धादिङका किसानहरुलाई उत्पादित धान राख्न समस्या

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङबेंसीका किसानलाई पाकेको धान कसरी सुरक्षित राख्ने भन्ने चिन्ता थपिएको छ । चैते र वर्षेसमेत २ बाली धान घर भित्र्याउने जिल्लाका भकारी अभाव भएको छ । भूकम्पले घर भत्कँदा भएका पुराना काठ र निगालो चोयाका भकारी क्षति भएपछि धान सुरक्षित राख्ने चिन्ता बढेको हो ।

‘यसअघि घरका माथिल्ला तला बुइगलमै सकेसम्म भकारीमा नभए थैलीमा भरेर पनि अन्नपात राख्ने चलन थियो,’ १० रोपनी खेतबाट करिब २० मुरी धान उत्पादन गरेका नीलकण्ठ ७ तल्लो बेंसीका किसान गोविन्द अधिकारीले भने, ‘भूकम्पले सबैका ३ तले घर भत्काएपछि १ तलाकै अस्थायी बसोवासले अन्न राख्ने समस्या थपिएको हो ।’

चैते धान नै राख्ने समस्या परेको बेला अरू धान थपिएपछि सुत्ने खाटमुनिसमेत राख्नुपरेको अधिकारीले बताए । यसै पनि यसपाला धान उत्पादनमा कमी भएको छ ।

जिल्लाको सबैभन्दा बढी धान फल्ने फाँटमध्ये सदरमुकामकै तल्लो बेंसी पनि हो । तल्लो बेंसीका करिब सय घरमध्ये बर्सेनि ३० देखि ६० मुरी धान फलाउने किसानहरू ७५ प्रतिशत छन् ।

गत वैशाखको भूकम्पले तल्लो बेंसीका पुराना घरहरूमध्ये आधाजति घर पूर्ण क्षति भएपछि परिवार, भान्सा र अन्नपातसँगै रखेर गृहस्थी चलाउनुपरेको दण्डपाणि पोख्रेलले बताए । धानको मात्रै बढी चिन्ता छ, कोदो, मकै त जता पायो त्यतै थुप्रो पोखरेल बताउँछन् । कान्तिपुर दैनीकबाट