शिक्षकको सम्मान : कहाँ, कहिले, कसरी ?

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1234laxman– लक्ष्मण शर्मा / गुरु अर्थात शिक्षक सर्वत्र पूजनीय हुन्छन् । सबै समाजले गुरुलाई आ-आफ्नै तरिकाले सम्मान गर्छ। त्यस्ता असल सामाजिक चलन संस्कार संस्कृतिलाई राज्यले पनि जोगाउने विकास गर्ने गर्दछ । तर शिक्षकहरुलाई राज्य, विद्यालय र जनस्तरबाट सम्मान गर्ने तरिका र दिन भने समाजै पिच्छे फरक फरक छन्। अनि स्वभाविक नै रुपमा कुनै घटना, दिवस वा व्यक्तित्वको सम्झनामा शिक्षकहरुको सम्मान गर्ने भन्ने पनि राष्ट्रहरु पिच्छे फरक फरक रहेछ ।

संसार भर नै शिक्षकहरुलाई घरबाट नै ल्याएका मिठाई, पुष्प गुच्छा, फलफूल, शुभकामना कार्ड, लूगा कपडा आदि उपहार दिएर विद्यार्थीले सम्मान गर्ने गरिन्छ। उक्त अवसर पारेर पूर्वी युरोपको केहि देशहरुमा विद्यालयमा गित संगित कार्यक्रमको आयोजना गर्ने चलन पनि देखिन्छ। भारत र इस्टोनियामा सिनियर विद्यार्थीले कक्षा शिक्षणमा सघाएर पनि शिक्षक दिवसमा सम्मान गर्ने चलन छ । कोरियामा शिक्षकहरुको सम्मानमा विद्यार्थीले गर्ने कार्यक्रमहरु भड्किलो र उपहारहरु खर्चिलो हुदै गएकोले सरकारले विद्यालय छुट्टी दिने निर्णय गरेको छ । यो निर्णयले उक्त दिवसको अवसर पारेर शिक्षकहरुलाई घुम्न जान प्रेरित गरेको छ ।

नेपाल र भारतमा विद्यालय र जनस्तरमा आषाढ महिनाको पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाइन्छ । यसैगरी धार्मिक वा सांस्कृतिक कारणले तोकिएको दिनमा शिक्षकहरुको सम्मान गर्ने परम्परा रहेको पाइन्छ। त्यसैगरी चिन र ताइवानमा ती देशको समाजमा गहिरो सांस्कृतिक प्रभाव पारेका दार्शनिक कन्फ्युसियसको जन्म दिन समेत पारेर शिक्षकहरुको सम्मान गर्ने गरिन्छ । तर पछिल्लो युगमा कतिपय सामाजिक राजनैतिक घटनाक्रमले ती दिवसहरुको संयोजन सहित परिवर्तन समेत गरिएका छन् । विगतमा कतिपय देशमा प्रभावशाली शासकहरुको जन्म दिन पारेर शिक्षक दिवस मनाउने चलन थियो। भुटान र ब्रुनाईमा यद्यपी त्यो चलन बाँकि रहेको छ।

शिक्षा विज्ञान र संस्कृति हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले १९६७ मा शिक्षक र शिक्षण पेशाको लागि अन्तर्राष्ट्रिय तहमा नै सेवा शर्त र सुविधा सम्बन्धि औपचारिक घोषणा गरेपछि कतिपय देशहरुमा सो मितिलाई नै आधार मानी ५ अक्टोबरमा शिक्षक दिवस मनाउन सुरु गरिएको छ । क्यानडा, अष्ट्रेलिया, जर्मनी लगायत विकसित युरोपियन राष्ट्र अरेवियन अधिराज्यहरुले यहि मितिलाई विश्व शिक्षक दिवस मानेर विविध कार्यक्रमहरु गर्ने गरेका छन् । अझ यही मितिलाई संसार भरका शिक्षक युनियनहरुको महासंघ, एजुकेशन ईण्टरनेसनलले समेत विश्व शिक्षक दिवसको रुपमा स्विकार गरेर मनाउन थाले पछि अहिले १०० वटा भन्दा बढी राष्ट्रहरुमा अक्टोबर ५ लाई शिक्षक र शिक्षण पेशा गर्नेहरुको चाडपर्वको रुपमा मनाइने गरिन्छ । विगतमा बिभिन्न मितिमा शिक्षक दिवस मनाउने कतिपय राष्ट्रहरुले समेत यहि मितिमा शिक्षक दिवस मनाउन समेत थालेका छन्।

आफ्नो देशमा सार्वजनिक शिक्षा नितिमा महत्वपूर्ण फड्को मारेको घटनाको सम्झनामा पनि शिक्षकहरुको सम्मान गर्ने चलन रहेको पनि छ । भारतका दोस्रो राष्ट्रपति डा. सर्वपिल्ले राधाकृष्णनको जन्मोत्सवको दिन पारेर ५ सेप्टेम्बरमा शिक्षकहरुको योगदानलाई महत्वका साथ सम्मान गरिन्छ । ब्राजिल, क्युबा, मेक्सिको, पनामा, पेरु, कोलम्बिया, इक्वेडर, टर्की, पोलैण्ड, थाइलैण्ड, फिलिपिन्स आदि देशहरुमा सार्वजनिक शिक्षाको लागि बनाइएको नीति र सोको लागि योगदान गर्नुहुने नेताहरुको सम्झनामा बिभिन्न मितिहरुमा शिक्षकहरुको सम्मान गरिन्छ। फिलिपिन्समा वर्षेनी राष्ट्रिय शिक्षक दिवस (सेप्टेम्बर ५) देखि विश्व शिक्षक दिवस (अक्टोबर ५) सम्म नै शिक्षकहरुको सम्मान गरिन्छ ।

संयुक्त राज्य अमेरिकामा प्रान्तीय स्तरमा भिन्दा भिन्दै मितिमा शिक्षकहरुको सम्मान गरेता पनि अधिकांश अमेरिकी समाजमा चाहिं मे महिनाको पहिलो हप्तालाई शिक्षक प्रशंसा सप्ताहको रुपमा मनाइन्छ । त्यो हप्ताको पनि मंगलबार शिक्षकहरुलाई विद्यार्थीद्वारा उपहार दिएर उनीहरुको योगदानको लागि सम्मान गरिन्छ।

नेपालमा नेपाली शिक्षकहरुको हक हित र पेशागत मर्यादा अभिवृध्दी गर्नको लागि २०३६ साल देखि आन्दोलनरत नेपाल राष्ट्रिय शिक्षक संगठनको विधान स्विकृत भएको मिति चैत्र २९ गते लाई शिक्षक दिवसको रुपमा मनाउने गरिन्छ । यसै क्रममा गत महिना देशैभरि सोहि मितिमा ३७ औं शिक्षक दिवस भव्य रुपमा मनाइयो । सामान्यतया पेशागत र सांगठनिक जीवनमा विशेष योगदान गर्नु हुने अगूवा शिक्षकहरुको सम्मान गरिने सो कार्यक्रममा केहि विविधताहरुको पनि विकास भएका छन् ।

यो वर्ष पनि सम्मान बाहेक शैक्षिक भ्रमण, सेमिनार, कार्यशाला, रेडियो-टेलिभिजन परिसम्वाद, सदर मुकामको सरसफाई, पुस्तकालय स्थापना, रक्तदान, अस्पताल र वृध्दाश्रममा फलफूल वितरण आदि गरिएको समाचार आएका छन् । तर यो दिवसमा शिक्षकलाई विद्यार्थी र अभिभावकहरुबाट सम्मान गर्ने अवसरको रुपमा विकास गर्न सकिएको छैन । काठमाण्डौ उपत्यका र विभिन्न जिल्ला सदरमुकामहरुमा अक्टोबर ५ मा विश्व शिक्षक दिवस पनि मनाउन थालिएको छ ।

यसरी गुरुहरुको सम्मान गर्ने सांस्कृतिक वैभव, नेपालको शैक्षिक तथा सामाजिक परिवर्तनको लागि शिक्षक समुदायले गरेको योगदानको सम्मान र अन्तर्राष्ट्रिय समझदारीको विस्तार गर्नु पर्ने मामिला समेतलाई ध्यानमा राखी नेपालले पनि राष्ट्रिय शिक्षक सम्मान दिवस निर्णय गर्नुपर्छ ।

राज्यले शिक्षकलाई वा युनियनहरुले आफ्ना सदस्य शिक्षकलाई मात्र नभै समाज र शिक्षकलाई समेत जोड्ने गरी राष्ट्रिय शिक्षक दिवस निर्धारण गरी शिक्षकहरुको योगदानलाई कदर गर्ने परिपाटि विकास गर्न अब ढिलो गर्नु पर्ने कारण देखिन्न ।

नोट : मे ५–९ मा मनाईने शिक्षक प्रशंसा सप्ताहका सन्दर्भमा प्रकाशित

शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हुन् ।

-एडु खबर बाट