मकवानपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता स्थगित

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1111111111धादिङ पुस ६- मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा पुस तेस्रो साता हेटौंडामा पहिलोपटक अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता तत्कालका लागि स्थागित गरिएको छ । संघ अध्यक्ष ज्ञानकृष्ण प्रजापतिका अनुसार देशमा विद्यमान परिस्थितिका कारण अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगित हुने भएको हो । २२०० भन्दाकम रेटिङको अन्तर्राष्ट्रिय प्रतियोगिता पुस १६ गतेदेखि २२ गतेसम्म गर्ने तालिका संघले बनाएको थियो । ‘सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेपनि प्रतियोगितामा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका लागि यातायातलगायत अन्य व्यवस्था गर्न कठिन हुने देखिएपछि तत्काललाई प्रतियोगिता स्थगित गरिएको हो,’ अध्यक्ष प्रजापतिले भने । उनका अनुसार संघको बैठक बसेर आगामी मिति तय गरिनेछ । स्वीस लिगअनुसार नौ राउण्ड हुने प्रतियोगितामा नेपालसहित ११ देशका करिब एकसय ५० खेलाडी सहभागी हुने आयोजकले जनाएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, मलेसिया, ब्रुनाई, इण्डोनेसिया तथा फिलिपिन्सका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका लागि करिब १५ लाख रुपियाँ खर्च अनुमान गरिएको छ ।