म त रात बिनाको जुन भएँ…-युवा गायक श्याम शितल

1148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

image

निलकन्ठ-४, धादिङमा जन्मिएका श्याम शितल पछिल्लो समयमा चर्चामा आउन सफल जोशिला आधुनिक युबा गायक हुन । लोक दोहोरीका ५ र आधुनिक गीतका २ वटा गरी जम्मा ७ वटा गिती अल्बम नेपाली दर्शक श्रोता माझ पस्किसकेका श्याम आफुलाई आधुनिक गायक भन्न रुचाउछन । “तिमीलाई सम्झिएर कती रात काटिसके…., म त रात बिनाको जुन भएँ…., तिम्ले मलाई माया गर्दा….” जस्ता गीत हरु सुगम संगीत मन पराउने युबा पुस्ता माझ अत्यन्तै लोकप्रिय बन्यो ।

प्रस्तुत छ हाल परिवार सहित जापान रहेका उनै चर्चित युवा गायक श्याम शितलसँग बुद्धिमान वाइबाले गरेको कुराकानी

श्यामजी, धादिङ्न्युज डट कममा स्वागत छ।

-धन्यवाद

कस्तो छ जापान बसाइ?

-ठिकै, आफ्नो देश जस्तो छैन । चाड पर्ब आउँदा नेपाली साथी-भाईसँगको रमझम अरुबेला काम त्यस्तै चल्दैछ ।

देशको याद आउँछ है?

-धेरै आउँछ, जती सम्पन्नशाली भए पनि आफ्नो आमा जस्तो अर्काको आमा हुँदैन । लगभग २ वर्ष भो, समयले साथ दियो भने दशैसम्ममा फर्किन्छु।

अब एकछिन गीत संगीतको कुर गरौंन । संगीत क्षेत्रमा कसरी लाग्नु भो ?

-भनिन्छ नि जे लेखेको हुन्छ त्यहि हुन्छ सायद मलाइ पनि त्यहि भयो, सानै उमेर देखि गीत संगितमा रुचि थियो, एक्लै गुनगुनाउने र स्कुलको प्रोग्रामहरुमा गाउन थालें । गुरुहरु र साथिभाइहरुले मेरो स्वरको तारिफ गर्न थालेपछि ममा उर्जा थपियो । सबैको हौसलाले साच्चिकै ममा गीत गाउने चाहना बढ्न थाल्यो, रहरै रहरमा अब चाहि यहि क्षेत्रमा केहि गर्छु भन्ने अ ठोटका साथ अघि बढें अनि आफ्नो सपना पुरा गर्न काठमाण्डौं हान्निएँ र यहाँ सम्म आइपुगें।

स्कुले जीवनमा त्यसरी गीतहरु गाउँदै हिड्दाको कुनै अविस्मरणिय क्षण याद छ ?

-छन्, धादिङ स्काउटको पिक्निकमा मैले पहिलो चोटी सबैको अगाडी गीत गाउँदा असाध्यै डर लागेको थियो । मेरो अनुहार रातो भएको थियो । सबैले वान्स मोर वान्स मोर भने पछी त झन लाजले भुतुक्कै भएको थिएँ ।

यो अवस्थासम्म आइपुग्दाका केही संघर्षका कथा सुनाइ दिनुस्न, सहज असहज कस्ता थिए ती दिनहरु ?

-भनिन्छ नि परिश्रमको फल मिठो हुन्छ शायद कुनै पनि यात्रा सहज त पक्कै हुँदैन । यो साङ्गितिक यात्रा पनि त्यती नै कठिन छ, म गायक बन्छु भनेर २०५९ सालको एस.एल.सी सकेर काठमाडौं आएको, आए पछी संगितलाई नै प्राथमिकतामा राखेर ललितकलामा भर्ना भएँ। २ बर्ष त्यहीं पढें तर पढ्न भन्दा गीत गाउँने धुन मात्रै हुन्थ्यो। सबैले तैले राम्रो गाउछस भनेर हौस्याउथे, मलाई झन जोस बढेर आउथ्यो, त्यस्पछी एल्बम निकाल्ने जोश बढेर आयो। त्यती बेला दोहोरी गीतहरु अती नै चल्थ्यो, थोरै पैसामै तयार हुने तर कमाइ राम्रो हुने भएकोले मलाई पनि दोहोरी गीत गाउन मन लाग्यो । तर म आधुनिक गीत गाउँने मान्छे अली गाह्रो भयो तैपनी गाएँ र “जीवन छोटो छ….” भन्ने एल्बम साधुराम घोरासैनीसँग मिलेर निकालेँ। गीत रेकर्ड गर्दा गर्दै स्टुडियोबाटै रन्जना क्यासेट सेन्टरले किनिदियो। त्यसपछी त मनमा झनै हौसला बढ्यो, त्यही पैसाले फेरी अर्को एल्बम “धादिङ बुङ्चुङ बैरेनी…” निकालें। एल्बम ठिकै चल्यो तर धादिङबासीहरुको बिचमा म चिनिएँ। एल्बम नचले पछी मलाई लाग्यो ममा अझै संगीतिक ज्ञानको कमी छ। imageयही सोच लिएर डोरेमी संगीत पाठशालामा भानुभक्त ढकालसँग प्रशिक्षण लिएँ। र २०६२ सालमा “नफुल्दै झर्‍यो बेली जाइ” धौलागिरी क्यासेट सेन्टरबाट निकालेँ। यो एल्बम ठिकै चल्यो तर बिक्री धेरै भयो, त्यसपछी “नरोउ भन्नेले” निकालेँ, जुन गीत मेरो संगीतिक यात्राको कोशे ढुङ्गा बन्यो। त्यसपछी भने म मेरै मूलधारमा फर्किएँ अर्थात आधुनिक संगीत तर्फ लागें। पहिलो आधुनिक एल्बम सन्देशमा समाबेश “तिमीलाई सम्झिएर…”, “माया पनि धनसँग…” निकै चल्यो। र पछील्लो पटक निकालेको “शितल” एल्बममा रहेको “तिम्ले मलाई माया गर्दा…” निकै लोकप्रिय बन्यो। सबैको जिब्रोमा झुन्डिएको देख्दा मन अती खुशी हुन्छ।

 हालसम्म कतीवटा एल्बम निकालिसक्नु भयो ?

-लोक दोहोरी ५ र आधुनिक २ गरी जम्मा सातवटा ल्याइसकेको छु। अब चाँडै नै नेपाल गएर अर्को एल्बम पनि निकाल्ने योजनमा छु।

के फरक हुदोरैछ आधुनिक गीत र दोहोरी गीतमा ? कुन गाउँन सजिलो हो?

-उस्तै नै हो, आफ्नो कला र गलामा भर पर्छ कुन कस्तो भनेर चै , तर दोहोरीको मेलोडी थोरै र सम्झन सजिलो पनि हुनाले दोहोरी गाउँन अली सजिलो र आधुनिक गीतमा चै अली बढी नै मेहनत गर्नु पर्ने हुन्छ। तर म सबै खाले गीत गाउँन मन पराउछु।

संगीतिक यात्रामा कहाँ कहाँ पुग्नु भो?

-सुगम काठमाडौं देखी दुर्गम डोल्पासम्म गरेर नेपालको २५ जिल्ला घुमेको छु। बैदेशिक कार्यक्रमको अवसर मिले पनि दुर्भाग्यबश मेरो पासपोर्ट बन्न ढिला भएकोले जान पाइएन तर अहिले जापानको प्राय कार्यक्रम छुटेको छैन ।

बिभिन्न स्थानमा कार्यक्रमहरुमा जादाँ दर्शक श्रोताले श्याम शितललाई लोक गायकको रुपमा बढी माया गर्नुभयो कि

आधुनिक गायकको रुपमा? अनुभव कस्तो थियो त्यो बेलाको?

-सबै खालको श्रोता दर्शक हुनुहुन्छ, चर्चाको हिसाबले मेरो आधुनिक गीतका दर्शक श्रोता धेरै हुनुहुन्छ र म जुन प्रोग्राममा पनि पहिला आधुनिक गीत गाउँछु र नचाउनका लागि दोहोरी लाईभ गाउँने महिला साथी भएको ठाउँमा लाईभ दोहोरी गाउँछु। लाईभ दोहोरीमा धेरै दर्शकले मज्जा लिएको पाएको छु । मलाई धेरै मन पर्छ ।

image

अब कुनै दिन गायक श्याम शितलको लोक दोहोरी एल्बम चाँही आउछ कि आउँदैन त?

-आउछ, एउटा दोहोरी एल्बमको भिडियो पनि तयार भइसकेको छ । म नेपाल हुँदा नै तयार भयको हो तर बिशेष कारणले केही ढिला भयको हो अब छिट्टै आउछ जुन गीतमा देवी घरती र मैले आवाज दिएका छौं।

तपाईं त आफ्नो गीतको म्युजिक भिडियो मा आँफै अभिनय गर्नु हुन्छ है? फिल्म खेल्न मन लाग्दैन ?

-नाइ, अहिले नै त्यस्तो सोच छैन, म अभिनयमा पोख्त पनि छैन, कहिले कही यसो रहर पुरा गरेको मात्र हो। अहिलेलाई म गायक नै बन्न चाहन्छु। नायक त पछीको कुरा। हेरौ समयले कहाँ पुर्‍याउँछ ।

श्याम शितलले यती धेरै मिठा-मिठा गीत र यती धेरै एल्बम पस्केर पनि त्यती चर्चामा नआउनुको कारण के हो?

-सायद जती प्रचार प्रसार गर्नु पर्थ्यो त्यसबाट म चुके / जहाँसम्म जती स्रोतले सुन्नु भएको छ उहाँहरुले धेरै मनपराइदिनु भएको छ, म त्यसैमा खुशी छु YouTubeमा एउटै गीत २८ लाख पटक हेरिदिनु भएको छ। मेरो सृजनालाई मन पराइदिनुभएको छ । आउँदा दिनहरुमा यस बारेमा ध्यान दिनेछु।

चर्चाको सिढी उक्लिदै गर्दा जापान छिर्नु भो, बिर्सेंलान नि श्रोता दर्शकले ?

-सही हो। सायद मैले धेरै समय बिदेशमा बिताएँ भने पक्कै बिर्सनुहुन्छ तर म जहाँ रहे पनि नेपाली गीत संगीतबाट टाढा हुदिन। अब छिट्टै दोहोरी गीत पस्कन्छु र अर्को अधुनिक एल्बमको पनि गीत रेकर्डिङको क्रममा छ , नेपाल जाने बित्तिकै सबै काम सकाएर बजारमा ल्याउने छु । मलाई विश्वास फेरी उस्तै माया पाउनेछु ।

अब केही सर्टकट

मन पर्ने आधुनिक गायकनारायण गोपाल

गायिका -तारा देवी

जीवन के हो?संघर्ष

प्रेम ?विश्वास

सेक्स ? -आवश्यकता

विवाह नि ? -सम्झौता

अन्त्यमा धादिङ न्युज डट कम मार्फत दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ ?

-ढिलै भए पनि मेरा सम्पूर्ण दर्शक श्रोताहरुलाई नयाँ सालको अवसरमा शुभकामना । सबैको उन्नती होओस । म सधैं तपाईंहरुकै हुँ, सधैं हजुरहरुकै रहनेछु । तपाईंहरुको साथ र सहयोगको सधैं अपेक्षा गर्नेछु , आउँदा दिनहरुमा अझै राम्रा सृजनाहरु बजारमा ल्याउने छु । आफ्नै बाध्यताले केही समय बिदेसिए पनि नेपाली सांगितिक क्षेत्रलाई निरन्तरता दिने बाचा गर्दै आज यो अबसर दिनु भएकोमा धादिङ न्युज डट कमलाई धन्यवाद ।।