१६ वर्षमुनिका केटाकेटी संयुक्त बास बस्न आए गोरखाका होटलले प्रहरीमा खबर गर्नुपर्ने

556 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ पुस ५-गोरखाका होटल, लज तथा रेष्टुरेन्टहरुमा आचार–संहिता लागु भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला होटल संघ तथा व्यबसायीहरुको संयुक्त पहलमा होटल, लज तथा रेष्टुरेन्टमा हुने विकृति विसंगतिलाई न्यूनिकरण गर्नका लागि आचार संहिता लागु गरिएको हो ।

होटल, रेष्टुरेण्ट तथा लजहरुमा यौनधन्दाका घटना बढ्दै गएको भन्दै आचार संहिता लागु गरिएको प्रहरीले जनाएको छ । दर्ता गरेर मात्र व्यवसाय सुरु गर्नुपर्ने आचार संहितामा उल्लेख छ । साथै होटलका सबै तहका कर्मचारीहरुका लागि परिचय पत्र अनिबार्य गरिएको छ ।

होटलमा काम गर्ने सबै तहका कर्मचारीहरुको नाम, ठेगाना, उमेर, नागरिकताको प्रतिलिपि र फोटो सहितको व्यक्तिगत विवरणको अभिलेख राख्नुपर्ने आचार संहितामा उल्लेख छ । ग्राहकले आफ्नो बहुमूल्य सामान सञ्चालकलाई राख्न दिँदा वा लिँदा अनिवार्य रुपमा बिस्तृत विवरण राखी भरपाई गराई लिनु दिनु पर्ने पनि आचार संहितामा उल्लेख छ ।

रातको समयमा काम गर्ने महिला कामदार वा कर्मचारीलाई कार्यस्थलबाट घरसम्म ल्याउने लैजाने व्यवस्था गरिदिनु पर्ने पनि आचार संहितामा लेखिएको छ ।

होटल, लज तथा गेष्ट हाउस, मदिरा पसल, खाजा घर एवम् मदिरा सेवन गराउने सबै किसिमका व्यवसायहरू हुने स्थलमा वेश्यावृत्ति वा अन्य आपराधिक गतिविधिमा संलग्न भएको वा हुन सक्ने शंकास्पद चरित्र भएका व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

वेश्यावृतिका लागि कोठा उपलब्ध गराउने होटल ब्यबसायीलाई कारबाही गर्ने आचार संहितामा उल्लेख छ । होटलहरुमा हिउँद याममा राती ९ बजेसम्म र बर्षायाममा रातीे १० बजेसम्म सञ्चालन गर्न पाउने ब्यवस्था गरिएको छ । आचारसंहितामा १६ वर्षभन्दा कम उमेरका केटाकेटी संयुक्त रुपमा वास माग्न आएमा जुनसुकै नाता सम्बन्ध भएपनि वास बस्न नदिन र प्रहरीलाई खबर गर्नु पर्ने लेखिएको छ ।