कुवेतमा कहाँ हराईन धादिङ सेर्तुङकी सम्झना ? 

666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

samjhana-tamang-1धादिङ -कुवेतमा काम गर्न गएकी धादिङकी सम्झना तामाङ झण्डै एक बर्षयता परिवारको सम्पर्कमा नभएको भन्दै उनको खोजिका लागि परिवारका सदस्यले अपिल गरेका छन् । २०७१ साउनमा कुवेत गएकी उनी चार महिनासम्म परिवारको सम्पर्कमा थिइन् ।

उनले कुवेत पुगेपछि परिवारका सदस्यहरुलाई फोन गरेर आफू एक अरविको घरमा काम गर्न थालेको बताएकी थिइन् । सेर्तुङ १ धादिङकी सम्झना घरबाट भागेर दिल्लीको बाटो हुँदै कुवेत पुगेको उनका ज्वाई उत्तम तामाङले बताए । ‘उहाँ(कुवेत) पुगेर एकपटक हामी सवैसँग फोनमा कुरा गर्नुभएको थियो तर गत मंसिरदेखि एकाएक सम्पर्क विहिन हुनुभयो’ उत्तमको भनाई छ  ।

काम गर्न कुवेत गएकी उनको कुनै पनि काजगपत्र घरमा छैन । एक छोरा र दुई छोरीहरुलाई घरमा छोडेर गएकी सम्झना वेखवर भएपछि उनका श्रीमानले अर्को विवाह गरिसकेका छन् ।

सम्झनाको पासपोर्ट नम्वर ०७५२३६३६०७ रहेको छ । तर सो पासपोर्टमा बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइएको छैन । उनको खोजिका लागि सामि हेल्भेटासको सहयोगमा सिड्स धादिङले सञ्चालन गरेको सुचना केन्द्रमा परिवारका सदस्यले निवेदन दिएका छन् ।

सम्झनालाई नुवाकोट त्रिसुलीका हिरामान तामाङले कुवेत पठाएका थिए । परिवारका सदस्यहरुले सम्झनाको खोजिका लागि आग्रह गर्दा उनले आफूले जान चाहेको व्यक्तिलाई दिल्लीसम्म पठाइदिएको र बाँकी जिम्मेवारी आफू नहुने बताउने गरेको उत्तमको भनाई छ ।

सम्झनाले कुवेतबाट अन्तिम पटक सम्पर्क गरेको नम्वर ९६५०९९३५३१ रहेको छ । तपाई कुवेतमा हुनुहुन्छ भनें उनको खोजिमा तपाईले महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । सम्झनाका छोराछोरी अहिले पनि आमा फर्किने बाटो हेरेर उनको तस्वीर बोकेर बसिरहेका छन् देश परदेश डट कम अनलाइनमा खबर छापिएको छ ।।