ई–क्यान नेतृत्वका लागि वर्तमान दुई उपाध्यक्ष मैदानमा

796 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


ecanकाठमाडौं,-नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) को चुनावी सम्मेलन आगामी शनिबार हुँदै छ । नयाँ नेतृत्वका लागि वर्तमान दुई उपाध्यक्ष मैदानमा उत्रिने भएका छन् । वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष प्रकाश पाण्डे र तृतीय उपाध्यक्ष सरोजकुमार बस्नेतले टिमसहित नेतृत्वको दाबी गर्न लागेका हुन् ।

अध्यक्षका दुवै प्रत्यासीले आफू व्यवसायलाई व्यवस्थित गर्नका लागि लाग्ने बताएका छन् । राम्रो समूहको नेतृत्व र अनुभवलाई अध्यक्षका प्रत्यासीले आफ्नो दाबीको कारण बताएका छन् ।

प्रथम उपाध्यक्षसमेत रहेका अध्यक्षका प्रत्यासी प्रकाश पाण्डे आफूलाई ई–क्यानभित्र नयाँ र पुरानो दुवै समूहले विश्वास गर्ने दाबी गर्छन् । आफू लामो समयदेखि ई–क्यानमा विभिन्न जिम्मेवारीमा रहेको उनले बताएका छन् । कार्यसमितिका सदस्य हुँदै उनी सचिव, महासचिव र उपाध्यक्ष बनेका थिए । व्यवसायलाई व्यवस्थित बनाउन आफू लाग्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘अहिले शिक्षा मन्त्रालयले लागू गरेको निर्देशिका व्यसायमैत्री छैन त्यसलाई मैत्री बनाउन लाग्नेछु ।’ निर्देशिका कार्यन्वयनमा रहेको समस्या हल गर्ने उनी बताउँछन् ।

यसअघि नै पाण्डेले आफ्नो टिम सार्वजनिक गरिसकेका छन् । आफ्नो टिमम दक्ष र व्यावसायिक व्यक्तिहरू रहेको उनको दाबी छ । उनले भने, ‘पदाधिकारीमा एकदेखि तिन कार्यकालसम्म कमिटीमा बसेका र सदस्यमा पनि भविष्यमा नेतृत्व लिन सक्नेहरू छन् ।’ ई–क्यान र यसमा आबद्ध व्यवसायीका पक्षमा पाण्डेले विभिन्न किसिमका योजना भएको बताएका छन् । कूटनीतिक नियोगसँग समन्वयसँगै विभिन्न तालिम र गोष्ठीको योजना उनी सुनाउँछन् । राम्रो गर्नेलाई प्रोत्साहन र व्यसायलाई प्रवद्र्धन गर्ने उनको दाबी छ ।

अध्यक्षका अर्का प्रत्यासी सरोजकुमार बस्नेतले व्यवसायीले भोग्दै आएको कानुनी समस्या समाधान आफ्नो पहिलो काम हुने दाबी गरेका छन् । उनले भने,

‘अहिलेसम्म यो व्यवसायलाई कुन कानुनअन्तर्गत चलेकोसम्म थाहा छैन ।’ आफूले शैक्षिक परामर्श ऐन ल्याउन पहल गर्ने उनले बताए । व्यवसायीको लगानी सुरक्षित गर्ने वातावरण निर्माण गर्ने उनको दाबी छ । यस क्षेत्रमा कार्यरत व्यवसायीलाई तालिम, सम्मेलन र गोष्ठी गराउने उनी बताउँछन् । शैक्षिक परामर्श ठूलो व्यवसाय भएकाले त्यसलाई व्यवस्थित गर्न आफूले काम गर्ने उनको दाबी छ ।

प्राविधिक दक्षतासमेत भएका व्यक्तिहरू टिममा भएको उनको दाबी छ । काठमाडौं र काठमाडौंबाहिरका सहरमा रहेर काम गरिरहेका सक्रिय व्यक्ति उनको टिममा छन् । उनले भने, ‘दक्ष र समावेशी खालको टिम भएकाले जित्ने विश्वास छ ।’

पाण्डे टिममा उपाध्यक्षहरूमा विष्णुहरि पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराई रहेका छन् । सन्तोष प्याकुरेल महासचिवमा पाण्डेको समूहबाट उम्मेदवारी दिने भएका छन् । श्रीराम पौडेल र देवीदास भट्टराई सचिवका उम्मेदवार रहेका छन् । खड्ग चाम्लिङ लिम्बू कोषाध्यक्ष र रमेश वाग्ले सह–कोषाध्यक्षका उम्मेदवारी दिँदै छन् । पाण्डेको समूहमा सदस्यमा गोविन्द अधिकारी, दीपकराज भुसाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ, प्रदीप मण्डल, प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, विदुरकुमार अर्याल र यज्ञविलास पौडेल छन् ।

बस्नेतका टिममा उपाध्यक्षका उम्मेदवारमहेश बाबु तिमल्सिना र राजेन्द्र रिजाल रहेका छन् । महेश भण्डारी महासचिवका रूपमा उम्मेदवारी दिँदै छन् । सचिवमा रजनी श्रेष्ठ र उमेश ढुङ्गेलको दाबी छ । कोषाध्यक्षमा भरत रेग्मी र सह–कोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दिँदै छन् । टिमबाट सदस्यका उम्मेदवारी विक्रम के.सी, रमेशकुमार थापा, कमला बस्नेत, रीता तण्डुकार, भरत ढकाल, सूर्यबहादुर डाँगी, रमेश जोशी, प्रशान्त शाह र दयाराम थापा छन् ।

आगामी शनिबार राजधानीमा हुने चुनाबी सम्मेलन एकै दिनमा सकिने आयोजकको दाबी छ । दुई सय ८२ जना सदस्य निर्वाचनमा सहभागी हुँदै छन् ।