आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंशी

2074 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी । आमासितै भएका र भेट्न जान सजिलो भएकाहरुले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गरे । आमालाई भेट्न जान नसकेकाहरुले फोन गरे । आमा नभएकाहरु मातातीर्थसम्म पुगेर आमालाई सम्झे ।

download (2)यो भन्दा बढी सम्झना र भावना देख्न पाइन्छ, सामाजिक सञ्जालमा । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ता बढेसागै आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रुपमा देख्न पाइन्छ ।

नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उहाँले भन्नुभयो । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
आमा हुनेहरुले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरुलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।बिहानै उठेर नुहाएर आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।
आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले राजधानीदेखि १० किलोमिटर दक्षिण–पश्चिममा रहेको मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा दान गर्ने परम्परा छ ।