चार घण्टा यातायात बन्द गरी नारायणगढ–मुग्लिङ सडक निर्माण गरिदै

830 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन – दैनिक चार घण्टा यातायात अवरुद्ध गरेर ‘नारायणगढ–मुग्लिङ सडक’ निर्माणको कार्य सुरु गरिने भएको छ । ‘एसियन हाइवे’को स्ट्याण्डर्डअनुसार नारायणगढ–मुग्लिङ सडकखण्डको मुख्य पहाडी भाग फोरेर सडक चौडा गर्नुपर्ने भएपछि दैनिक चार घण्टा बाटो बन्द गरेर निर्माणकार्यलाई अघि बढाउने तयारी गरिएको हो । नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले सडक विस्तार तथा पुनः निर्माणको क्रम सुचारु भइरहेको भन्दै बाटो नै बन्द गरेर निर्माणको काम सुरु गरिने जानकारी दिए । उनले भने, ‘उक्त सडक खण्डको निर्माणकार्य सम्पन्न नहुँदासम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ ।’ दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएका कारण हरेक दिन चार घण्टा सडक बन्द गर्नुपरेको भन्दै उनले कालीखोलादेखि मुग्लिङसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्ने तयारी गरिएको बताए । उक्त क्षेत्रमा हाल पाँच मिटर चौडा पिचबाटो रहेको छ । सो क्षेत्रमा नौ मिटर फराकिलो पिचसडक निर्माण गर्नका लागि सो पहाड फोर्ने तयारी गरिएको हो ।

sadak newsसडकको १६ किलोदेखि मुग्लिङसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिने भन्दै उनले सडक बन्द भएका बेला मुग्लिङ र रामनगरमा सवारीका साधन रोकिने बताए । गत पुस १९ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय भेलामा हरेक दिन दुई घण्टामात्र सडक बन्द गर्ने निर्णय गरेको थियो । २०१७ को अप्रिलसम्ममा निर्माणसक्ने सम्झौता भएपछि भूकम्पको असर र इन्धन अभावका कारण नौ प्रतिशत काम मात्र सकिएको छ । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुनलागेको एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिङ सडकखण्ड रहेको छ । चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबीसे, मुग्लिङ, नारायणगढ, हेटौँडा र वीरगञ्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्डको रुपमा रहेको छ ।