माछा महोत्सवको तयारी पूरा, बिहीबार उद्घाटन

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Meni Poster copy.jpg JPGधादिङ, – देशकै सुप्रसिद्ध माछा बजार भनेर चिनिने धादिङको मलेखुमा राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धादिङको मलेखुमा एक समारोहका बीच उद्घाटन गर्ने आयोजक नेपाल राष्ट्रिय वाणिज्य संघ, धादिङले जानकारी दिएको छ । प्रधानमन्त्री ओली महोत्सव उद्घाटन गर्न बिहीबार १ बजे मलेखु पुग्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

मलेखुको रिचोकटारमा २०७२ यही पौष ९ देखि १९ सम्म आयोजना गर्न लागिएको राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा विभिन्न २६ वटा विधामा प्रदर्शनीमा सहभागिता र ४ सयभन्दा बढी कृषकहरुको उत्पादन प्रदर्शनी हुनेछ । ‘घरेलु उद्योग कृषि जलस्रोत पर्यटन आर्थिक हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित मेला तथा महोत्सवमा २ लाख दर्शक भित्र्याउने र १० करोडको कारोबार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

आयोजकले महोत्सव अवलोकनकर्ताहरुलाई सहज बनाउने उद्देश्यले धादिङमा चल्ने सबै यातायातका साधनहरु महोत्सव स्थल भएर आवतजावत गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

बिहान १० बजेदेखि खुल्ला रहने मेलामा प्रवेश शुल्कको रुपमा ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र वृद्धवृद्धाहरुलाई तीस प्रतिशत सहुलियतको व्यवस्था गरिएको छ । महोत्सवको तयारी पूरा भएको जानकारी दिन बुधबार मलेखुमा आयोजित पत्रकार भेटघाटमा नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष लोकनाथ डल्लाकोटीले सबैलाई महोत्सव सफल पार्न सहयोगको लागि अपिल गरेका छन् ।