मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बढ्यो, ८ लाख नेपाली लाभान्वित हुने

461 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया, कात्तिक ८ – मलेसिया सरकारले यहाँ कार्यरत सबै कामदारको न्युनतम पारिश्रमिक बढाएको छ । आगामी वर्षको जुलाईदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक वृद्धि भएको मलेसियाली संचार माध्यमहरुले जनाएका छन ।

गएको शुक्रबार ‘बजेट सार्वजनिक गर्दै मलेसियाका प्रधानमन्त्री नाजिब तुन अब्दुल रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम ज्याला ९ सय आरएमबाट बढाएर १ हजार आरएम पुर्‍याइएको घोषणा गरेको स्थानीय समाचार संस्थाहरुले उल्लेख गरेका छन ।

स्थानिय पत्रिका द सनले प्रकाशित गरेको समाचार अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (साबह र सेरावाक बाहेक) मा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसिया (सावाह, सारावक र लाबुवान) मा कार्यरत कामदारका लागि ९२० रिंगिट न्युनतम ज्याला तोकिएको छ । बढेको तलबमान स्थानिय र बिदेशी सबै कामदारका लागि भएकोले यसको पूर्ण कार्यान्वायन भए यहाँ कार्यरत ८ लाख नेपाली लाभान्वित हुनेछन ।

मलेसियाली सरकारले यसअघि २०१३ को जनवरी महिनामा न्यूनतम पारिश्रमिक तोकेको थियो । यो नीति ६ महिना परिक्षणका रुपमा समेत कार्यान्वयन गरिएको थियो । हाल पश्चिमी मलेसियामा कार्यरत कामदारले मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा कार्यरत कामदारले ८ सय रिंगिट न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । सरकारले घोषणा गरेको पारिश्रमिक लागू नगर्ने रोजगारदाताहरुलाई प्रति कामदार १ लाख रिंगिटसम्म जरिवाना हुन सक्ने जनाएको छ ।