२२ वर्षपछि फर्किएको खुसी

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal_wonn_u-19_saff_championship_football_594220415

काठमाडौं : पहिलो यु–१९ साफ च्याम्पियन्सिप फुटबल को उपाधि नेपालले जितेको छ । नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै नेपालले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएको हो । नेपालले बलियो र चिर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो ।

शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो । नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्णर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए ।

उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जाली चुमाएका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल पस्केको थियो ।

आजको खेलमा विमल घर्तीमगरका दर्जनौं प्रयासलाई भारतीय रक्षकले असफल बनाइदिए । खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म नेपालले उपाधि घरैमा राख्ने अवस्था थियो ।
तर खेलको ८८ औं मिनेटमा नेपालका दिनेश राजबंशीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले खेललाई बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि गरिएको टाई ब्रेकरमा अन्ततः नेपालले बाजी मार्‍यो । टाई ब्रेकरमा भारतको पहिलो प्रहार नेपाली रक्षक सुजन गुरुङले बचाउ गर्नु नै नेपालको उपाधि जित्न पर्याप्त भयो ।

भारतका मोइनुदिनको प्रहार गुरुङले बचाउ गरी बाहिर पठाइदिए । त्यसपछि नेपालका लागि हेमन्त थापा मगरले गोल गरे । त्यसलगत्तै भारका ह्यादिनको प्रहार पनि गोलमा परिणत भयो । त्यसलगत्तै नेपालका सुनिल बलको प्रहार गोलमा परिणत भएर नेपालले अग्रता लियो ।

भारतका लागि पुनः सार्थक गौलीले गोल गरे । त्यसपछि नेपालका लागि विश्वास श्रेष्ठको प्रहार पनि गोलमा परिणत भयो । भारतका लागि डानियलले पनि गोल गर्न चुकेनन् ।
फेरि गोल गर्ने पालो नेपालको थियो । यति खेर दोन थापा गोल गर्न सफल भए । त्यसपछि भारतका सहबाजले अर्को गोल गर्दै उपाधिको आशा जीवितै राखे ।

अन्तिम निर्णायक घडीमा नेपालका लागि अनन्त तामाङले कुनै गल्ती नगरी गोल गरेपछि नेपाले साफ च्याम्पियनसिपसँगै नेपालीलाई २२ वर्षपछि खुसी दियो ।