त्रिभुवन विश्वविद्यालय कृषि क्याम्पस स्थापना हुने

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tuचितवन ।  चितवनको रामपुरमा आफ्नो आंगिक कृषि क्याम्पस सञ्चालन गर्न नसकेपछि जिल्लाकै शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको शिविर रहेको स्थानमा क्याम्पस सञ्चालन गर्न गृहकार्य सुरु गरेको छ ।

लडाकुको मुख्य शिविर रहेको शक्तिखोर र सहायक शिविर रहेको शक्तिखोरको गैरीबारी, वीरेन्द्रनगरको रसौली, र चैनपुरको भूतियामा कृषि क्याम्पस सञ्चालनका लागि गृहकार्य अगाडि बढाएको विश्वविद्यालयका उपकूलपति प्राडा तीर्थ खनियाँले जानकारी दिए । रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले जबरजस्ती कार्यक्रम हटाउन दबाब दिएपछि विद्यार्थीको मागअनुसार जिल्लामा त्रिविअन्तर्गतकै आंगिक कृषि क्याम्पस जरुरी देखेर प्रक्रिया अगाडि बढाएको उनले बताए ।

शिविरको करिब २ सय बिघा जमिन क्याम्पसका लागि प्रयोग गर्न सकिने स्थिति छ । सो क्षेत्र नेपाल सरकारको वन क्षेत्रभित्र पर्दछ । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले त्रिभुवन विश्वविद्यालयले सो क्षेत्रको विस्तृत विवरण लिएको बताए । सरकारी जग्गा स्वामित्व हस्तान्तरण गर्दा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । यसअघि सामान्य प्रस्ताव मुख्य सचिवकोमा पुगेको भए पनि विस्तृत विवरण नभएकाले स्वयं उपकुलपति खनियाँसहितको टोलीले सो क्षेत्रको अध्ययन गरी नक्सांकनसमेत संकलन गरेर काठमाडौं फर्किएको छ ।

उपकुलपति खनियाँले जिविस र नापी कार्यालयलगायतका सरोकारवाला निकायसँग आवश्यक कागजपत्र संकलन गरिएको जानकारी दिए । संकलन गरिएको कागजपत्रलाई समेत समावेश गरी मुख्यसचिवमार्फत मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पठाइने पनि उनले बताए । वनको कार्यक्रम हेटौँंडामै सञ्चालन हुने बताउँदै उनले कृषि विषयको पढाइ भने यो क्षेत्रमा गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताउँछन् । कृषि पढ्न इच्छा गर्नेको संख्या अत्यधिक बढ्दै गर्दा पनि पढ्ने अवसर कम पाएकाले विश्वविद्यालयले सो क्षेत्रमा आंगिक क्याम्पसको प्रस्ताव गरेको हो ।

त्रिविले विश्वविद्यालयको आधुनिकीकरण गर्न प्राविधिक विषयलाई बढी जोड दिएको हो । सकारात्मक रूपमा अघि बढेमा आउँदो शैक्षिक सत्रबाटै सो क्षेत्रमा क्याम्पस सञ्चालन गर्ने तयारीमा विश्वविद्यालय लागेको छ । त्रिविले पढाउँदै आएको रामपुरमा कृषि तथा वन विज्ञान विश्वद्यालयले पढाइ थालेपछि २ विश्व विद्यालयबीचमा विवाद बढेपछि ३ वर्ष अघिबाट त्यहाँ त्रिविले पढाउन छाडेको छ ।

रामपुरमा त्रिविले कृषि स्नातकमा १ सय जना, भेटेनरीमा ४० जना बर्सेनि पढाउँदै आएको थियो भने स्नातकोत्तर र विद्यावारिधिको पढाइ पनि विश्वविद्यालयले रामपुरमा गर्दै आएको थियो ।