प्रहरीद्वारा पैँतालीस हजार लिटर विषालु रक्सी नष्ट

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (2)काठमाडौँ, -महानगरीय प्रहरी वृत्त बौद्धले बौद्ध नयाँबस्ती क्षेत्रमा अवैधरुपमा सञ्चालन भएको विषालु रक्सी बनाउने चार वटा भट्टीमा छापा मारी ४५ हजार लिटर रक्सी नष्ट गरेको छ ।

नागरिक समाजको उपस्थितिमा अवैधरुपमा सञ्चालन गरिएका चार भट्टीका १५० ड्रम रक्सी र रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

“युरिया, मरेका सिनो, थोत्रा जुत्ता, सडकमा फालेको फोहर प्लास्टिकलगायत दूषित वस्तुबाट बनाइने विषालु रक्सी खाई बेलुकी सुतेका मानिस बिहान मर्ने गरेको सूचनाका आधारमा अनुसन्धान गरी भेटिएका चार भट्टीका कच्चा पदार्थसहित अवैध विषालु रक्सी नष्ट गरिएको हो”–उहाँले भन्नुभयो ।

फोहर कच्चा पदार्थ थुपारी राखिएको स्थानमा फैलिएको दुर्गन्ध एवम् परेको कीरा देख्दा यस्तो दर्दनाक व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने आवाज स्थानीयवासीबाट उठेको जानकारी पनि उहाँले दिनुभयो ।

यसअघि पनि वृत्तले बौद्ध र जोरपाटी क्षेत्रबाट हजारौँ लिटर अवैध एवम् विषालु रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र रक्सी नष्ट गर्दै आएको जनाएको छ ।