‘मैले नयाँ जीवन पाएँ’

589 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – बुटवलबाट दुध बोकेर काठमाडौं तर्फ आउँदै गरेको ट्यांकर पृथ्वी राजमार्गको जोगिमारा–९ ज्यामिरेघाटमा गएराति दुर्घटना हुँदा ट्याकर सहित दुई जना हराइरहेका छन्। राति साँढे १२ बजे नेपाल दुग्ध विकास संस्थानको ग१घ ५४४ नम्बर ट्यांकर सडकबाट करिव ६५ मिटर तल नदीमा खसेको थियो । ट्यांकरमा सवार ३ जना मध्ये दुईको अवस्था अज्ञात रहेको प्रहरी चौकी मझिमटारका प्रहरी नायव निरीक्षक बालकृष्ण भट्टराईले जानकारी दिए।

बेपत्ता हुनेमा ट्यांकर चालक सर्लाही घर भई बुटवल बस्दै आएका छत्रबहादुर थापा र अर्का एक यात्रुको पहिचान खुलेको छैन। ट्यांकरका सहचालक प्रकाश पौडेलको सकुशल उद्वार गरिएको ट्राफिक प्रहरी जवान धीरेन्द्र बिष्टले बताए। मध्यरातमा भएको दुर्घटना सकडमा गुडिरहेका अन्य सवारीले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएका थिए।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले नदी भित्र डुबेर थोरै भाग देखिएको ट्यांकर मुनि चिच्याइ रहेको अवस्थामा प्रहरी र स्थानीय रोयलबीच क्याम्पका कायाकको सहायतमा पौडेललाई उद्वार गरिएको हो। राती करिव दुई बजेतिर कायाक चालक दिपक महर्जन कायाक लिएर नदीमा पसेर सहचालक पौडेलको उद्वार गरेको प्रनानि भट्टराईले बताए।
नदीको बीचमा खसेको ट्यांकरमा सकुशल रहेका सहचालक पौडेलले आफूले नयाँ जीवन पाएको बताए।

पानी भित्र पसेको ट्यांकरमा जीवित रहेका उनी खसेर पानीमा परेपछि आत्तिएर हात हल्लाउँदा झ्याल खुल्लै रहेको बताउँदै उनले भने, ‘झ्यालमा हात परेपछि हावा जस्तो अनुभव गरें। अनि सजिलै बहिर निस्कें। बाहिर निस्किएर कराएँ। अनकन्टार ठाउँमा नदी सुसाईरहेको थियो। त्यतिबेला बाँच्छु जस्तै लागेको थिएन। मलाई बाँच्न लेखेको रहेछ। समयमै उद्वार भएकाले बाँच्न सफल भएँ।’

उद्वार पछि उनले उद्वार गर्ने महजर्न र प्रहरीलाई धन्यवाद दिए। पौडेलको शरीरमा बाहिरी चोट नदेखिए पनि मानसिक रुपमा विक्षिप्त देखिएको बताइएको छ। उनको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार गराइ राखिएको छ।

राति निन्द्रा र पानीका कारण सडकबाट चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। गएरातिदेखि उद्वारमा खटिएको प्रहरी र स्थानीय बिहान पनि डुङ्गा र कायाकको सहायताले बेपत्ताको अवस्थाबारे खोजि गरिरहेका छन्। राति परेका कारण नदी ठूलो हुँदै जाँदा उद्वारमा समस्या थपिएको प्रहरीको भनाइ छ। प्रहरी सूचिमा दुर्घटनाग्रस्त मानिने सो स्थानमा यसअघि बेपत्ता भएका आधा दर्जन सवारीसाधन हालसम्म बेपत्ता रहेको प्रहरीको भनाई छ। (नागरिकन्युज डट कम बाट )