ग्यास छ, सिलिन्डर छैन

1147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस १, २०७२- ग्यास आधा भरेर ग्राहकलाई दिने नीतिले यहाँ सिलिन्डर अभाव भएको छ । व्यवसायीहरूका अनुसार आधा भर्दा दोब्बर सिलिन्डर खपत हुने भएकाले समस्या बढेको हो । सिलिन्डर नभएपछि उद्योगले ग्यास वितरण गर्न सकेका छैनन् । ‘१४ किलोले एउटा सिलिन्डर भर्नुपर्नेमा २ वटा प्रयोग भएको छ,

श्रीमाया ग्यास उद्योग विशालटारका मैनेजर बद्री खतिवडाले भने, ‘ग्यास भए पनि ग्राहकलाई दिन समस्या छ । उद्योगको बुलेटमा ग्यास छ, सिलिन्डर छैन ।’ यता उद्योगहरूले ग्यासको बुलेट सीधै काठमाडौं पठाउन थालेका छन् ।
स्थानीय व्यवसायीहरूले राजधानीमा मात्रै ९ लाख सिलिन्डर पठाएका छन् । उनीहरूले सिलिन्डरको कृत्रिम अभाव देखाउँदै बजारमा ग्यास अभाव सिर्जना गराउन खोजेको आरोप स्थानीय उपभोक्ताहरूको छ ।
श्रीमाया ग्यासले माासिक ६ बुलेट ग्यास आयात गर्न पाउने तथ्यांक स्थानीय प्रशासनलाई बुझाएको छ । हालसम्म १४ सय सिलिन्डर मात्रै बजारमा पठाएको छ । श्रीमायाले मात्र ६ बुलेटबाट १४ केजीका सिलिन्डर मासिक ७८ सय उत्पादन गर्न सक्छ । तर, सिलिन्डर अभाव भन्दै उसले ग्यास उद्योग अरूलाई बेच्दै आएको छ । स्थानीय बासिन्दाका अनुसार चालू आर्थिक वर्षमा खरिद गरिएका ६ हजार सिलिन्डर आयातमा ढिलाइ भएपछि ग्यासका बुलेट श्रीरामलाई बेचेको थियो । बढी मूल्यमा अन्य कम्पनीलाई बेचेर रातरात राजधानी पठाएको भनाइ उपभोक्ताको छ ।
‘नाकाबन्दीको पहिलो महिना बाहेक धादिङका १३ वटै ग्यास उद्योगहरूमा निर्धारित मासिक कोटाअनुसार ग्यास बुलेट आइरहेको देखिन्छ । सिलिन्डर पनि ग्राहकहरूले थन्क्याएपछि हाहाकार परेको हो,’ श्रीकृष्ण ग्यासका डिलर शरण श्रेष्ठले भने ।
स्थानीय प्रशासनलाई दिएको तथ्यांकमा ९ लाख सिलिन्डर देखाइएको सहायक प्रजिअ नन्दलाल शर्माले बताए । उनले भने, ‘ग्यास कम्पनीहरूले त्यति मात्रामा ग्यास नआउँदै कसरी सिलिन्डर छैन भन्न मिल्छ ?’ एकातिर राजमार्गमा पूर्वी र पश्चिम तराईबाट ल्याइएका दर्जनौं कम्पनीका ग्यास सिलिन्डर प्रयोगमा आएका छन् । अर्कातिर अभावले जिल्लामा डिलर नै नभएका कम्पनीका ग्यास प्रयोग गर्नुपर्ने अवस्था छ ।



-कान्तिपुरबाट