एकको मृत्यु ५१ अस्पताल भर्ना, ‘फुड पोइजन’को महामारी फैलिएको अनुमान

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13096149_10205712309675844_1498769254842553412_nमंगलवारको एक सामुहिक भोज खाएका नुवाकोटको काहुले गाउँ विकास समितिका नागरिकहरुमा महामारी सुरु भएको छ । एक जनाको मृत्यु भइसकेको छ भने ५२ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रम पनि जारी रहेको छ ।

मंगलवार काहुले वडा नं. ८ मा जन्मदिनको भोज खाएका सोही गाविसको वडा नं. ८ र ६ का नागरिकहरु हिजोदेखि विरामी पर्न थालेका हुन् । हिजो दिउँसोभरी गाउँमै जडिबुटी प्रयोग गरेर गाउँलेहरु बसेकोमा प्रत्येक घरमा रोग फैलन थालेपछि गएरातीबाट विरामीलाई सदरमुकाम ल्याउन थालिएको छ ।
अहिले जिल्ला अस्पताल त्रिशुलीमा ४१ जनाको उपचार भइरहेको छ भने विदुर स्थित सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार उपचारका लागि ल्याइएको बाहुले गाउँ विकास समिति वडा नं. ८ का ३८ वर्षिया मेघबहादुर तामाङको बाटोमा नै मृत्यु भएको छ । दुवै अस्पतालमा गरी उपचार भइरहेको ५१ जना मध्ये २० जना सिकिस्त रहेको जनाइएको छ ।

हिजो बिहान वडा नं. ८ र ६ का नागरिकहरुमा देखिएको रोगको महामारी अन्य वडामा पनि फैलन थालेको छ । अहिले सम्ममा काहुलेको १, २ र ७ नम्वर वडाका नागरिकहरुमा समेत उक्त रोग देखा परेको छ । सुरुमा भोजमा सहभागि भएकाहरुमा मात्रै देखिएको रोग अहिले भोजमा नगएका गाउँलेहरुमा पनि देखापर्न थालेको स्थानीय छत्र लामाले बताउनुभएको छ । उहाँका अनुसार भोजमा सरिक नभएका स्थानीयहरुमा पनि वान्ता हुने, पाखाला लाग्ने, जोर्नी र नशा दुख्ने समस्या देखिएको छ ।

काहुले वडा नं. ८ कै धनसिंग तामाङ गाउँबाट अहिले पनि बिरामीहरु ल्याउने क्रम जारी रहेको र गाउँबाट २० जना भन्दा बढीलाई केहीबेर अघि उपचारका लागि सदरमुकाम ल्याउन लागेको बताउनुहुन्छ । आसपासका गाउँलेहरु पनि त्रसित हुँदै स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य केन्द्रमा जान थालेका छन् ।

मंगलवार समुहिक रुपमा भोज खाएर घर घर गएका वडा नं. ८ र ६ का नागरिकहरु हिजो विहानबाट विरामी पर्न थालेका थिए । हिजो दिउँसभरी नै गाउँमै सामान्य उपचारमा बसेका विरामीहरुलाई गएराती १० बजेमात्रै अस्पताल ल्याइएको थियो । जिल्ला अस्पताल त्रिशुलीको ईमर्जेञ्सी ईञ्चार्ज भुवनराज केसीका अनुसार विरामीलाई सुरुमा टाउको दुख्ने, रिङ्गटा लाग्ने झाडावान्ता हुने गरेको छ । उहाँका अनुसार सबै विरामीमा एउटै रोगको लक्षण देखिएको र उक्त समस्या विषादीयुक्त खानाका कारण सुरु भएको हो ।

काहुले वडा नं. ८ का सुर्यबहादुर तामाङ भने आफुहरु पानीको कारण विरामी परेको अनुमान गर्नुहुन्छ । वडा नं. ८ र ६ ले प्रयोग गर्ने पानीको मुहान एउटै रहेको र भुकम्प पछि गाउँमा पानीको मुहान सुकेकोले खोलाको पानी प्रयोग गर्दै आएको बताउनुहुन्छ । आफ्नो दुई सन्तान र श्रीमती सहित त्रिशुली अस्पतालमा उपचार गराइरहनुभएका तामाङ पानीको कारण गाउँमा महामारी फैलिएकोले अन्य स्थानीय पनि विरामी पर्ने अनुमान गर्दै उनीहरुको सुरक्षाका लागि यथासिघ्र प्रयास गरिनु जरुरी रहेको बताउनुहुन्छ ।

-पत्रकार कपिलदेव खनालको फेसबुकबाट साभार