आपतकालीन अवस्थामा समावेशी शिक्षा विषयक तालीम

940 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विपदको समयमा पनि वालवालिकाको शैक्षिक पहुँचलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर विगत ३ दिन सम्म आपतकालीन अवस्थामा समावेशी शिक्षा विषयक तालीम जिल्लाका मूलपानी र फूलखर्क गाविसका मुख्य सरोकारवालाहरुवीच सम्पन्न भएको छ ।
केएर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा संचालित हरियो वन कार्यक्रम अन्र्तगत संचालन भएको उक्त तालीममा फूलखर्क स्रोत केन्द्रका स्रोत व्यक्ति दुबै गाविसका गरी ७ विद्यालयको प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, वालक्लवका प्रतिनीधिहरु र संस्थाका कर्मचारीहरुको उपस्थितिमा विपद व्यवस्थापनकको महत्व संकटासन्न क्षमता लेखाजोखा, विद्यालय सुरक्षा शिक्षाका न्यूनतम मापदण्ड, वाल अधिकारका आयमहरुमाथि छलफल गर्दै प्रत्येक विद्यालयको सुरक्षित योजना निमार्णमा छलफल भएको थियो ।
सहभागी सातवटै विद्यालयहरुले विद्यालय सुधार योजनामा समावेश गर्न विपद जोखिम न्युनिकरणको खाका तयार गरेका छन् । तालिमका अवसरमा धादिङका जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्न सुझाव दिइन् । हरेक विद्यालयले विद्यालय सुधार योजना निमार्ण गर्नुपर्ने र सो योजनामा विपद व्यवस्थापन योजना पनि समावेश गर्नुपर्ने भन्दै यस तालिमले सो योजना निमार्णमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भनाई उनले व्यक्त गरिन् । सहभागी विद्यालयहरुले आफ्नो विद्यालयको विपद प्रतिकार्य योजना निमार्णको प्रतिवद्धत्तासंगै कार्ययोजना समेत तयार गरेका छन् ।
तालिमको सहजीकरण केएर नेपालका निरज काफ्ले, नविन ढुङ्गाना, सहयात्री समाज नेपालका रमेश अधिकारी र जिल्ला शिक्षा कार्यालय रामचन्द्र इटनीले गर्नु भएको थियो ।