सुन्तले टापुमा मासियो सुन्तला, किसान बैकल्पिक खेतीको खोजीमा

858 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
स्यादुल (धादिङ)  । कुनै बेला व्यावसायिक सुन्तला खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुषा गाविसस्थित स्यादुलमा सुन्तलाको बोट मासिएको छ । व्यावसायिक सुन्तला खेतीबाट आर्थिक तथा सामाजिकस्तर सुधारेका यहाँका किसान अहिले वैकल्पिक खेतीको खोजीमा लागेका छन् ।
गाउँ घुम्न आएका लेनमार्क नामका पर्यटकले यहाँको हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएको बताएपछि जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्यादुलका तीन सय परिवारले २०३२ सालमा ५० हजार बिरूवा सुन्तला रोपेका थिए । प्रतिपरिवार ५० देखि ५०० बिरुवा लगाएर सुरू गरिएको स्यादुलको सुन्तलाले उत्पादन दिन थालेपछि देशभरमै चर्चा पाउन थालेको थियो ।
बिरुवा रोपेको पाँच वर्षदेखि फल टिप्न सुरु गरेका यहाँका किसानले वार्षिक एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेको धुषा ९ का  वीरेन्द्र पाण्डेले बताउनु भयो । व्यवसायिक सुन्तला खेतीकै कारण २०४० देखि २०५० सम्म स्यादुलमा वार्षिक चार करोडका दरले ४० करोड  रुपैयाँ गाउंमा  भित्रिएको पाण्डे बताउनुहुन्छ ।
सुन्तलाबाट राम्रो आम्दानी लिन सफल भएका किसानको जीवनस्तर अन्य गाउँको तुलनामा राम्रो थियो । गाउँमा विद्युतीकरण नहुँदा वरपरका गाउँ अन्धकारमा हुन्थे । यहाँका किसानले भने सुन्तला बेचेर गाउँभरि सोलार जडान गरेर गाउंलाई उज्यालो पारेको धुषाका अगुवा किसान रणबहादुर थापामगरले बताउनु भयो ।
सुन्तलाको उत्पादन राम्रो हुंदै गई रहेकोमा २०५१ पछि भने क्रमिक रुपमा घट्न थालेको र अहिले गाउंभरीमा १० प्रतिशत सुन्तलाको बोट पनि बाँकी नरहेको स्थानीय किसानहरु बताउंछन ।  जिल्लामै पहिलो पटक गाउंभरीका किसानले व्यवासयिक रुपमा सुन्तला खेती सुरू गरेर सफलता पाएपछि गाउँको नामै सुन्तले टापुु बन्न पुगेको थियो । त्यही सुन्तले टापुु अहिले सुन्तलाको बोट सुकेर उराठ बन्न पुगेको गाउँलेहरुले बताए ।
वर्षेनि सुन्तला मासिनेक्रम बढ्दै गए पनि पाँच वर्ष अघिसम्म सुन्तला पाक्ने समयमा स्यादुलमा आन्तरिक पर्यटकको घुइँचो हुने गरेकोमा अहिले स्यादुलवासीनै अरु गाउँतिर गएर सुन्तला हेर्नुपर्ने अवस्थामा पुगेका छन् ।  सुन्तले टापु उजाड बन्दै गएपनि स्यादुल आसपासमा पर्ने धुषाको ७, ८ र ९ नम्बर वडामा गरी वार्षिक करिब एक करोड रुपैयाँ सुन्तला खेतीबाट भित्रिने गरेको छ । कुनै वेला वार्षिक पाँच लाख रुयैयाँसम्म आम्दानी लिएका किसान अहिले ५० हजारभन्दा कम आम्दानीमा खुम्चिनु परेको धुषा ७ का लक्ष्मीप्रसाद सिलवालले बताउनु भयो ।
सुन्तलाको बोटमा रोग देखापर्न थालेपछि किसानले जिल्ला कृषि विकास कार्यालय र वागवानी विकासका लागि काम गरिरहेका सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रलाई पटक पटक गुहारेको उनिहरु बताउंछन ।  जतिसुकै हार गुहार गरेपनि बेलैमा प्राविधिक सल्लाह र सहयोग नपाएको उनीहरूको गुनासो छ । कृषि तथा वागवानीका बिशेषज्ञहरुलाई  प्राविधिकहरूलाई देखाउँदा  सुन्तलामा भाइरस लागेको जानकारी पाएको किसानहरुले बताए ।
धादिङ जिल्लामा आर्थिक विकासका लागि तरकारी, फलफूल, पशुपालन,जलश्रोत र पर्यटनको राम्रो सम्भावना रहेकाले बिशेषज्ञहरुवाट स्यादुलको सुन्तलाको विकल्प खोजिनुपर्ने     धादिङ क्षेत्र नम्बर ३ का सभासद एवम पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे बताउनु हुन्छ । स्यादुलमा सुन्तला खेती मासिनुमा वोटमा देखिएको रोग मुख्य कारणका रुपमा  रहेको विभिन्न अध्ययनले देखाएको किसानहरुले वताए ।
रोग देखिएका  बोटका जरा उखेलेर समयमै नष्ट गर्न सकेको भए अरु वोट जोगाउन सकिनेमा अव त्यो सम्भावना पनि नरहेको बताउनुहुन्छ । बोटमा फैलिएको भाइरस नष्ट गर्न बिरुवा उखेलेर डढाउनुपर्ने कृषि प्राविधिकहरुको परामर्श किसानले समयमै नमान्दा अहिलेको समस्या आएको उहांले वताउनु भयो । सुरुमा किसानले फलिरहेको सुन्तलाको बोट मास्न नमान्दा अहिलेको समस्या आएको  स्यादुलका किसान अहिले व्यवसायिक रुपमा तरकारी खेतीका साथै कफिखेती तर्फ लाग्न थालेका छन ।