पदमुक्त राष्ट्रपतिलाई मासिक एक लाख १० हजार र दूधालु गाईसहितको सुविधा चाहियो –

338 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Rastrapati-bidaiकाठमाडौं– एक महिनाभित्र शीतल निवास छाडनुपर्ने राष्ट्रपति डा. रामवरण यादवलाई चाहिने सुविधाबारे राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । ‘पद–निवृत्त राष्ट्रपतिका लागि सुविधा प्रबन्धबारे’ शीर्षकमा मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको हो ।
मन्त्रिपरिषद्को कार्यालय स्रोतबाट रातोपाटीलाई प्राप्त उक्त प्रस्तावमा निवृत्तभरणको सामान्य सिद्धान्तअनुसार तलबको कम्तीमा आधा रकम पाउने भएकाले सोही अनुपातमा पद–निवृत्त राष्ट्रपतिका लागि मासिक निवृत्तभरणको रकम ६० हजार राखिएको छ । यो प्रस्ताव राष्ट्रपति कार्यालयले असोज २२ गते मन्त्रीपरिषद्मा पठाएको हो ।
यसैगरी, पद–निवृत्त भए पनि पद–निवृत्त राष्ट्रपतिको भेटघाट, औपचारिक÷अनौपचारिक भ्रमण, राज्यका सामाजिक–सांस्कृतिक लगायत छलफल आदिमा उपस्थित हुन सक्ने कारणले गर्दा अतिथि सत्कारतर्फको खर्चमा हाल प्राप्त रकमको आधा रकम अर्थात् मासिक ५० हजार मागिएको छ । यसरी एकमुष्ठ मासिक एक लाख १० हजार उपलब्ध हुनु उपयुक्त देखिन्छ भन्दै सिफारिस गरिएको छ ।
पद–निवृत्त हुने राष्ट्रपतिका लागि आवासको व्यवस्था पनि गर्न सिफारिस गरिएको छ । हाल सरकारले यस सन्दर्भमा कुनै पनि पूर्वनिर्णय गरिसकेको छैन । संवैधानिक व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति पदमुक्त हुने भएमा राष्ट्रपतिका लागि सम्मानजनक सुविधायुक्त आवासको व्यवस्था हुनुपर्ने नै हुन्छ ।
सवारी–साधनको व्यवस्था पद–निवृत्त राष्ट्रपतिका लागि जम्मा दुईवटा सवारी–साधनको प्रस्ताव गरिएको छ । औपचारिक हिसाबले संलग्न हुनुपर्ने अवस्थामा र फिल्ड भ्रमण जाँदा प्रयोग गर्ने अर्को गाडी समेत दुई गाडीको सुविधा हुनु उपयुक्त नै हुन्छ ।
पद–निवृत्त राष्ट्रपतिका लागि उपलब्ध हुने सेवा–सुविधाको प्रशासकीय रेखदेख गर्न उनको आवास परिसरमा नै रहने गरी एउटा सानो आकारको कार्यालयको स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरिएको छ ।
विदेशीसँगको भेटघाट र परिआउने व्यक्तिगत सद्भावपूर्ण पत्राचार गर्ने लगायतको प्रशासकीय प्रबन्ध गर्न एक सहसचिव स्तरको कर्मचारीको नेतृत्वमा कर्मचारी समूह रहने प्रस्ताव गरिएको छ ।

दूधालु गाईको व्यवस्था
हाल नेपाल सरकार, पशुसेवा विभागबाट दूधालु गाईको व्यवस्था हुँदै आएकाले सोको निरन्तरताका लागि आवश्यक व्यवस्था हुन प्रस्ताव गरिएको छ ।
असोज १५ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको छ । यो अधिवेशनले नेपालको संविधानअनुसार नया“ राष्ट्रपतिको चयन गर्नेछ । नया“ राष्ट्रपति आएलगत्तै वर्तमान राष्ट्रपति निवृत्त हुने भएकाले उनको बसोबास र जीवनयापनका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।
नेपालको संविधानको धारा ७२ बमोजिम सम्माननीय राष्ट्रपतिका लागि पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐनबमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनी उल्लेख भएको छ ।
‘पद–निवृत्त राष्ट्रपतिका लागि निवृत्तभरण, आवास, कर्मचारी, सवारी–साधन, टेलिफोन÷मोबाइल, इन्टरनेट, पत्रपत्रिकालगायत अन्य सुविधाको प्रबन्ध गर्नु बाञ्छनीय भएकाले संलग्न प्रस्तावबमोजिमको व्यवस्थाका लागि निर्णय हुन अनुरोध गर्दछु’ भन्दै राष्ट्रपति कार्यालयका सह–सचिवले पत्राचार गरेका छन् ।
– See more at: http://www.ratopati.com/photo-news/8577/#sthash.1E5xEWby.dpuf