वैदेशिक रोजगार ऐन छिट्टै लागु हुने

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ मंङ्सिर २९-श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगार व्यावसायलाई मर्यादित र पारदर्शी बनाउन वैदेशिक रोजगार ऐन छिट्टै लागु गरिने बताउनुभएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार पत्रकार समाजले सोमबार गरेको अन्तक्र्रियामा उहाँले वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका सरोकारवालाको सुझाव र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कामदारलाई निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाले कामदारलाई फाइदा पुग्ने हुँदा त्यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अन्तर्राष्ट्रिय श्रम सुविधा प्राप्त गर्नेगरी नेपाली कामदार साउदी अरबमा पठाउनका लागि दुई देशबीच सम्झौता हुन लागेको बताउनुभयो ।

उहाँले मन्त्रालयले राजनीतिक नेतृत्व प्राप्त गर्न नसकेकाले प्रशासनिक कार्यमा केही समस्या थपिएको बताउनुभयो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक उमाकान्त पौडेलले रोजगारदाता मुलुकबाट कामदारलाई प्राप्त हुने निःशुल्क प्रवेशाज्ञा र टिकट उनीहरूलाई शुल्क लिएर बेचबिखन गर्ने व्यावसायी तथा संस्थालाई कडा कारवाही गरिने जानकारी दिनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यावसायी महासङ्घका अध्यक्ष विमल ढकालले सरकारले बिनातयारी निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरेकाले कार्यान्वयनमा चुनौती थपिएको भन्दै गरिब नेपाली कामदारलाई न्यून शुल्कमा सुरक्षित रोजगारीमा पठाउनुपर्नेमा जोड दिनुभयो ।