहु–महाजनसँग लिएको ऋण चुक्ता गर्नमै सकिएको बताउँछिन् । यता भोलाले पनि आफू मलेसिया रहँदा दिनरात दुःख गरेर कमाई गरी पठाएको १८ लाख रुपैयाँ जेठी पत्नी सरिता घर छाड्दा लिएर गएको दाबी गर्दै उल्टै आफूले ६ लाख फिर्ता पाउनुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

दुवै पक्षलाई मिलाउन भरमग्दुर प्रयास गरिरहेकी अधिकारकर्मी मनोरमा देवले अब उमेश र भोलाले रकमबारे गरिरहेको आ–आफ्नो दाबी फिर्ता लिनुपर्ने बताउँछिन् । देव भन्छिन्, ‘दुवैले एक–अर्काको श्रीमती भगाएर ‘पाप’ गरिसकेका छन्, अब पैसाको नयाँ झमेला उठाएर विवाद गर्नुको कुनै तुक छैन ।’

घटनालाई अत्यन्तै नजिकबाट नियालिरहेका तथा पटकपटक सो विवाद समाधान गर्न पञ्चायतमा बसेका लालापट्टी–४ का अखिल तराई मुक्ति मोर्चा (अजित समूह)का अध्यक्ष अजित सिंह भनिने अजय यादवले दुवै पक्षले रकमको दाबी छाडी अब नयाँ ढंगले नयाँ जीवनको सुरुवात गर्नु नै बुद्धिमानी हुने बताउँछन् । उनले दुवै पक्षलाई राखेर सोही सुझाव दिएको र दुवैले प्रहरीमा दिएको निवेदन फिर्ता लिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारीमा जाने ग्रामीण क्षेत्रका युवाले यस्तै समस्या खेप्दै आएको पाइन्छ । यस्तो घिनलाग्दो प्रवृत्तिलाई निरुत्साहित नगरिए समाजमा झनै नयाँ–नयाँ विकृति उत्पन्न हुन्छन् ।’

उक्त अनौठो प्रकृतिका घटना पहिलोपटक निवेदनमार्पmत आएपछि प्रहरी पनि अलमलमा परे । प्रहरी निरीक्षक लालध्वज सुवेदीले गाउँकै भद्र–भलादमीको उपस्थितिमा विवाहको विषय सहमतिमै टुंगिए पनि लेनदेनको विवाद समाधान हुन नसकेको बताए ।

लेनदेनको विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षलाई कानुनी उपचारको बाटो रोज्न सल्लाह दिएर पठाएको उनले बताए ।