देशभरका शक्तिपीठ तथा घरघरमा घटस्थापना

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – विजयादशमीको पहिलो दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा घटस्थापना गरी मनाइँदैछ ।

आश्विन शुक्ल पक्षको प्रतिपदादेखि सुरु भई दशमीका दिन टीका तथा जमरा लगाउने प्रचलनअनुरूप दियो, गणेश र कलश पूजाका साथ घटस्थापना गरी जमरा राख्ने गरिन्छ ।

ghatsthapanaआश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नौवटा रात पर्ने भएकाले यसलाई ‘नवरात्र’ भनिने र कोजाग्रत पूर्णिमासम्मलाई दुर्गा पक्षका रुपमा लिइन्छ । आजकै दिनदेखि विजयादशमीका दिनसम्म शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

विजयादशमीका अवसरमा आज देशभरका विभिन्न शक्तिपीठका साथै दसैँ घरमा घटस्थापना गरी धुमधामका साथ शक्तिस्वरुपा देवीको पूजाआजा गरिने उहाँले बताउनुभयो । घटस्थापनाका दिन आज काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ ।

काठमाडौँका दक्षिणकाली, भद्रकाली, मैतीदेवीलगायत शक्तिपीठका साथै पोखराको विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको जयवागेश्वरी, डोटीको शैलेश्वरीलगायत तीर्थस्थलमा दुर्गापक्ष अवधिभर दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

दक्षिणकाली क्षेत्र सुधार समितिका अध्यक्ष सिद्धिमान श्रेष्ठका अनुसार आजैदेखि काठमाडौँको दक्षिणकाली मन्दिरमा नवरात्र मेला प्रारम्भ भएको छ । मेलामा आउने दर्शनार्थीलाई लक्षित गरी सहज रुपमा दर्शनको व्यवस्था मिलाउन समितिले स्वयम्सेवकको परिचालन गरेको छ । मन्दिर परिसरमा फर्पिङ उच्च माविका विद्यार्थी स्वयम्सेवकका रुपमा परिचालित हुनुका साथै प्राथमिक उपचार शिविर पनि सञ्चालन गरिएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण  पहिलो दिन विगतका वर्षमा जस्तो दर्शनार्थीको चाप भने नभएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार आजैदेखि मन्दिर परिसरमा ‘शिव गुरु’का रुपमा परिचित एक जना सन्तले छातीमा जमरा उमार्न सुरु गर्नुभएको छ । अघिल्लो वर्ष पनि अर्का एक सन्तले छातीमा जमरा उमार्नुभएको थियो ।

चर्चामा रहेका शक्तिपीठका साथै प्रचारप्रसारको अभावमा ओझेलमा परेका विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित आजैदेखि दुर्गा पूजा गर्ने प्रचलन छ । लेखनाथ नगरपालिका वडा नं १८, कास्की (साविक भरतपोखरी गाविस वडा नं ६) स्थित प्रसिद्ध कोटभैरव मन्दिरमा दुर्गा पक्ष अवधिभर विशेष पूजाआजा हुने स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

बाइसेचौबीसे राजाका पालादेखि नै पूजाआजा हुँदै आएको उक्त तीर्थस्थलमा कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।

अन्य शक्तिपीठ र दसैँघरमा जस्तै कोटभैरव मन्दिरमा पनि घटस्थापनासहित फूलपाती भित्र्याउने, बलि दिने, कालरात्री गर्ने र विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउँदै एक आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यस तीर्थस्थलमा पोखराको बिरौटा, लेखनाथ नगरपालिकाको भण्डारढिक, गगनगौंडालगायत स्थानबाट सवारी साधनमार्फत पुग्न सकिने भएपछि पछिल्ला वर्षमा दर्शनार्थीको चाप बढ्दै गएको छ ।