विदुर नगरपालीकाको बजेट रु दश करोड बढी ः सडक प्राथमिकतामा

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विदुर नगरपालीकाको बजेट रु दश करोड बढी ः सडक प्राथमिकतामा

धादिङ पुस, १७ । विदुर नगरपालिकाको आजको १६औँ नगरपरिषद्ले आव २०७३÷७४ का लागि रु १० करोड ३५ लाख ५६ हजारको बजेट तथा कार्यक्रम र नीति पारित गरेको छ ।
विदुरमा भएको परिषद्मा कार्यकारी अधिकृत प्रेमकुमार रसाइलीले पेस गरेको वार्षिक बजेटमा विकास खर्चतर्फ ८८.०७ प्रतिशत अर्थात् रु आठ करोड ५६ लाख ९९ हजार र प्रशासनिक खर्चतर्फ ११.९३ प्रतिशत अर्थात् रु एक करोड २३ लाख ५७ हजार रहेको छ ।
कार्यकारी अधिकृत रसाइलीले नगरक्षेत्रको विकासका लागि जगेडा कोष, सडक बोर्ड नेपाल, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत विकास कार्यक्रम, नगरपालिका अनु्दान निःसर्त, स्थानीय विकास शुल्क कोष ससर्त, रजिस्टे«सन दस्तुर, जिविस अनुदान शीर्षकबाट प्राप्त हुने रकमलाई परिचालन गरिने, नगर क्षेत्रलाई उत्पादनमुखी बनाई नगरवासीको आयस्तर बढाउन तरकारीखेती तथा नगदेबाली उन्मुख बनाउने र कृषि तथा पशु विकास कार्यक्रमलाई अघि बढाइने जानकारी दिनुभयो ।

   त्यस्तै सडकको विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको र खानेपानी योजनालाई निरन्तरता दिँदै सहभागितात्मक योजना तर्जुमा पद्धतिका आधारमा प्राथमिकताप्राप्त योजना सञ्चालन गर्ने नीति लिएको जनाइएको छ ।

परिषद्को प्रजिअ उमेशकुमार ढकालले उद्घाटन गर्दै नगरको विकासका लागि नगरको तय गरेको नीति तथा कार्यक्रमलाई लागू गराउन र मापदण्डलाई नगरवासीले पनि स्विकार्न उत्तिकै जरुरी भएको बताउनुभयो ।

कार्यक्रमका वक्ताले नगरपालिकालाई व्यवस्थित रुपमा विकास गराउनका लागि सबैको भूमिका जरुरी भएकामा जोड दिएका थिए ।

परिषद्मा उत्कृष्ट काम गर्ने नगरपालिकाका कर्मचारी बाबुकाजी डङ्गोल, दामोदर नेपाल, कृष्णबहादुर बुढाथोकी र कृष्णबहादुर तिमिल्सेना तथा नगरक्षेत्रका विद्यालयमा उत्कृष्ट हुने पृथ्वी मावि तथा असल करदाताका रुपमा इन्द्रायणी काष्ठकलाका यदुकुमार बोगटी र उत्कृष्ट उपभोक्ता समितिमा त्रिशूली बस्ती विकास उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।