मलेशियामा नेपाली कामदारमाथि कडाई‘पिसाब गर्न जाँदा पनि नाम टिपाउनुपर्छ’

612 पटक पढिएको

सम्पादक: Dhadingnews.com

भूमिराज पराजुली

मलेशिया, जेठ २७ –प्रमुख श्रम गन्तब्य मलेशियामा नेपाली कामदारमाथि कडाइ गर्न थालिएको छ । बिभिन्न माग राख्दै बन्द हड्ताल गर्न थालेपछि रोजगारदाता कम्पनीले नेपालीमाथि कडाइ गर्न थालेको हो ।

पहिला भन्दा गाह्रो काम लागाउने र बिभिन्न नियमहरु थपेर अफ्ठेरो बनाउने गरिएको नेपाली कामदारहरु बताउँछन् । पेनाङ शहरमा कार्यरत मोरङका प्रेम बिमली भन्नुहुन्छ ‘पिसाब गर्न जादा पनि नाम र समय टिपाएर जानुपर्छ, एक छिन ढिला भयो भने मुटु छुने गाली पाइन्छ ।’

साह आलाममा कार्यरत सुनसरीका प्रविनकुमार रामले पनि कामको भार बढेको बताउनुहुन्छ । ‘पहिला हामीले ५० कार्टुन ग्लोभ प्याक गर्ने गथ्र्यौ तर अहिले उही समयमा ५८ कार्टुन प्याक गर्नुपर्छ ।’ तोकिएको काम नगरे भोलिपल्ट ओभर टाइम नपाइने नियम पनि थपेको रामले बताउनुभयो ।

नेपालीहरुले सेवा सुबिधाको माग गर्दै कम्पनीमा बन्द र हड्ताल गर्न थालेपछि मलेशियाका कम्पनीहरुले कडाई गर्न थालेको नेपाल बैदेशिक रोजगार व्यबसायी सघंले जनाएको छ ।

बिगत तीन चार महिनादेखि नेपालीहरुले तलबको बिषयलाइ लिएर बन्द हड्तालमा उत्रिन थालेपछि मलेशियाका रोजगारदाताहरुमा नेपाली कामदार प्रतिको बिश्वास घट्दै गएको सघंकी सचिब सुवर्ण श्रेष्ठले बताउनुभयो ।

नेपाली कामदारमाथि कडाई भएकोबारे नेपाली राजदुतावासलाई पनि थाहा नभएको होइन । कार्यबाहक राजदुत लेखनाथ भट्टराई भन्नुहुन्छ ‘यहीँका वासिन्दाले आन्दोलन र हड्ताल गर्न नपाउने ठाउँमा नेपालीहरुले कानुन नै मिच्न थाले । त्यसैले रोजगारदाताले कडाइ गरेको हुनसक्छ ।’

कार्यबाहक राजदुत भट्टराईले कसैलाई समस्या परेमा बन्द हड्ताल नगरी दुताबास मार्फत कानुनी रुपमा समाधान गर्न समेत आग्रह गर्नुभएको छ ।

नेपाली कामदारले हड्ताल गर्न थालेपछि कामदार ल्याउन पनि मलेशियाले कडाई गरेको छ । बिगतमा स्वास्थ्य परीक्षणमा पास भएपछि मलेशिया सजिलै आउन पाइन्थ्यो । तर अब अनिबार्य रुपमा अन्तर्वाता दिनुपर्नेछ । बिगतमा केही कम्पनीले मात्र अन्तर्वाता लिने गरेपनि अहिले सबै कम्पनीले कामदारको अन्तर्वाता लिन थालेको सचिव श्रेष्ठले बताउनुभयो ।

न्युनतम पारिश्रमिक बढाउन नेपाली कामदारले पटक पटक हड्ताल गर्दा मलेशियाको रोजगार क्षेत्रमा प्रभाब पार्न थालेकाले सरकारले बेलैमा सोच्नुपर्ने ब्यवसायीहरुको भनाई छ । सघंका द्धितीय उपाध्यक्ष कुमुद खनाल भन्नुहुन्छ ‘मलेशियामा नेपालीले कामै छाडेर बन्द, हड्ताल र हुलदंगा मच्चाउन थालेकाले नेपाली कामदारप्रति बिश्वास घट्दै गएको छ ।’

तर यसमा मेनपावर कम्पनीहरु नै जिम्मेवार बन्नुपर्ने कार्यबाहक राजदुत लेखनाथ भट्टराई बताउनुहुन्छ । मेनपावरहरुले कामदारलाई मलेशियामा गर्नुपर्ने र गर्न नहुने नियमका बारेमा जानकारी गराए राम्रो हुने उहाँको भनाई छ ।(उज्यालो अनलाइनबाट )