मजदुरका छोरा छोरी पढ्ने विद्यालय धादिङकै उत्कृष्ट

718 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ, जेठ २९ (धादिङन्युज ) धादिङको थांक्रे गाविस वडा नम्बर ३ महादेवबेँसीमा रहेको जनजागृति माध्यमिक विद्यालयले यस वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने क्रममा ८४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । मजदुर वालवालिकालाई अनौपचारिक शिक्षा दिनका लागि २०५७ सालमा बिद्यालयको स्थापना गरिएको थियो । यस बर्षको परीक्षामा बिद्यालयवाट मकवानपुर जिल्लाको आग्राबाट थाक्रेमा बसाई सवारी चालकको रुपमा काम गर्ने जितवहादुर गोलेका छोरा विजय गोलेले ७९ दशमलव ७४ प्रतिशत अंक प्राप्त गरेको बिद्यालयले जनाएको छ । विद्यालयबाट यस वर्ष ७४ जना नियमित तर्फका विद्यार्थीहरु मध्ये २८ जना प्रथम श्रेणी र ३२ जना दोश्रो श्रेणीमा उतिर्ण भएका छन् । त्यस्तै विभिन्न कारणले आफ्नो पढ्ने चाहनालाइृ विचमै अधुरो बनाई वसेका गृहिणी, तथा अभिभावक भैसकेका लागि विद्यालयले सञ्चालन गरेको खुला विद्यालयबाट १३ जना सहभागी मध्ये ५ जना सहभागी उत्तीर्ण भएको शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो । विद्यालयले हासिल गरेको सफलताबाट भौतिक, व्यवस्थापन तथा शैक्षिक गुणस्तर तर्फ जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित हुदै गइरहेको शिक्षक रुपाखेतीको दावी छ । बिद्यालयमा ९ जना राहतमा र एक जनामात्र स्थायी दरवन्दीमा शिक्षक कार्यरत रहेका छन भने निजी श्रोतवाट २७ जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेको बिद्यालयले जनाएको छ । महादेवबेँसी र आग्रा खोलामा कामगरिरहेका मजदुर परिवारका वालवालिकाहरु समेत गरी एक हजार भन्दाधेरै विद्यार्थीहरु बिद्यालयमा अध्ययनरता छन् । शिक्षक दरबन्दीमा सरकारी सहयोग नपाएपनि हरेक बर्ष उत्कृष्ठ नतिजा ल्याउन सफल भएको विद्यालयले अंग्रेजी माध्यममा पढाई शुरु गरेपछि आसपासका निजी विद्यालयहरु समेत संकटमा परेको अभिभावकहरुको भनाई छ । देशभर एसएलसी परीक्षाको नतिजा खस्किएको अवस्थामा जनजागृत्ती विद्यालयको नतिजा आशालाग्दो र अनुशरणीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण वहादुर कार्कीले बताउनुभयो ।

सुनौलाभैरबी माबिबाट शत प्रतिशत उत्तीर्ण

धादिङ जिल्लाका सामुदायिक बिद्यालयहरुवाट सुनौलावजार गविसमा रहेको सुनौलाभैरबी माध्यमिक बिद्यालयले शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराएको छ । बद्यालयका १४ जनाले परीक्षा दिएकोमा चार जना बिशिष्ट श्रेणीमा, नौ जना प्रथम श्रेणीमा र एक जना द्धितिय श्रेणीमा उत्तीर्ण भएको बिद्यालयले जनाएको छ । निजी तर्फका चौध वटा बिद्यालयले शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराएका छन भने सामुदायिक तर्फ मनरुपी मावि साङकोषका ३३ मा ३१ जना, कालिका मावि ढोलाका २९ मा २७ जना, जनजागृत्ति मावि महादेवबँेसीका ७४ मध्ये ६२ जना उत्तीर्ण भएका छन । सामुदायिक बिद्यालयहरुमा नीलकण्ठ उच्च माविबाट ६ जना बिशिष्ठ श्रेणीमा उत्तीर्ण भएका छन । यसैगरी नीलकण्ठ उच्च माविबाट परीक्षा दिएका खुल्ला तर्फका ३२ मध्ये दुई जना,ज नजागृत्ति मावि महादेवबेँसीका खुल्ला १५ मध्येका ५ जना उत्तीर्ण भएका छन । जिल्लाको कुनै पनि बिद्यालय निल नभएपनि धेरै बिद्यालयको स्थिती भने विगतको वर्षभन्दा खस्कन पुगेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।