धादिङमा इन्धन भर्न लाइन लाग्नु नपर्ने

531 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रशासनले  उचित व्यवस्थापन मिलाउँदा धादिङका सवारीसाधनहरुले इन्धन भर्न घण्टौं लाइन बस्नु पर्ने समस्याबाट मुक्ति पाएका छन् । यातायात व्यवसायी र उद्योग वाणिज्य संघसँगको सहकार्यमा निश्चित तेलकोटा निर्धारण गरेपछि आपूर्ति सजिलो भएको हो।

जिल्ला प्रहरी प्रमुख सविन प्रधानका अनुसार जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने धादिङ यातायात, ग्रामीण यातायात र संयुक्त यातायात समिति, खाद्यन्न ढुवानी गर्ने सवारीसाधनलाई कोटा निर्धारण गरेर तेल दिइएको छ ।

download (3)‘धेरै सवारीसाधन भएको धादिङ यातायातलाई हरेक दिन १७ सय ३० लिटर र अन्य समितिलाई ११ सय लिटर इन्धन उपलव्ध गराइने भएपछि आपसी सल्लाहमा दैनिक  पालैपालो  गरेर समितिको सिफारिसमा तेल भर्ने गरेका छौं,’ धादिङ यातायातका अध्यक्ष अर्जुन  गोर्खालीले भने । समितिले नै कुपन दिने भएपछि रुटका गाडीले पुग्ने गरि इन्धन पाउने र पालो पनि कुर्नु नपर्ने भएको छ ।

जिल्लामा खाद्यान्न र तरकारी बोक्ने ढुवानी साधनलाई उद्योग वाणिज्य संघले सिफारिस दिने गरेको छ । क्रियाशील सञ्चारकर्मी लगायत पत्रिका बोक्ने २ वटा जीप, एम्बुलेन्स, सरकारी सवारीसाधनलाई स्थानीय प्रशासन र प्रहरी आफैंले जिम्मा लिएको छ भने भूकम्प पीडितहरुका लागि काम गर्न आएका संघसंस्थालाई भने इन्धन उपलब्ध गराइएको छैन ।

समितिकै कुपनले तेल उपलव्ध हुने भए पछि जिल्लाका २० वटा ग्रामीण रुटमा सञ्चालित १२ वटा सार्वजनिक सवारीसाधन मध्ये दिनमा ६ वटा चल्ने गरेका छन् । आरुघाट, सिकटार,पोखरा, नारायणगढमा एउटा गुड्ने गरेका छन् । राजधानी आवतजावत गर्ने  दैनिक १ सय सवारीसाधनमा ५० वटा मात्रै गुडेका छन् । तेल अभावमा सार्वजनिक सवारीसाधन सञ्चालन हुन नसके पछि ढुवानी साधनमा पनि यात्रुहरु यात्रा गर्न बाध्य छन् ।

जिल्लामा शुक्रबार राति मात्र ३ हजार लिटर पेट्रोल र ३३ हजार लिटर डिजेल आयात गरिएको थियो । उक्त इन्धन धादिङ सदरमुकाम र पृथ्वीराजमार्गमा सञ्चालित ६ वटा पम्प मार्फत वितरण गरिएको थियो ।