उच्च वायुमण्डलीय न्यून चापको प्रभावले चिसो बढ्यो

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aago tapdai bhuraकाठमाडौँ, २५ पुस । उच्च वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भई काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस गरिएको छ ।

केही दिनयता उपत्यकामा तापक्रम बढ्नुका साथै न्यानोपन महसुस गरिएपनि आज न्यूनतम तापक्रम केही घटेपछि उपत्यकामा बढी चिसो भएको छ ।

अघिल्लो दिनको तुलनामा शनिवार उपत्यकामा बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार अधिकतम १९.४ तथा न्यूनतम तापक्रम ४.५ रहेपनि आज न्यूनतम ३.५ र अधिकतम १७ डिग्री सेल्सियसमा झरेको छ ।

मौसममा देखिएको खराबीका कारण तुलनात्मक रुपमा तापक्रम घटेकाले बढी चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च वायुमण्डलीय न्यूनचाप पूर्वतर्फ सर्दै गएको र आइतबारदेखि मौसममा क्रमशः सुधार आउने उल्लेख गर्नुभयो ।

मौसमविद् पोखरेलले जाडो मौसम भएकाले चिसो सामान्य भए पनि एक्कासि न्यूनतम तापक्रम नघट्ने र केही दिनपछि मौसम सामान्य अवस्थामा पुग्ने बताउनुभयो ।