महादेवबेसीमा ट्रिफर पल्टिंदा तीन जनाको मृत्यु

494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ असोज १४पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसी बजारमा रोकिराखेको हाइसमा ठोक्किएर ट्रिपर पल्टिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । साँझ ६ः४५ मा भएको घटनामा अन्य चार जना गम्भिर घाइते छन् ।
करिव दुई घण्टा अघि मात्र सोही स्थानमा सडक विभागको गाडीसंग हाइस माइक्रोबस ठोक्किँदा ७ जना घाइते भएका थिए । दुर्घटना भएर सडक किनारामै रोकिएको बा२ख ४१३१ हाइस माइक्रोबसमा साँघुरो बाटोमा तिब्र गतिमा गुडेको रित्तो ट्रिपर बा३ख ४८२७ ठोक्किएर पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । बाटोमा दुर्घटना गराएर भाग्दै गरेको ट्रिपरका कारण सडकमा हिँडिरहेका मानिस र बाटो क्लियर गर्न सडकमा उभिएको एक जना प्रहरी दुर्घटनामा परेका छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । प्रहरी हवल्दार सुदर्शन देउजा सहित अर्का चार जना गम्भिर घाइतेलाई उपचारका निम्ति काठमाडौं पठाइएको छ ।
ट्रिपरको ठक्करबाट माइक्रोबस करिव ५० मिटर पर उछिट्टिएको छ । तत्कालै स्थानीयले उद्धार गरी बाटो सुचारु गराएका छन् । टिपर चालक फरार रहेको छ ।