नलाङ बैरेनीमा माछा तथा मौरी पालन व्यवसायको शुरुवात

773 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नलाङ,२५ जेठ् ( धादिङन्युज)।  धादिङको नलाङ गाउँ विकास समिति वडा नम्वर ७ बैरेनीमा विगत बर्षबाट सञ्चालनमा आएको सिद्धबाबा एग्रिकल्चर्स प्रा.लिले आजबाट माछा तथा मौरी पालन व्यवसायको शुरुवात गरेको छ । आगमी ९ बर्षभित्रमा विभिन्न ९ किसिमका व्यवसाय सञ्चालन गर्ने लक्ष्य लिएर गाई पालनबाट व्यवसाय सञ्चालन शुरु गरेको कम्पनीले आजबाट माछापालन र मौरीपालन व्यवसाय सञ्चालनको शुरुवात गरेको हो । कम्पनीले २ वटा पोखरीमा ७ हजार माछा र आधुनिक ७ घारबाट मौरी पालन व्यवसाय शुरु गरेको छ । कम्पनीद्वारा आज आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका कृषि विभागका महानिर्देशक लिलाराम पौडेलले माछा र मौरी पालन व्यवसायको उद्घाटन गर्नुभयो । व्यवसाय उद्घाटन कार्यक्रममा बोल्दै कृषि विभागका महानिर्देशक लिलाराम पौडेलले सिद्धवावा एग्रिकल्चर्स प्रालिले निश्चित उद्देश्य राखेर व्यवसाय सञ्चालन गर्दै आएकोमा प्रशंसा गर्दै अझै राम्रो व्यवसाय सञ्चालनको लागि कामना गर्नुभएको छ । साथै उहाले कृषि उत्पादकत्व र उत्पादन बृद्धि गर्ने सरकारी नीति रहेको भएपनि साना किसानहरुलाई माथि उठाउने नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाले धादिङ कृषि तथा पशुपालन व्यवसायको ठुलो सम्भावना रहेको बताउँदै सबै घरमा कुनै न कुनै प्रकारको व्यवसाय सञ्चालन गरि आयआर्जन बढाउन आवश्यक रहेको बताउनुभयो । प्राङ्गारिक कृषि र उत्पादनलाई जोड दिन सुझाव दिर्दै व्यवसाय सञ्चालनको लागि कृषि विभागको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा व्यवसायिक कृषि विकास आयोजना (प्याक्ट)का आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले कृषि व्यवसाय सञ्चालन गरि सिद्धवावा कम्पनीले नमुना कामको शुरुवात गरेकोमा प्रशंसा गर्नुभयो । जबसम्म कृषि क्षेत्रको विकास हुँदैन, तवसम्म सुन्दर नेपालको परिकल्पना पुरा नहुने बताउँदै आयोजना निर्देशक कार्कीले कृषि क्षेत्रको विकासमा धादिङ अगाडि रहेको र त्यसमा पनि नलाङ गाविस अझै अगाडि रहेको बताउनुभयो । स्थानीय समुदायका सबैले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने हो भने ग्रामीण अर्थतन्त्रको विकास गर्न कहिं जानु नपर्ने तर्क गर्दै कार्कीले अहिले युवा तथा राजनीतिक कर्मिहरु व्यवसायमा सक्रिय भएर लाग्नु निकै उत्साहजनक काम भएको बताउनुभयो । कार्यक्रममा शुभकामना दिदै कार्कीले विभिन्न किसिमका व्यसाय सञ्चालन गर्ने लक्ष्य लिएको कम्पनीले आफुलाई एउटा सफल व्यवसायको रुपमा विस्तार गर्दै श्रोतकेन्द्रको रुपमा विकास गर्न सुझाव पनि दिनुभयो । सिद्धवावा एग्रिकल्चर्स प्रालिका अध्यक्ष बद्रि अर्यालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी, जिल्ला पशुसेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगत, कृषि प्राविधिक नरेश महतो, कृषि विकास कार्यालय धादिङका बागबानि विकास अधिकृत रामहरी सोती, सामुदायिक साना किसान कृषि सहकारी संस्था नलाङका अध्यक्ष कृष्णप्रसाद अर्याल, नशिक बचत तथा ऋण सहकारी संस्था नलाङका अध्यक्ष टंकनाथ शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै व्यवसाय सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।