अझै पनि चौतारोमा स्कुल

729 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –बैशाख १२ गते गएको महाभूकम्पले विद्यालयको आरसिसी भवन चर्कियो। जिल्ला शिक्षा कार्यालयबाट आएको प्राविधिक टोलीले भवनलाई असुरक्षित घोषणा गर्दै रातो स्टिकर टाँसेर गयो।केवलपुर–८ भोटेडाँडास्थित सरस्वती प्राविका बालबालिकाको पढाई पक्की भवनबाट चौतारोमा सर्न बाध्य भयो।

बरपिपलको फेदमा केटाकेटी जम्मा गरेर पढाउँदा घाम त जसो तसो छेक्छ पानी परेका बेला पढाइ नै बन्द गरेर बस्नु पर्ने बाध्यतामा परेको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद आचार्यले बताए।
IMG_9785 (1)

खुल्ला आकामुनी चौतारोमा बसेर पढ्दै सरस्वती प्रावि केवलपुर धादिङका बालबालिका ।

अधिकांश विपन्न दलित समुदायका बालबालिका पढ्ने सो विद्यालयको अवस्थाबारे जानकारी पाएपछि संखुवासभाको खाँदबारीमा जन्मिएर २६ वर्ष देखि अमेरिकाको कोलोराडो बस्दै आएका जीवनकुमार श्रेष्ठले विद्यालयलाई दुई कोठे अस्थाई सिकाइ केन्द्र निर्माण गरिदिएका छन्

। श्रेष्ठको एक लाख ५० हजार लागतमा निर्माण सम्पन्न भएको केन्द्रको हस्तान्तरण गरिएको छ । कोलोराडोमा जीवन–रेणु ट्रष्ट मार्फत सनातन मन्दिर स्थापना गरेको श्रेष्ठले सो मन्दिर र आफ्नो एभरेष्ट नेपाल रेष्टुरेण्टको दान पेटिकामा जम्मा भएको रकम नियमित रुपमा सो विद्यालयलाई उपलव्ध गराएर अक्षय कोष स्थापना गर्ने श्रेष्ठले बचनबद्धता गरे । बाबुआमा र श्रीमान श्रीमतीको नाममा अक्षयको स्थापना गरेका श्रेष्ठले एक लाखको अक्षय कोष स्थापना गरेका छन्।

सो रकमबाट प्राप्त हुने ब्याजबाट पहिलो वर्ष पाँच जना छात्रछात्रलाई छात्रबृत्ति प्रदान गर्ने श्रेष्ठले बताए । ‘यो सुरुवात हो,’ श्रेष्ठले भने, ‘मन्दिरको दान पेटिकामा जम्मा हुने रकम हरेक वर्ष विद्यालयको संरक्षणमा सञ्चालन हुने कोषमा जम्मा गरेर सबै बालबालिकालाई निःशुल्क पढ्ने व्यवस्था गर्छु ।’ कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा ६५ जना बालबालिका अध्ययन गर्ने शिक्षिक सृजना भुजेलले जानकारी दिइन्।

सबै बालबालिकालाई चौतारोमै पढाउँदै आएकामा दुई वटा केन्द्रले पनि ठुलो सहायता मिलेको शिक्षिका भुजेल बताउँछिन् । उनी भन्छिन्,’अव पानी परे पनि विद्यार्थीलाई भिजाउँदै घर जाउ भन्नु पर्ने बाध्यता टरेको छ ।’ पाँच कोठा चाहिने विद्यालयमा दुई वटा अस्थाई केन्द्र निर्माण भए पनि अझै तीनवटा कक्षाका बालबालिकालाई भने चौतारोमै राखेर पढाइने गरिएको छ ।

मन्दिरमा सनातन धर्म मान्ने सबै धर्मावलम्विलाई आफूले चाहेको मूर्तिमा पुजा गर्न मिल्ने गरी शिव, पार्वती, कृष्ण, गणेशलगायतका मूर्र्तिहरु स्थापना गरिएको श्रेष्ठले बताए । नितान्त समाज सेवा र धार्मिक भावले स्थापना गरिएको मन्दिर व्यक्तिगत लगानीमा ३ लाख डलर खर्चिएको उनले जानकारी दिए । मासिक भाडा, ब्राह्मणको तलव भत्ता, रेखदेखमा खर्च भएको बाहेक सामाजिक काममा रकम खर्च गर्ने गरेको श्रेष्ले बताए । नेपाली र भारतीय नागरिक आउने गरेको मन्दिरमा रुद्री, चण्डीलगायतका कर्म काण्डको काम गराइने बताइएको छ ।

-नागरिक न्यूजबाट