मुलकुभर पाँच सय पुल बन्दै

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bridge_nepal_567487870काठमाडौं: मुलुकमा यति बेला पाँच सय मोटरेबल पुल निर्माणाधीन छन्। तीमध्ये केही यसै आर्थिक वर्षमा सुरु भएका हुन् भने केही पाँच वर्षअघिदेखि अपूर्ण छन्। यी पुल निर्माण भएपछि मुलुकभर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले हालसम्म बनाएका पुलको संख्या दुई हजार एक सय हुनेछ।
विभागको योजना तथा डिजाइन महाशाखाका प्रमुख दयाकान्त झाले मुलुकभर पाँच सय पुल निर्माण भइरहेको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘तीमध्ये चालू आर्थिक वर्षको अन्त्यसम्ममा एक सय २५ वटा सम्पन्न गर्ने विभागको लक्ष्य छ।’ उनले भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण डिजेल र पेट्रोल नपाउँदा काममा बाधा आएको बताए अन्नपूर्णपोष्ट डट कममा खबर छ ।
उनका अनुसार इन्धन अभाव भएपछि ढुंगा, गिटी, बालुवा उपलब्ध हुन सकेन र अहिले पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। उनले दोस्रो चौमासिकभित्र ४५ वटा पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि २४ वटामात्र निर्माण सम्पन्न गरेको जानकारी दिए। उनले भने, ‘नाकाबन्दीले मात्र होइन, चितवन राष्ट्रिय निकुञ्जमा पर्ने चारवटा पुलमा काम गर्न पाएका छैनौं।’
पाँच वर्षअघि थालेका पुल पनि अझै बनिनसकेको झाको भनाइ छ। उनका अनुसार यी पाँच सय पुलले विभागअन्तर्गत बनेका रणनीतिक र स्थानीय सडक जोड्ने काम गर्नेछन्।
झाले अबको बाँकी समय अर्थात् जेठ मसान्तभित्र लक्ष्यअनुसारकै एक सय २५ वटा पुल निर्माण कार्य सम्पन्न हुने दाबी गरे । विभागले बर्सेनि बनाउने पुलका साथै तेह्रौं त्रिवर्षीय योजना (२०७०÷७१ देखि २०७२÷७३ सम्म) बनाएर पनि काम गरिरहेको छ।
निर्माणाधीन पाँच सय पुलले सडक विभागअन्तर्गत बनेका रणनीतिक र स्थानीय सडक जोड्ने काम गर्नेछन्।
सअनुसार पहिलो वर्ष एक सय ४५ वटा पुल निर्माण गरिएको छ भने दोस्रो अर्थात् चालू आर्थिक वर्षमा एक सय २५ वटा बनाउने लक्ष्य राखे पनि आठ महिनासम्ममा २४ वटा मात्र पुल बनेका छन्। अन्तिम वर्ष (आगामी आर्थिक वर्ष) एक सय ६९ वटा पुल बनाउने सडक विभागको योजना छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) मार्फत ग्रामीण तथा स्थानीय (जिल्ला तहमा) मा गरी मुलुकभर सयौं पुल निर्माण गरिरहेको छ।स्थानीय विकास मन्त्रालयको विभागमार्फत हालसम्म मुलुकभर करिब ५३ हजार किलोमिटर सडक बनिसकेको छ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागबाट हालसम्म मुलुकभर २७ हजार नौ सय ९० किलोमिटर सडक बनिसकेको छ । सडकसँगै बन्ने पुलका लागि सडक विभागले ठेक्का ‘लो बिडिङ’ मा गर्ने परम्परा छ।
‘लो बिडिङमा ठेक्का पाउन ठेकेदारले कम लागत बोलिदिन्छन् तर पछि काम गर्दा समस्या हुन्छ र समयमा काम नहुने गरेको छ’, विभागको योजना, अनुगमन तथा मूल्यांकन शाखाका इन्जिनियर नारायणप्रसाद लामिछानेले भने, ‘हलेसी जाने बाटोमा पर्ने जयराम घाटको पुल र प्युठानको एउटा पुल झन्डै पाँच वर्षदेखि बन्न सकेको छैन। कतै जग्गासम्बन्धी विवादले पुल अधुरै छन् भने कतै बहुवर्षीय योजना भएकाले लम्बिरहेको छ।’
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत हुलाकी राजमार्गमा तीनवटा पुल बनिसकेका छन् भने १८ वटा निर्माणाधीन छन् । मध्य पहाडी लोकमार्गमा दुईवटा पुल निर्माण सम्पन्न भए भने १४ वटा निर्माणाधीन छन्।